मार्नकै लागि दुबईबाट नेपाल


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

गत भदौ ५ गते मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्की रक्ताम्य अवस्थामा मृत फेला परे । दिउँसो ३ बजेतिर घरको कोठामा रक्ताम्य अवस्थामा भेटिएका कार्कीको हत्या भएको पुष्टि हुने पर्याप्त आधार थिए । घरमा कोही नभएका बेला कसले दिउँसै उनको हत्या गर्‍यो भन्ने रहस्य भने गर्भमै थियो । यद्यपि घरबाट केही पर फेला परेका छुरी, चप्पल आदि सामग्रीले अनुसन्धान सुरु गर्न केही सहज बनाए ।

कार्कीको घर सोध्दै आएका एक युवालाई देख्ने स्थानीय बासिन्दाका कारण प्रहरीलाई हत्याराको हुलिया पहिचान गर्न सजिलो भयो, तर हत्यारा तत्काल पक्राउ भने परेनन् । प्रहरी अनुसन्धानकै क्रममा थियो । घटनाको पाँच दिनपछि भदौ १० गते फेसबुकमा स्टाटस लेख्दै सन्जित थापा नामका व्यक्तिले सन्तोष कार्कीको हत्या गरेको स्वीकार गरे ।

उनले स्टाटसमा छिट्टै आत्मसमर्पण गर्ने कुरा समेत उल्लेख गरेका थिए तर उनी आत्मसमर्पणका लागि भने आएनन् । मृतक सन्तोष कार्कीको निर्मम तवरबाट हत्या भएको थियो । जो–कोहीले घटनास्थलमा उनको शवसमेत हेर्न सकेनन् । छुराले घाँटीदेखि शरीरका विभिन्न अंगमा दर्जनौं पटक प्रहार गरिएको थियो । शरीरका अंगहरू छिया–छिया भएका थिए । घटनाको प्रकृति हेर्दा ठूलै प्रतिशोध साँध्न उक्त हत्या गरिएजस्तो देखिन्थ्यो ।

हत्याको कारण

सन्जित दुबई प्रहरीमा कार्यरत थिए । उनकी श्रीमती नेपालमै थिइन् । उनीहरूका एक छोरी पनि छिन् । यता सन्जितकी श्रीमतीको प्रेमसम्बन्ध सन्तोष कार्कीसँग झाँगिन थालेको आरोप छ । सन्जितकी श्रीमती र सन्तोष कार्की कलेज पढ्दाका सहपाठी भएको बताइन्छ । त्यसकै आधारमा सन्तोष र उनको प्रेमसम्बन्ध पहिलेदेखि नै रहेको अनुमान छ । सन्जितसँग विवाह गरे पनि उनी दुबई बस्ने भएकाले सन्तोष र उनकी श्रीमतीबीचको उठबस बाक्लै थियो ।

यो सम्बन्धका बारेमा सन्जितले बिस्तारै चाल पाउँदै गए । उनले श्रीमती र सन्तोष दुवैलाई बेला–बेला सम्झाएको कुरा उनले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । गत फेबु्रअरी १४ ‘भ्यालेन्टाइन डे’ का दिन सन्तोष कार्कीले फेसबुकमा आफ्नी प्रेमिकाको तस्बिर पोष्ट गरे । तस्बिरमा अनुहार नदेखिए पनि प्रेमिका भनिएकी युवती आफ्नै श्रीमती भएको कुरामा सन्जित विश्वस्त थिए । त्यसयता सन्जित निकै तनावमा भएको जानकारहरू बताउँछन् । दुबईमा तत्काल छुट्टी नमिल्ने भएकाले उनी नेपाल फर्कन पाइरहेका थिएनन् ।

हत्या गर्न दुबईबाट ओखलढुंगा

छुट्टी मिल्नेबित्तिकै सन्जित गत साउन ३० गते काठमाडौं एयरपोर्ट ओर्लिए । काठमाडौंबाट उनी सोझै आफ्नो घर दाङ, भालुवाङ पुगे । भालुवाङ पुग्दा उनकी श्रीमती छोरी लिएर काठमाडौं आइसकेकी थिइन् । सन्जितले घरमा १० मिनेटजति मात्र बिताए । उनलाई ओखलढुंगा कताबाट जानुपर्छ भन्नेसमेत जानकारी थिएन ।

दाङबाट बस चढेर हिँडेका कार्की उदयपुरको गाईघाट पुगे । गाईघाटमा उनले खुकुरी र छुरी किने अनि भोलिपल्ट ओखलढुंगातर्फ लागे । ओखलढुंगा सदरमुकाम पुगेपछि उनले रमाइलोडाँडास्थित एउटा गेस्ट हाउसमा कोठा लिए । भोलिपल्ट रामपुर पुगेर अर्को होटलमा बसे । त्यहाँबाट उनले सन्तोष कार्कीको घर, ठेगाना पत्ता लगाए अनि केही समयमा आउँछु भन्दै होटलको कोठा थुनेर दिउँसै निस्किए ।

थापा मूलबाटो नभएर केही घुमेर सन्तोषको घर सोध्दै अघि बढे । गाउँको बस्तीबाट अलि माथि एक्लो घर भएकाले कार्कीको घरमा के भैरहेको छ भनेर हत्तपत्ति कसैले पत्तो पाउन सकिने स्थिति थिएन् । सन्तोषका बुवाआमा घाँस–गोठाला गर्न घरबाहिर थिए । संयोग हुन सक्छ, सन्जित पुग्दा सन्तोष घरमा एक्लै थिए । उनी सरासर घरभित्र छिरे । ‘सन्तोष’ भनेर बोलाइएपछि कोठाभित्रका सन्तोष बाहिर निस्किए । त्यतिबेला सन्तोषले अनुहारमा फेसियल वा कुनै किसिमको क्रिम दलेका थिए ।

सन्जितले क्रिमले सेतै अनुहार भएका सन्तोषलाई देखे । उनलाई ती व्यक्ति सन्तोष नभएर कुनै केटी हुन् कि भन्ने भ्रम पनि भयो । त्यसपछि थापा अलिकति पछाडि सरे, तर तत्कालै ती केटी नभएर सन्तोष नै भएको ठम्याए । त्यसपछि उनीहरूबीच सामान्य वादविवाद भयो । सन्जितले आफ्नो बयानमा सम्झाउन खोज्दा उल्टै आफूमाथि आक्रमण गरेपछि आफूले छुरा प्रहार गरेको बताएका छन् । यद्यपि सन्तोषको कोठा र आसपास कुनै हतियार नभएकाले उनले आक्रमण गरेको हुन नसक्ने प्रहरीको अनुमान छ ।

सन्जितले सन्तोषमाथि यति धेरै छुरा प्रहार गरे कि उनी मरे–बाँचेको समेत सन्जितलाई होस भएन । त्यसपछि त्यहाँबाट भागेर उनी दुई दिनजति ककनीको जंगलमा बास बसे । तेस्रो दिन मोलुङ खोला झरेर त्यसको किनारैकिनारको बाटो हुँदै घुर्मी पुगे । घुर्मीबाट उनी कटारीतर्फ लागे । सन्जित कटारीबाट बस चढेर दाङ पुगे अनि फेसबुक स्टाटस पोस्ट गर्दै सन्तोषको हत्या गरेको कुरा लेखे । प्रहरीले लोकेसन ट्रयाप गर्दै जाँदा उनी दाङमा फेला परेनन् । उनलाई प्रहरीले भदौ १५ गते बाँकेको कोहलपुरबाट पक्राउ गर्‍यो ।

इलाका प्रहरी कोहलपुर बाँके तथा विराटनगर प्रहरीको संयुक्त अनुसन्धान टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० स्थित बसपार्कबाट सन्जितलाई पक्राउ गरेको थियो । प्रहरीले अहिले सन्जितविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४, ज्यान सम्बन्धी कसुर मुद्दाअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ भने जिल्ला अदालतले सन्जितलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । साबिती बयानमा सन्जितले आफूले हत्या गरेको कुरा स्वीकार गरेका छन् ।

फेसबुकमा हत्या स्वीकार गर्नुअघि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिसी क्यामेरा फुटेज, कल डिटेललगायतका माध्यमबाट सन्जितले नै हत्या गरेको हुन सक्ने अनुमान गरिसकेको थियो । जब सन्जित आफैंले फेसबुकमार्फत उक्त हत्याको जिम्मेवारी लिए, त्यसपछि प्रहरीलाई उनलाई पक्राउ गर्न थप सहज भयो ।

को हुन् सन्जित थापा ?

धर्मावती, प्युठानका सन्जितको परिवार हाल राप्ती गाउँपालिका–३, भालुवाङ, दाङमा बस्दै आएको छ । ३७ वर्षका सन्जितकुमार थापा सुरुमा नेपाल प्रहरीमा थिए । नेपाल प्रहरी छोडेर उनी नेपाली सेनामा भर्ती भए । दुबई प्रहरीले १ सय ५० जना नेपाली सैनिकलाई दुबई प्रहरीमा लिने निर्णय गरेपछि भाग्यवश: उनी पनि छनौटमा परे । नेपाली सेनाबाट राजीनामा दिएर उनी दुबई प्रहरीमा भर्ना भए । उनको कमाइ राम्रै थियो ।

दुबई प्रहरीमा कार्यरत छँदै जेठी श्रीमतीसँग उनको सम्बन्ध बिग्रियो । ठूलै रकम दिएर उनले श्रीमतीसँग सम्बन्धविच्छेद गरे । त्यसपछि उनले मागी विवाह गरेका थिए । विवाहपश्चात् कान्छी श्रीमतीको परपुरुषसँग सम्बन्ध भएको थाहा पाए । विभिन्न समयमा फेसबुकमा लेखिएका स्टाटसबाट पनि उनको मानसिक अवस्था विक्षिप्त रहेको अनुमान गर्न सकिन्छ । उज्ज्वल भविष्यको सपना देख्दै खाडीको चर्को गर्मीमा संघर्षरत सन्जित अहिले जिल्ला कारागार ओखलढुंगाको चिसो छिँडीमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com