अमेरिकी ग्यास स्टेशनमा काम गर्दा कसरी ज्यान जोगाउने ?


प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार

Texaco gas station at night

अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एक क्षेत्र ग्यास स्टेसन हो । तर त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ ।

कसरी मारिन्छन् नेपाली ? 

अहिलेसम्मका घटना हेर्दा प्राय घटना रातमा भएका छन् र लुटेराहरूबाटै गराइएका छन् । यी दुई तथ्यको विश्लेषण गर्दा राती काम गर्नुपर्ने बाध्यता, राती सुरक्षाको पोख्त ब्यवस्था नहुने भएकाले लुटेराहरूको मनोबल बढ्नु, सुरक्षा उपायहरू अपनाउनेभन्दा पनि प्रतिवाद गर्ने प्रवृति हुनु र पैसा जोगाउने नाममा ज्यान माया मार्ने खालको गतिविधि नै यस्ता अप्रिय घटनाका मुल कारण देखिएका छन् ।

ग्यास स्टेशनमा काम गर्नु वा ब्यावसाय नै गर्न छोड्ने भन्ने कुरा व्यवहारिक हुदैन । त्यसैले यस्ता घटना घट्न नदिन के गर्ने भन्ने नै यसको चुरो उपाय हो । पहिला त यस्ता घटनाहरू लुटेराबाटै हुने भएकाले लुटेराहरू किन आउँछन् भन्ने नै मूल प्रश्न हो । अहिलेसम्मका घटना हेर्दा धेरैमा व्यावसायिक लुटेराहरू नै संलग्न छन् । केहीमा लागू पदार्थका दुब्र्यसनी र खानकै लागि लुट्ने टापटिपे लुटेराहरू पनि संलग्न भएको पाइएको छ । केही घटनामा चाँहि एसियाली आप्रवासीलाई देख्नै नसक्ने जातिवादी अर्थात् रेसिस्टहरू पनि संलग्न भएको पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा बन्दुक सहज पाइने भएकाले बन्दुके अपराधको संख्या दिनानुदिन बढ्दो छ । त्यसमा पनि लुटि खानु एक किसिमको प्रोफेसन नै भएको अवस्था छ । केही समययता आप्रवासीमाथिको जातीय विभेद पनि बढ्दो छ ।

कसरी जोगिने ?

यस्तो अवस्थामा होसियारीपूर्वक सावधानी उपायहरू अपनाउनु नै उत्तम हुने देखिन्छ । त्यसका लागि ग्यास स्टेसन साहुहरूले कामदारलाई सबैभन्दा ठूलो कुरा ज्यान हो, पैसा हैन भन्ने सिकाउन जरूरी छ । सकेसम्म पैसा जोगाउने तर त्यस्तो अवस्था नआए ज्यानको जोखिम नलिने भन्ने सुरक्षा मुलमन्त्र कामदारहरूलाई दिनु नै अहिलेका लागि पहिलो सुरक्षा मन्त्र हुन सक्छ ।

स्टोरमा बुलेटप्रुफ काउन्टरको व्यवस्था गर्ने, मध्यरातमा कन्भिनियन्स पसल बन्द गर्ने र ग्यास स्टेसन मात्र चलाउने, नजिकको प्रहरीसँग सम्बन्ध बिस्तार गर्ने, आवश्यकताअनुसार ९११ को प्रयोग गर्ने, सीसीटीभीलगायतका सुरक्षा सन्यन्त्रको व्यवस्था गर्ने र त्यसका बारेमा देखिने ठाउँहरूमा प्रष्टसँग लेखेर राख्ने लगायतका उपायहरू पनि अपनाउनु पर्ने हुन्छ ।

मालिकले जे भने पनि कामदारले एउटा नेपाली उखान सधैभरी सम्झनुपर्ने हुन्छ। त्यो के भने अनिकालमा बीउ जोगाउँनु, हुलमुलमा ज्यान जोगाउँनु । रिसाउने, परिस्थितिको आकलन नगर्ने, सुरक्षामा लापरवाही गर्नेलगायतका ज्यान जोखिम बढाउने काम गर्नु हुदैन ।

पहिले काम गर्ने, पछि किन्ने

अमेरिकामा रहेका नेपालीमध्ये धेरैले आफ्नो अमेरिकी जीवन ग्यास स्टेसनबाटै सुरू गर्छन् । जोखिमका लागि तयार रहने चरित्र, स्टोरमा क्यासियर भएर काम गर्न सक्ने पढाइ, आफुले भने जस्तो समयमा सहजै काम पाइने भएकाले पनि नेपालीका लागि सुरूवाती दिनमा ग्यास स्टेसन रोजगारीका एक गन्तव्य भएको छ ।

त्यसैमा काम गर्दागर्दै पूँजी, ज्ञान र अनुभव हासिल गरेपछि धेरै कामदारहरू कतिपय अवस्थामा त्यही स्टोरकै साहुसँग साझेदार भएर त कतिपय अवस्थामा अरू साझदार खोजेर पनि ग्यास स्टेसन खोल्न पुग्छन् । एउटा स्टोर भएपछि केही समयमा अरू थप्ने क्रम सुरू हुन्छ । यसो गरेर धेर नेपालीहरू एक हैन, दर्जनौ ग्यास स्टेसनका मालिक हुन पुगेका छन् ।

सयौं नेपाली मालिक, हजारौं नेपाली कामदार

अमेरिकाका ५० राज्यमै नेपालीका सयोैंको संख्यामा ग्यास स्टेसन छन् र सयोैको संख्यामा नेपालीहरू ग्यास स्टेसनका मालिक भएर तरक्की गरिसकेका छन् । नेपालमा स्रोत नखुलेको अकुत सम्पति कमाएका मानिसको पैसा ल्याएर पनि अमेरिकामा ग्यास स्टेसन खोल्नेहरू छन् भनिन्छ। खासगरी राजनीतिक दलका नेता र कमाउ उच्चपदस्थ कर्मचारीहरूले आफन्तमार्फत् यस्तो लगानी गरिरहेको बताइन्छ ।

नेपाली ग्यास स्टेसन मालिकको त आधिकारिक तथ्यांक नभएकोे बेला काम गर्ने नेपालीको एकिन संख्या भन्न सकिने अवस्था छैन । वेटिङ जब अर्थात् अर्को राम्रो काम नपाउन्जेल गरिने कामका रूपमा समेत लिइने भएकाले ग्यास स्टेसनबाट अन्य जब स्टेसनतिर हिड्नेहरूको तरल संख्या पनि ठुलो छ । कति नेपाली ग्यास स्टेसनमा काम गरिरहेको एकिन तथ्यांक नभएकाले अनुमान मात्र गर्न सकिन्छ ।

अमेरिकाको ५० राज्यमा हजारौको संख्यामा नेपालीहरू ग्यास स्टेसनमा काम गरिरहेका छन् । नेपालीहरूको बाक्लो आवादी रहेको टेक्सासमा मात्र पनि ठुलो संख्यामा नेपालीहरू ग्यास स्टेसनमा काम गरिरहेका छन् ।

कम्तीमा २४ नेपालीको मृत्यु

अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र छैन, चुनौतिको पहाड पनि तेर्सिएको छ । खासगरी, सुरक्षाको प्रश्न अहम छ । यसै क्रममा केही नेपालीले ग्यास स्टेसनमै असामयिक मृत्यु पनि वरण गरिसकेका छन् । एक अध्ययनका अनुसार सन् २००४ देखि २०२४ सम्ममा २४ जनाभन्दा धेरै नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेको बेला ज्यान गुमाएका छन् ।

जुलाई २८ आइतबारमात्र टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्या भएको छ । ओलीले क्यासियरका रुपमा काम गर्दै आएका थिए । यसबाट उनको अमेरिकी सपना त चकनाचुर भयो नै परिवार बिचल्ली भयो अनि सिंगो समाज नै स्तब्ध बन्यो ।

गतबर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्या भएको थियो । लामिछानेलाई हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको थियो ।

गतबर्ष नै टेक्सासको युलेसमा बस्दै आएका नेपाली युवा दिपेन्द्र जोशी ग्यास स्टेशनमा काम गरेर फर्कदा गोली लागी घाइते भएका थिए । त्यस्तै गतबर्ष नै टेक्सासको अष्टिनमा ग्यास स्टेशनमा काम गरिरहेका बेला हतियारधारी लुटेराको समुहले ३२ बर्षका भिम बहादुर नाथमाथि गोली प्रहार गर्दा उनी सख्त घाइते भएका थिए ।

यी बाहेक ग्यास स्टेशनमा काम गर्दा लुटेराको कुटाईबाट घाईते हुने, कुटाई खाने या लुटिनेहरूको संख्या ठुलै छ । अमेरिकामा ग्यास स्टेसनमा दिनानुदिन सुरक्षा चिन्ता बढ्दो छ । व्यवसायको वीमा हुने भएकाले मालिकहरूलाई केही राहत हुने देखिन्छ । तर, अधिकांश कामदारको बीमा पनि नहुने भएकाले उनीहरूको जीवन र परिवारमा ठूलो ज्वारभाटा नै आउने गरेको छ ।

प्रथमपटक प्रकाशित मिति:  अगस्त ३०, २०१८

(मूल लेखबाट केही विवरण र तथ्यांक अपडेट गरिएको छ । – सं)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com