निर्मला हत्या प्रकरणका कारण एसपी बिष्ट र इन्स्पेक्टर भट्ट प्रहरीबाट बर्खास्त
प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार
निर्मला हत्या प्रकरणमा सन्दिग्ध भूमिका रहेको भन्दै गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका निलम्बित एसपी दिल्लीराज बिष्टलाई प्रहरीबाटै बर्खास्त गरेको छ । साथमा इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई पनि सेवाबाट बर्खास्त गरिएको छ।
प्रहरी प्रधान कार्यालयको सिफारिशमा उनीहरुलाई बिहीबार साँझ गृहले बर्खास्त गर्ने निर्णय गरेको हो। गृहले दुबै जनासँग स्पष्टिकरण माग्दा उनीहरूले दिएका स्पष्टिकरण चित्त बुझ्दा नभएकाले सेवाबाट बर्खास्त गरिएको गृहले जनाएको छ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । घटनामा संलग्न प्रहरी कर्मचारीबाट चरम लापरवाही, गैर व्यवसायिक र गैर जिम्मेबारीपूर्ण व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानूनी व्यवस्था समेत पालना नभएको तथ्य फेला परेको, अनुसन्धानमा चरम लापरवाही गरेको, प्रमाण नष्ट गरेको, तत्काल नेपालमा नरहेका बाबुको दस्तखत गराइएको, शब अन्त्येष्टीका लागि परिवारलाई अनावश्यक दवाव र धम्की दिएको भन्दै उनीहरुलाई सेबाबाट हटाउन प्रहरी प्रधान कार्यालयले असोज २९ गते गृहलाई पत्र लेखेको थियो ।








