न्यूयोर्कमा प्रधानमन्त्री ओली सम्मानार्थ गर्ने भनिएको कार्यक्रम यसरी रोकियो


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

कार्यक्रम आयोजनामा विभिन्न संघ संस्थाको लुछाचुडीका कारण विवाद देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानार्थ न्यूयोर्कमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओलीले आफू कुनै समुह वा समुदायको मात्र नभई मुलुककै प्रधानमन्त्री भएकाले कुनै समुह वा समुदायको विवादास्पद कार्यक्रम सहभागी नहुने आशय व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो ।

विवादका कारण कार्यक्रम आयोजक संस्थाबाट एनआरएनए पछाडि हटेपछि नेकपा निकट प्रवासी नेपाली मञ्चलेमात्र गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी नहुने भएका हुन् । कार्यक्रम एनआरएनए, प्रवासी नेपाली मञ्च अमेरिका, नेपाली आदिवासी जनजाती महासंघ र नेपाली संघीय समाजले संयुक्त रुपमा गर्ने भनिएको थियो ।

कार्यक्रम नहुने भएपछि सामाजिक सञ्जालमा निम्तो सहित टाँसिएको ब्यानर समेत हटाइएको छ । एनआरएनए विवादमा आउन नचाहेपछि र प्रधानमन्त्रीलाई पनि विवादमा ल्याउन नचाहेपछि कार्यक्रम आयोजना गर्नबाट पछाडि हटेको एनआरएनए श्रोतले जनाएको छ । प्रधानमन्त्री ओली पनि एनआरएनएबाहेकका अन्य संस्थाले आयोजनागर्ने कार्यक्रममा सहभागी हुँदा विवादमा पर्ने आशंकाले त्यस्तो कार्यक्रममा सहभागी नहुने निष्कर्षमा पुगेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले आफू देशको प्रधानमन्त्री भएकाले प्रवासी नेपाली मञ्चले वा एनआरएनले अन्य संस्थाले गर्ने कार्यक्रममा सहभागी नहुने बताएपछि प्रवासी नेपाली मञ्चपनि पछाडि हटेको छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेस निकट तरुण दलले गर्ने भनिएको बिरोधपनि भित्र भित्रै मिलोस भन्ने चाहन्छन् ।

एनआरएनए बोर्ड सदस्य सञ्जय थापाले देशको कार्यकारी प्रमुखलाई विवादमा ल्याउन नचाहिएको र बिरोधका बीचमा कार्यक्रम नहुने जानकारी गराए । उनले भने – ‘हामी र प्रधानमन्त्रीका बीचमा प्रवासी नेपाली र नेपालको प्रधानमन्त्रीको सम्वन्ध हो । एक पक्षले सम्मान गर्ने र अर्को पक्षले बिरोध गर्दा राम्रो सन्देश जाँदैन । ‘

प्रधानमन्त्रीको कार्यक्रमका लागि को आयोजक हुने भन्ने विवादबाट विवाद शुरु भएको हो । अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कार्की सहित बिभिन्न संघ सस्थाका पदाधिकारी सहितको बैठकले एक पटकमा निस्कर्ष निकाल्न सकेको थिएन् ।

पहिले एनआरएनएले कार्यक्रम गर्ने, एनआरएनएका अध्यक्ष केशव पौडेल बाहेक अरु संस्थाका पदाधिकारीलाई बोल्न नदिने अनि प्रधानमन्त्रीका कुरा सुन्ने र नेपाली कांग्रेसले भद्र ढंगबाट बिरोध गर्ने भन्नेमा सहमति जुटन नसक्दा कार्यक्रम स्थागित हुने चरणमा पुगेको हो ।

राजदुत कार्की सहित बसेको बैठकमा बिभिन्न संघ सस्थाले आफुहरु आयोजक हुनुपर्ने माग राखेका थिए तर अन्तिममा एनआरएनए सबैको साझा सस्था भएकाले एनआरएनएलाई संयोजन गर्ने जिम्मा दिइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com