मलेसियामा २० प्रतिशत तलव कट्टा गर्ने सरकारको प्रस्ताव
प्रकाशित मिति : पुस १, २०७५ आईतबार
मलेसियाको मानव संशाधन मन्त्रालयले यहाँ कार्यरत विदेशी श्रमिकको तलवको २० प्रतिशत रोजगारदाताले कटौति गर्न पाउने प्रस्ताव अगाडी सारेको छ । मलेसियाका मानव संशाधन मन्त्रीले विदेशी कामदार ल्याउँदा लाग्ने खर्च असुल्न रोजगारदाताले आधारभूत तलवको २० प्रतिशत कटौति गर्न पाउने प्रस्ताव गरेका हुन् ।
मलेसियाको अनलाइन द सनले सरकारी सञ्चार माध्यम बनर्माको समाचार छाप्दै कुलासेगरनले मलेसियाका रोजगारदाताले कामदार भाग्ने समस्या खेपिरहेको भन्दै तलव कटौतिले रोजगारदातालाई राहत पुग्ने तर्क गरेको लेखेको छ ।
मन्त्रालयको प्रस्ताव गत हप्ता नेशनल लेवर एडभाइजरी काउन्सील(एनएलएसी) मा प्रस्तुत भएको र छिट्टै नै यस बारेमा सरोकारवालाहरुसँग छलफल हुने मन्त्री कुलासेगरनले बताएका छन् । उनले यसलाई अन्तिम रुप दिनुुअघि सारोकारवालासँग छलफल गरिने बताए ।
यदि यो लागु भएमा रोजगारदाता र कामदार दुवैको जित हुने अवस्था सिर्जना हुने मन्त्री कुलासेगरनको तर्क छ । मन्त्री कुलासेगरन रवर ग्लोव उद्योगका ६० जना रोजगारदातासँगको छलफलपछि बोल्दै थिए ।
कुलासेगरले काटिएको तलव सोस्को(सोसल सेक्यूरिटी अर्गनाइजेशन) मा राखिने र करार अवधि सकेर स्वदेश फर्किने अवस्थामा कामदारलाई फिर्ता गरिने बताए ।
कुलासेगरनका अनुसार सो विषयमा रोजगारदातहरुसँग बैठकमा छलफल भएको र अधिकाँशले यसको स्वागत गरेका छन् । उनले यो प्रस्ताव मलेसियाको नयाँ नभएको र यस प्रकारको पद्धती दक्षिण कोरिया तथा जापानमा यसअघि नै प्रचलनमा रहेको प्रष्ट पारे ।
कानुन पालनामा निक्कै कमजोर मलेसियामा सरकारले प्रस्ताव गरेको यो विधि कार्यान्वयन हुनेमा शंका गर्ने ठाउँ प्रसस्त छ । रोजगारदाताबाट धेरै समस्या खेप्नुपर्ने मलेसियामा सुरुमा रोजगारीका लागि गएको कम्पनी छोडेर अन्यत्रै काम गर्न विदेशी श्रमिक बाध्य हुने गरेका छन् । यदि मलेसिया सरकारको पछिल्लो निर्णय कार्यान्वयन भएमा बाध्यकारी श्रमलाई बढावा दिनेछ ।






