होला त अमेरिकी सरकार सटडाउन ? सटडाउन भए के हुन्छ युएससीआईएसको काम ?


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

अमेरिकी सरकार सटडाउन भएपनि युएससीआईएसका अधिकांश कामकाजहरु भने प्रभावित हुँदैनन् । युएससीआईएसमा आवेदकले बुझाउने शुल्कबाट कर्मचारीहरुले तलब पाउने भएकाले सरकार सटडाउन भएपनि त्यसको असर नपर्ने र कामकाज सुचारु हुने भएको हो ।

सरकार सटडाउनको बेलामा पनि युएससीआईएसले आवेदनहरु लिन्छ भने कार्यालयहरु संचालनमा रहन्छन् । आवेदकका अन्तरवार्ताहरु तोकिएकै समयमा लिइन्छ । तर संघीय बजेटबाट संचालित ४ वटा कामभने प्रभावित हुन्छन् ।

सरकार सटडाउन भएमा युएससीआईएसको इ भेरिफाइ सेवा प्रभावित हुन्छ । ईबी फाइभका क्षेत्रीय केन्द्र कार्यक्रम पनि प्रभावित हुन्छन् । त्यस्तै जे वान डाक्टरलाई वेभर दिने कार्यक्रम र धार्मिक कामदार कार्यक्रम पनि प्रभावित हुन्छन् ।

डिसेम्बर २१ सम्मका लागि अस्थायी खर्च विधयेक पारित भएपछि त्यतीन्जेलसम्मका लागि भने अमेरिकी सरकार सटडाउनको संकट टरेको छ । अमेरिकी संसदले २ साताका लागि अस्थायी खर्च विधयेक पारित गरेको हो ।

पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसको दाहसंस्कारको कारण देखाउँदै सांसदहरु विधयेकहरु पारित गर्ने डेडलाइन थप २ साता अर्थात् डिसेम्बर २१ सम्मका लागि सार्न सहमत भएका छन् । अब विभिन्न ६ वटा आर्थिक विधयेकहरु डिसेम्बर २१ को मध्यरातसम्म ती विधयेकहरु पारित नभए अमेरिकी सरकारले सटडाउनको सामना गर्नुपर्नेछ ।

डिसेम्बर २१ को मध्यरातसम्म खर्च विधयेक पारित भएमा त्यसले आगामी सेप्टेम्बरको अन्त्यसम्मका लागि अमेरिकी सरकारको खर्चको व्यवस्था गर्नेछ ।

यसपटकपनि सबैभन्दा मुख्य विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा लगाउने भनेको पर्खालको लागि बजेट विनियोजन नै रहेको छ । पर्खाल लगाउनका लागि ५ बिलियन डलरको बजेट पारित नभए सरकार शटडाउन गर्न दिने राष्ट्रपति ट्रम्पले चेतावनी दिदै आएका छन् । डेमोक्र्याट्सहरु भने सिमा सुरक्षाका लागि १ दशमलव ६ बिलियन बजेटमात्र विनियोजन हुनुपर्नेमा सहमत छन् ।

तर डेमोक्र्याट्सहरुले सिमा सुरक्षाका लागि विनियोजन गर्ने भनेको रकम पर्खालका निर्माणका लागि भने नभएको सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले स्पष्ट पारेका छन् । यो केबल तारबार, प्रविधि स्तरोन्नती लगायतका काममा मात्र लगाउन सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com