राम्रोसँग भात खान नजान्ने बच्चाले पनि फिल्म निर्देशन गरेका छन्, अनि कसरी चल्छ फिल्म !
प्रकाशित मिति : पुस २, २०७५ सोमबार
रमा थपलिया, धेरै नेपालीको घर घरमा टेलिभिजनको पर्दामार्फत पुग्ने कलाकार थिइन् । ‘हिजोआजका कुरा’ धारावाहिकबाट लोकप्रिय भएकी कलाकार थपलियाको कलायात्राले ३० वर्ष काटिसकेको छ । घरमा सहयोगी पतिको साथले कला क्षेत्रमा यति समर्पित भएर काम गर्न सकेको रमाको अनुभव छ । १३–१४ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी रमाले १६ वर्षको उमेरमा त जेठी छोरीलाई जन्म दिइसकेकी थिइन् । काठमाडौंमा एकजनाको मात्रै कमाइले टिक्न गाह्रो हुन्छ । स्वभा विक पनि हो, रमाको जीवनमा पनि त्यस्तै भयो । नर्सिङ कलेजमा ८ वर्ष काम गरिन् ।
त्यसपछि फिल्म क्षेत्रमा काम थालिन् । उनी भन्छिन्, ‘म अहिले जुन स्थानमा बसेर आत्मसम्मानपूर्वक बाँचिरहेकी छु, यसका लागि धेरै मेहनत गर्नु पर्छ । मेहनत गर्न नसक्नेहरुले दुई नम्बरी बाटो पनि रोज्छन् ।’ रमाले मेहनत गरिन् । पति टिचिङ अस्पतालमा काम गर्थे । डेप्युटी डाइरेक्टर भएर सेवा निवृत्त भए । तर रमा निवृत्त भएकी छैनन । उनलाई अहिले पनि कामको अफर आइ नै रहेको छ । कला क्षेत्रमा निरन्तर काम गरिरहेकी छन् । सरल लवजमा राम्रो फिनिसिङसहित डाइलग डेलिभरीमा दक्ष रमाको अभि नयबारे यसभन्दा थप केही भनिरहनु पर्दैन किनभने उनका दर्शकहरुले सधै प्रशंसा गरेका छन् ।
हिजोआजका कुराको गर्दै रमाले भनिन्, ‘दश वर्ष काम गर्यौं हिजोआजका कुरामा । त्यो बेला दर्शकहरुले धेरै रुचाउनु हुन्थ्यो । त्यो बेला प्रतिस्पर्धा धेरै थिएन । अहिले धेरै च्यानल खुले । फिल्म, टेलिफिल्ममा पनि नयाँ भाइबहिनीहरुले राम्रो गरिरहनु भएको छ ।’ नेपालमा फिल्महरु धेरै बनेका छन् । तर गुणस्तरमा ध्यान नपुगेको रमाको बुझाइ छ । उनले भनिन्, ‘अस्ति नै एक जना सात वर्षको बच्चाले फिल्म निर्देशन गरेको हामीले सुन्यौं । भात पनि राम्रो खान नजान्नेले के फिल्म निर्देशन गर्यो होला त ? यसरी हचुवाको भरमा सिनेमा बनाउँदा चल्दैन ।’






