आजबाट माइक्रोबस चालक र सहचालकलाई पाेशाक अनिवार्य
प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार
काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आज मंसिर १ गतेबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ ।
माइक्रो बसका चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम अाज बाट सुरू भएकाे हाे । पहिलाे पटक काठमाडौं उपत्यकाभित्र मात्र व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ ।
महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको पालामा फ्लोरेसेन्ट ज्याकेट लगाउने नियम बनाइएको थियो । तर, त्यसको कार्यान्वयन भएको थिएन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेको सरोकारवालाहरुको संयुक्त बैठकले मंसिर १ गतेदेखि अनिवार्य रुपमा माइक्रोबस चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको थियो । बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र माइक्रोबस व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए ।
महासंघका महासचिव सरोज सिटौलाले फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको बताए ।