बेलायतमा सेटलमेन्ट निर्णयमा दोब्बर ढिलाई, नेपालीसहित हजारौं आप्रवासी अन्यौलमा


प्रकाशित मिति : आश्विन १४, २०७५ आईतबार

बेलायती सरकारले आप्रवासीहरुलाई सेटलमेन्टको निर्णय दिनमा आफैले तय गरेको अवधि भन्दा दोब्बर अवधि लगाएपछि हजारौं आप्रवासीहरु अन्यौलमा परेका छन् । बेलायती सरकारको होम अफिसले आवेदन दिएको ६ महिनाभित्र सेटलमेन्टका लागि निर्णय दिनुपर्ने लक्ष्य तय गरेकोमा त्यसका लागि एकबर्षभन्दा पनि लामो समय लाग्न थालेको छ ।

धेरै आवेदनका कारण ब्याकलग भएको समेत नभई आवेदन संख्या समेत २२ प्रतिशतले घटेको खुलासा भएको छ । समयमै निर्णय नदिंदा आवेदन दिएका आप्रवासीहरुको अनिश्चिताको भूमरीमामात्र छैनन्, यात्रा गर्नबाट र जागिरका लागि आवेदन दिनबाट समेत बञ्चित भएका छन् । आवेदन प्रकृयाको समयमा होम अफिसले आवेदकको पासपोर्टसमेत आफैसँग राख्ने भएकाले बेलायतमा एकदशक भन्दा लामोसमयदेखि बसोबास गरिरहेका आप्रवासीहरु बेलायतबाहिर यात्रा गर्न र आफन्तहरुलाई भेट्नबाट बञ्चित भएका हुन् ।

झण्डै ८ हजार २ सय १० जना आवेदकहरु आफ्नो आवेदनबारे निर्णयका लागि ६ महिनाभन्दा पनि लामोसमयदेखि कुरिरहेको तथ्यांकले देखाएको छ । कुल आवेदनको आधारमा हरेक १० आवेदनमध्ये १ जनाले ६ महिनाभन्दा लामोसमय कुर्नुपरेको सन् २०१७ को तथ्यांकले देखाएकोछ । तर विगत तीनबर्षको तुलना गर्दा सन् २०१४ मा ९५६५१ आवेदन परेकोमा सन् २०१७ मा त्यो भन्दा २२ प्रतिशत कम ७४९५२ आवेदन परेको जनाइएको छ ।

सन् २०१८ को पहिलो ६ महिनामा निर्णय प्राप्त गर्ने हरेक २० जनामध्येका १ अर्थात् २६१८ जनाले आफ्नो निर्णय प्राप्त गर्नका लागि ६ महिनाभन्दा लामो समय कुर्नुपरेको तथ्यांकले देखाएको छ । २२१ वटा आवेदनमा निर्णय हुन २ बर्षभन्दा लामोसयम लागेको छ भने १३ जना आवेदकहरुले आफ्नो आवेदनबारे निर्णण्का लागि एकदशकदेखि कुरिरहेको छन् । एकजना आवेदकले त आवेदनबारे निर्णयका लागि २९ बर्ष देखि कुरिरहेको तथ्यांकले देखाएको छ । बेलायती अध्यागमनमा भएको ढिलासुस्तीका कारण त्यहाँ रहेका कैयन नेपाली आप्रवासीहरु समेत प्रभावित भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com