मेरिल्याण्ड गोलीकाण्डमा मृत्यु हुने नेपाली बृन्दा गिरी, न्युयोर्कका पूर्ण आचार्य घाइते
प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

बिहिबार अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा मृत्यु हुने नेपाली महिला बृन्दा गिरी रहेको पुष्टी भएको छ । चार महिना अगाडि नेपालबाट अमेरिका आएकी गिरीको गोली काण्डमा मृत्यु भएको हो । गोली काण्डमा न्युयोर्कको रिजउडका ४६ बर्षका पूर्ण आचार्य नामका अर्का नेपाली घाइते भएका छन् । घटनामा अरु २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
राइट एडमा काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैले कामगर्ने स्थानमा अन्धाधुन्धा गोली प्रहार गर्दा ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन हो । अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोग गरेको जनाइएको छ । अरुलाई गोली हानेपछि स्नोयिआ मोस्लेले आफैलाई गोली हानेर आत्महत्या गरेको जनाइएको छ ।
आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महिना अगाडि मात्र त्यहाँ काम गर्न थालेकी थिइन् । गिरीको आइतबार अन्त्येष्टी गरिने भएको छ ।
पर्वतमा जन्मेकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन्।