ओली सरकारका राम्रा कामलाई निरन्तरता दिदै संविधान कार्यान्वयनतिर लाग्नुपर्छ नयाँ सरकार


प्रकाशित मिति : श्रावण १९, २०७३ बुधबार

 

 

 

 

 

 

 
– बीके नेवा

नेपाललाई समृद्ध बनाउने अभियानको थालनी गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चक्रव्युहमा पारी हट्न वाध्य पारियो । बालबालिकादेखि बृद्धबृद्धा, महिला पुरुष सबैलाई खुसी पार्ने काम गर्नुभएका प्रधानमन्त्री ओलीलाई काम गर्न दिइएन । नौ महिनाको अत्यन्तै छोटो अवधिमा सत्ता छाड्न वाध्य पारिनुभएका ओलीले यति छोटो अवधिमा महत्वपूर्ण पनि यसअधि कसैले गर्न नसकेका कामको थालनी गर्नुभएको थियो । तानाशाही र निरङ्कुश शासनविरुद्ध लडेर आउनुभएका ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नयाँ संविधानलाई कार्यान्वयन गर्न अब बन्ने नयाँ सरकारालाई सहज होस् भनी वाधा अडकाउ फुकाउने कामसमेत गरेर लोकतान्त्रिक विधि,मूल्य र मान्यता अनुसार सहज ढंगले राजिनामा दिएर मार्ग प्रसस्त गरी राजनेताका रुपमा आफूलाई स्थापित गर्नुभएको थियो । स्वच्छ राजनीतिक छवि बनाएर बहिर्गमन हुनुभएका ओलीमाथि काँग्रेस र माओवादीले अनावश्यक आरोप लगाए ।

ओलीमाथि अविश्वासको प्रस्ताव ल्याई उहाँ र उहाँको पार्टी नेकपा एमालेविरुद्ध अत्यन्तै अमर्यादित,अशिष्ट र गैर प्रजातान्त्रिक ढंगले काँग्रेस र माओवादीबाट लगाइएका आरोपहरुलाई शिष्ट र मर्यादित साथै शालिन ढंगले प्रतिवाद र खण्डन गर्दै संसदीय मूल्य र मान्यताका आधारमा अगाडि बढ्न पाठ सिकाउँदै उहाँले सहजै पद त्याग गर्नुभएको थियो । ओली सरकार निरङ्कुश बन्छ , कुनै हालतमा पनि सत्ता छाड्दैन भनी विभिन्न कोणबाट लाञ्चना लगाउने र चरित्र हत्या गर्ने जस्ता काम भएको थियो । तर पनि प्रधानमन्त्री ओलीले सबैसँग मित्रता र सदभावपूर्ण व्यवहार गर्दै आफूले थालनी गरेको मुलुक बनाउने महान् अभियान नरोक्न आग्रह गर्दै नयाँ बन्ने सरकारलाई राम्रो काम गर्न,देश,जनता र लोकतन्त्रविरुद्ध कुनै किसिमको षडयन्त्र नगर्न, लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध काम नगर्न शालीन चेतावनीसहित हाँसीहाँसी पद त्याग्नु भयो । यस कदमले ओलीको कद अग्लो भयो । ओलीको राजनीतिक र बैचारिक जीवनबाट ओलीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुभएका काँग्रस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाठ सिकी मुलुकलाई सही दिशा दिनुपर्छ नत्र आम नेपाली जनताको कठघरमा उभिन वाध्य हुनुपर्नेछ ।

विनासकारी भूकम्प , हिंसात्मक मधेस आन्दोलन र भारतको नाकाबन्दीले अस्तव्यस्त भएको विषम परिस्थितिमा नयाँ संविधान अनुसार प्रधानमन्त्री बन्नुभएका ओलीलेले नौ महिनाको छोटो अवधिमा देश र जनताको हितमा अत्यन्तै महत्वपूर्ण काम गर्नुभयो । यो अवधिमा उहाँले देश र जनताको शिर ठाडो पार्ने, देशको स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय अखण्डता जोगाउने काम गर्नुभयो । नयाँ नेपालको मार्गचित्र कोर्ने काम गर्नुभयो ।

सात दशकदेखि संविधानसभाबाट नयाँ संविधान बनाउने नेपाली जनताको सपना पूरा गर्दै आठ बर्षमा १२ खर्ब रुपियाँभन्दा बढी खर्च गरेर बनाइएको संविधानको राजधानीलगायत हिमाल र पहाडका अधिकांश जनताले स्वागत गरे । उत्तरी छिमेकी चीनलगायत विश्वका विभिन्न मुलुकले नयाँ संविधानको स्वागत गरे । तर मधेसवादी केही दलहरुले संविधानप्रति असहमति जनाउँदै भारतसँगको सीमानाकामा बन्द र धर्नासहित थप हिंसात्मक आन्दोलन सुरु गरे । सोही आन्दोलनलाई कारण देखाउँदै दक्षिणको छिमेकी भारतले नयाँ संविधानको स्वागत मात्र गरेन अघोषित नाकाबन्दी लगायो । पाँच महिनासम्मको नाकाबन्दी र तराई मधेसको हिंसात्मक आन्दोलनले आम नेपाली जनजीवन अस्तव्यस्त बन्यो । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको चरम अभाव भयो । बिकल्पका रुपमा दाउरा प्रयोग गर्नुका साथै चीनसँग इन्धन सहयोगका लागि अनुरोध गरियो । चीनले अनुदान स्वरुप केही पेट्रोलियम सहयोग गर्यो । आन्दोलनका क्रममा ५८ जनाको ज्यान गयो भने दुई खर्ब रुपियाँभन्दा बढीको क्षति भयो ।

केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले संयुक्त मधेसी मोर्चाका प्रमुख माग जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निधारण, समानुपातिक समावेशी प्रतिनिधित्वका लागि नयाँ संविधानमा संशोधन गर्नुका साथै सीमाङ्कनको विवाद समाधान गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्यो । संविधान संशोधन र संयन्त्र गठन भएपछि भारत नयाँ संविधानप्रति केही सकारात्मक बन्यो । मोर्चाले सीमानाकाको धर्ना र बन्द कार्यक्रम फिर्ता लियो । राजधानीमा धर्ना र रिल अनसन गर्यो । अब भदौ २८ गतेसम्म अन्तरक्रियात्मक आन्दोलनको घोषणा गरेको छ । ओली सरकारले मधेस आन्दोलनलाइ साइजमा ल्याउने काम गर्यो ।

जस्तोसुकै चुनौती र कठिन भोग्नु परे पनि ओली सरकारले देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा आँच पुग्नेगरी कसैसँग सम्झौता गरेन । भूकम्पपीडितको पुनःस्थापनाका लागि पुनःस्थापना प्राधिकरण कानुन निर्माण, प्राधिकरणलाई पूर्णता तथा पुनःनिर्माण महाअभियानको थालनी गर्यो । प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण फागुन ७ देखि १२सम्म भारत जानुभएका ओलीले नेपाल स्वतन्त्र र सार्वभौम मुलुक हो भन्ने सन्देश दिन सफल हुनुभयो । भारत भ्रमणको एक महिनापछि प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीनको भ्रमण गर्नुभयो । चैत ७ देखि १४ गतेसम्मको उहाँको भ्रमणका बेला विभिन्न १० बुँदे सम्झौता तथा समझदारीमा हस्ताक्षर भयो । साथै, १५ बुँदे संयुक्त विज्ञप्ति जारी भयो । ओलीले भारत र चीनलाई समदुरीमा राखेर आफ्नो भ्रमणलाई सफल बनाउनुभयो । दुवै देशसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने काम गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गर्नुभएको भारत र चीन भ्रमणका बेला नेपालको अहित हुने गरी कुनै सन्धि सम्झौता गरिएन । नेपालको शिर निहुराउने काम भएन । नेपालको स्वाभिमानको रक्षा गर्ने काम भयो । समग्रमा ओली सरकार राष्ट्रहितका पक्षमा उभियो । राष्ट्र र जनताका पक्षमा महत्वपूर्ण कामको थालनी गर्यो । सत्ता टिकाउन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अवाञ्छित गतिविधि गरेन । लोकतन्त्र र लोकतान्त्रिक अभ्यास र नैतिकतालाई ध्यान दियो । विना कारण हटाइए पनि नयाँ सरकार बनाउन सजिलो होस् भनी उपयुक्त विकल्पसहित राजीनामा दिनुभएका ओलीबाट पाठ सिकेर सत्ता स्वार्थमा लिप्त काँग्रेस र माओवादीको नयाँ गठबन्धनले मुलुकलाई सही निकास दिनुपर्छ । ओली सरकारले थालनी गरेका राम्रा कामहरुलाई निरन्तरता दिदै संविधान कार्यान्वयनमा नयाँ सरकारले ध्यान केन्द्रित गर्नुपर्छ । सत्ता स्वार्थमा मात्र लागी देश र जनताको हितमा काम गर्न सकेनन् भने काँँग्रस र माओवादीसँग आम नेपाली जनताले हिसाबकिताब माग्ने छन् ।

न्युयोर्क, अमेरिका । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com