सारंगीले बसायो बर्ताको संसार

प्रकाशित मिति : पुस ७, २०७३ बिहीबार

 

एकसरो इँटाले धानेको टिनको सानो छाप्रो । भित्र तीन कोठा । एउटा खाट, खाटमाथि यत्रतत्र छरिएका कपडा । छेउमा टिनको दराज । भुइँमा कार्पेटमाथि गलैँचा । त्यही गलैँचामा बसेका छन् सारंगीवादक बर्ता र उनका श्रीमान् विनोद गन्धर्व । उनीहरूको छेउमा छन् पाँचवटा सारंगी । तिनै सारंगीका धुनले ठड्याएको हो, कीर्तिपुरस्थित उनीहरूको छाप्रो ।

बर्ता र विनोद त्यहाँ सरेको ६ महिना भयो । झट्ट हेर्दा छाप्रो देखिए पनि बर्ताका लागि यो आलिसान महल हो । आफ्नो मिहिनेतले आर्जेको यो ‘महल’मा बर्ताका दुःख–सुख लुकेका छन् ।

बर्ता संसारमा सबैभन्दा बढी सारंगीलाई माया गर्छिन् । किनभने, सारंगीले गर्दा नै बर्ता बर्ता भएकी छिन् । उनले रेटेको सारंगीको धुनले कैयौँका आँखा रसाएका छन्, कति मन्त्रमुग्ध भएका छन् त कतिले सुखको अनुभूति गरेका छन् । नेपालका मात्र होइन, नर्वे, चीन, स्विडेन, थाइल्यान्डलगायत देशका मान्छे पनि उनको सारंगीको धुनमा डुबिसकेका छन् ।

आठ वर्षको उमेरदेखि सारंगीसँग प्रेम भएको रहेछ बर्ताको । बच्चामा बर्ता सारंगी देख्दा पनि तर्सेर छिमेकीको घरमा लुक्न पुग्थिन् । गलैँचामा बसेकी बर्तालाई सानो छँदाको सम्झनाले जन्मघर भोजपुरस्थित जरायोटार पाल्पाने पुर्‍याउँछ । उनको अनुहार एकाएक मलीन बन्छ, ‘आठ वर्षको उमेरबाटै मैले सारंगी रेट्न थालेकी हुँ । मेरी आमाले सारंगी समाउन बाध्य बनाउनुभयो ।’

गन्धर्व परिवारका भएकाले बर्ताका बुबा डम्बरबहादुरले सारंगी रेटेर आफ्नो परिवार पालेका थिए । उनका बुबा सारंगी बोकेर कहिले संखुवासभा खाँदबारी पुग्थे त, कहिले सिक्किम–दार्जलिङतिर एकमहिनै हराउँथे । अनि चार–पाँच हजार कमाएर घर फर्कन्थे । सिक्किम पुगेका बर्ताका बुबा एकपटक लामो समय घर फर्केनन् । बुबा हराएसँगै परिवारमा ठूलो संकट पर्‍यो । घरमा खाने खर्च भएन । त्यतिवेला बर्ता आठ वर्षकी थिइन् र उनकी आमा जम्मा २२ दिनकी सुत्केरी ।

bartaa

बाँच्नु त पर्‍यो । पति नहुँदा के गरून् त आमाले पनि ? थमाइदिइन् आठ वर्षीया बर्तालाई सारंगी । ‘हिँड्, अब तैँले सारंगी बजाउनुपर्छ,’ आमाले त्यतिवेला भनेको कुरा अहिले पनि याद छ बर्तालाई । ‘सारंगी बजाउन त कहाँ आउनु ? आमाले भनेपछि जानीनजानी रेट्न थालेँ ।’ पहिलोपटक सारंगी बोक्दा बर्ता साह्रै रोइछिन् । ‘भाग्न खोजेकी थिएँ । कहाँ  भाग्नु ? आमाले कर लगाएर हिँडाउनुभयो,’ उनले सम्झिइन् ।

जाडोको वेला लगलग काँप्दै आमाछोरी गाउँ डुले । दया गरेर कसैले पैसा दिन्थे त कसैले चामल । ‘कसैले पनि गुन्द्री दिँदैनथे । भुइँमै सुत्थ्यौँ,’ बर्ता सम्झिन्छिन्, ‘भोकै पेट डुल्थ्यौँ । जंगल भेटियो भने बल्ल खाना पकाएर खान्थ्यौँ । एक हप्ता त्यसरी नै घर बाहिरै बिताउँथ्यौँ ।’ कतिले ‘आठ वर्षकी बच्चीलाई किन यसरी दुःख दिएकी’ भनेर बर्ताकी आमालाई गाली गर्थे । तर, उनीहरू खर्चको जोहोमा सारंगी बजाउँदै गाउँ–गाउँ डुल्थे ।

सारंगीसँगै खेल्दाखेल्दै बर्ताले मिठो धुन निकाल्न थालिन् । ६ महिनामै गीत पनि गाउन सक्ने भइन् । सारंगी बजाउँदै बर्ताले गाउन थालिन्, ‘वसन्त ऋतुले छाएछ, हेर न चापा र गुराँस क्या राम्रो फुलेछ, जान्नँ म त विदेश लाहुर ।’

बर्ताले गाउन र गीतको लयमा सारंगीको धुन निकाल्न थालेपछि उनीहरूको आम्दानी पनि बढ्यो । सानी फुच्चीले गाएको सुन्दा कतिले आँसु पनि खसाल्थे रे । अनि खुसी हुँदै चामल, धान र पैसा दिन्थे । ‘एक महिनामा तीन–चार सय रुपैयाँ र चार–पाँच पाथी चामल हुन्थ्यो,’ बर्ताको मुहारमा खुसीका रेखा देखिन्छन्, ‘म बोराको झोलामा चामल बोक्थेँ । सारंगी समाउँदै आमाको पछि–पछि लाग्थेँ ।’

दुई वर्षपछि बुबा घर फर्किए । अनि आमासँग होइन, बुबाको सारथि भएर सारंगी बजाउँदै गाउँ डुल्न थालिन् बर्ता । बुबाले सारंगी बजाउँथे, बर्ता गाउँथिन् । सारंगी बजाउँदै एकपटक बुबाछोरी तुम्लिङटार एयरपोर्टसम्म आइपुगे । त्यहाँ बर्ताले गीत गाएको अधिवक्ता गोपाल सिवाकोटीले सुनेछन् । उनलाई बर्ताको स्वर मिठो लागेछ । त्यसपछि उनले बुबालाई भनेछन्, ‘छोरी लिएर काठमाडौं आउनु ।’

केही समयपछि बुबाले बर्तालाई काठमाडौंस्थित सिवाकोटीको घरमा ल्याएर छाडिदिए । आफू भोजपुर फर्किए । तुम्लिङटार एयरपोर्टको यात्राले बर्ताको जीवनमा नयाँ मोड ल्याइदियो । बर्ता सिवाकोटीको घरका सबै काम सकेर स्कुल जान थालिन् ।

केही महिनापछि सिवाकोटीले बर्तालाई जनकराज तुलाधरकहाँ पुर्‍याए । तुलाधरले बर्तालाई छात्रवृत्तिमा एसएलसीसम्म पढाउने प्रबन्ध मिलाए । बर्ता होस्टेल बस्न थालिन् ।

एसएलसी दिँदासम्म उनलाई घरकाले कहिल्यै सोधीखोजी गरेनन् । दसैँ–तिहारको वेला त पूरै होस्टेलमा एक्लै हुन्थिन् उनी । बुबाआमा सम्झेर रुनुबाहेक केही थिएन उपाय ।

एसएलसीपछि उनी फेरि सिवाकोटीकै घर पुगिन् । उनले सिवाकोटी सरलाई ‘काम मिलाइदिनुपर्‍यो, मलाई कलेज पढ्न मन छ’ भनिन् । ०६२ सालतिरको कुरा हो, रिसेप्सनमा जागिर पाइन् उनले । तलब थियो जम्माजम्मी १५ सय रुपैयाँ । अनामनगरमा डेरा लिइन् र ललितकलामा भर्ना भइन् । ६ महिनापछि फेरि उनको जीवनमा नयाँ मोड आयो । के मोड थियो त्यो ? ‘मेरो अफिसमा एकजना जापानिज आएका रहेछन् । उनलाई एउटा डकुमेन्ट्रीका लागि ब्याकग्राउन्ड म्युजिक चाहिएको रहेछ । मैले सारंगी बजाउने थाहा पाएपछि उनले त्यो काम मलाई दिए,’ बर्ताले भनिन्, ‘मैले त गीत नै बनाइदिएँ, गरिब भई जन्मनुपर्‍यो, दासी भई बाँच्नुपर्‍यो ।’

बर्ताको सारंगीको धुन र गीत सुनेपछि ती जापानिज निकै प्रभावित भएछन् । त्यसबापत उनले बर्तालाई हारमोनियम किनिदिए । त्यो दिन सम्झँदा उनी अहिले पनि उमंगित देखिइन्, ‘मेरो हातमा हारमोनियम ! म त्यो रातभरि हारमोनियम समाएर सुतेकी थिएँ ।’ ती जापानिजले त्यति मात्र गरेनन् । बर्ताको करिअरमै नयाँ मोड ल्याउने लिंकमा जोडाए ।

bb

जापानिजले एक दिन बर्तालाई भेट्न बोलाए । त्यो भेटमा कुटुम्ब ब्यान्डकी नयनतारा गुरुङ कक्षपति पनि सँगै थिइन् । कक्षपति कुटुम्बकी म्यानेजर थिइन् । जब बर्ताले कक्षपतिको अगाडि गीत गाउँदै सारंगी बजाइन्, एकैपटक बर्ताका लागि तीनवटा कन्सर्ट ‘फिक्स्ड’ भयो । कटुम्बकै स्कुलिङ स्टेज पर्फमेन्स सो गरेलगत्तै बर्ता एकाएक चर्चामा आइन् । राष्ट्रिय दैनिक पत्रिकामा छापिए, ‘नेपालकी पहिली सारंगीवादक बर्ता ।’

बर्ताले पढाइ र सांरगीवादनलाई अघि बढाउँदै लगिन् । त्यसै समय उनी नेपाल संगीत विद्यालयमा संगीत सिक्न थालिन् । विद्यालय गएको चार दिनमै उनले प्रतिस्पर्धाबाट छनोट भएर नर्वेमा सारंगी सिकाउन जाने अवसर पाइन् । ‘जुन २००७ को कुरा हो । ‘म नर्वे जाने ! मलाई त विश्वास नै लागेको थिएन,’ उनले भनिन्, ‘पासपोर्ट बनेर टिकट ओके भइसकेपछि बल्ल विश्वस्त भएँ ।’

त्यहाँ उनले ठूला–ठूला कन्सर्टमा भाग लिइन् । श्याम नेपाली, रुबिन श्रेष्ठ र बर्ता नेपालबाट नर्वेका लागि छानिएका थिए । नेपाल फर्केपछि उनी विद्यालयकी सारंगी शिक्षिका नै बनिन् । अब उनको बिर्सिएको घरसँगको सम्बन्ध पनि गाँसिन थाल्यो । नर्वेबाट किनेर ल्याएको नोकिया मोबाइलले उनले पहिलोपटक घरमा फोन गरेकी थिइन् । गाडी चढेर आमाबुबालाई भेट्न घरमै पुगिन् ।

सन् २०१२ मा बर्ता फेरि १० महिनाका लागि सारंगी सिकाउन नर्वेको एक युनिभर्सिटीमा पुगिन् । त्यसअघि चाइना पनि गएकी थिइन् । श्रीलंका, थाइल्यान्ड, स्विडेनलगायतका सहरमा पनि उनका सारंगीका धुन गुन्जिसकेका छन् ।

बर्ता अहिले पनि संगीत विद्यालयमा पढाउन जान्छिन् । विभिन्न कन्सर्टमा सहभागी हुन्छिन् । कहिले कसको घरमा सारंगीको गुरु बनेर पुग्छिन् त कहिले घरमै रिहर्सल गरेर बस्छिन् । उनलाई अझै पनि काम पुगेको छैन रे । सारंगीले नै उनको जीवनलाई अदलबदल पारिदिएको छ । र, झन् गहिरो सम्बन्ध गाँसिदिएको छ । साँच्ची बर्ताले सारंगी र आफ्नो सम्बन्धलाई कसरी परिभाषित गर्छिन् त ? ‘सारंगीलाई म यति माया गर्छु कि मेरो अन्त्यष्टि गर्दा म सँगसँगै सारंगी राखिदिऊन् भन्ने चाहना छ,’ भावुक हुँदै उनी बोलिन् ।

आज पनि उनीसँग आठ वर्षमा डुलाएको सारंगी छ । त्यतिवेला उनले आमालाई खुब गाली गरिन्, सरापिन् । तर, खासमा आमा नै उनकी प्रेरणाको स्रोत हुन् । उनी भन्छिन्, ‘आमाले त्यसरी नहिँडाएको भए कहाँ म सारंगी बजाउन सक्ने हुन्थेँ र ? यो सबै आमाले गर्दा भएको हो।’ श्राेत :नयाँ पत्रिका

शब्द : विश्वास खड्काथोकी
तस्बिर : विनोद विष्ट

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com