एसाइलम खोज्नेलाई कुख्यात ग्वान्तानामो बे क्याम्प पठाउनेलाई ट्रम्पले रोजे महान्यायाधिवक्ता
प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार
शरणार्थीहरुलाई कुख्यात ग्वान्तानामो बे पठाउने नीतिमा संलग्न विलियम बारलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ताको पदका लागि सिफारिस गरेका छन् । सन् १९९१ देखि सन् १९९३ सम्म तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यु बुसको माताहतमा महान्याधिवक्ताका रुपमा काम गरेका बारका पालामा १२ हजार हैटीका एसाइलम आवेदकलाई कुख्यात ग्वान्तानामो बे क्याम्प पठाउने कार्यक्रम संचालन गरिएको थियो ।
विश्वको पहिलो एचआईभी डिटेन्सन क्याम्पका रुपमा कुख्यात उक्त ग्वान्तानामो बे क्याम्प झण्डै १८ महिना संचालनमा आएको थियो । सन् १९९३ मा एकजना न्यायाधिसले यस्तो क्याम्प बन्द गर्न आदेश दिएका थिए । त्यतीबेला हैटी एड्सको संकटबाट अगाडि बढिरहेको सन्दर्भमा त्यहाँ भएको सैन्य कु पछि हैटीका नागरिकहरु शरणार्थीका रुपमा अमेरिका आएका थिए ।

शरणार्थीहरुमा एचआईभी पोजेटिभ देखिएको खण्डमा उनीहरुलाई ग्वान्तानामो बे क्याम्पमा पठाउने गरिएको थियो । जहाँ उनीहरुको दोश्रो परिक्षण समेत गरिन्थ्यो । तत्कालिन महान्यायाधिवक्ता विलियम बारले एसाइलम दावी गर्ने एचआईभी संक्रमितहरुलाई हैटी नै फिर्ता पठाउनु पर्ने धारणा राख्दै आएका थिए ।
यो परिघटनालाई अमेरिकाको लज्जाजनक इतिहासका रुपमा लिइन्छ । एसाइलम खोज्नेलाई अमेरिकी भूभाग समेत नरहेको ग्वान्तानामो बेको क्याम्पमा राख्नु अमानवीय रहेको भन्दै विरोध हुँदै आएको छ । यही कार्यक्रमको पक्षमा रहेका विलियम बारको नाम राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तामा प्रस्ताव गरेका हुन् ।






