विदेशको नागरिकता लिएका एनआरएनले समेत नेपाली नागरिकता पाउने, विधयेक संसदमा दर्ता


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

विदेशको नागरिकता लिइसकेका गैर आवासीय नेपाली नागरिकहरुले नेपाली नागरिकता पाउने गरी ऐन संसोधन हुने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार यसबारेको विधयेक संसदमा दर्ता गराउनुभएको हो । नागरिकता सम्बन्धि ऐनलाई संशोधन गर्न बनेको विधेयकमा एनआरएनले नागरिकता पाउने व्यवस्था गरिएको छ ।

२०७२ सालमा जारी भएको नेपालको संविधानले एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सक्ने अधिकार उल्लेख गरेको छ । त्यसै अनुरुप विधेयकमा उक्त व्यवस्था गरिएको हो। नेपालको संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितताका आधारमा ल्याइएको नेपाल नागरिकता ऐन २०६३लाई संशोधन गर्न बनेको विधेयकमा विदेशमा रहेका नेपाली नागरिकलाई शर्तसहित नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।

गैर आवासीय नेपाली नागरिकले नेपाली नागरिकले पाउने केही अधिकार भने प्राप्त गर्न सक्ने छैनन्। विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने विधयेकमा उल्लेख छ ।

गैर आवासीय नागरिकता लिन चाहने व्यक्तिले बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र गृहमन्त्रालयसमक्ष पेश गर्नुपर्ने हुन्छ। यी प्रमाण पुगेपछि मन्त्रालयले एनआरएनलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी महिलाले नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाली पुरुषसँग विवाह गरेकी महिलाले नेपालको विदेशको नागरिकता लिएको भए उक्त नागरिकता त्याग गर्नुपर्ने हुन्छ। नेपाली पुरुषसँग विवाह गरेपछि नेपालको नागरिकता लिएको मितिले ६ महिनाभित्र विदेशी नागरिकता त्यागेको जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ। यसअघि विदेशी नागरिकता त्याग्ने प्रक्रियामा रहेको अवस्थालाई मान्यता दिइएको थियो भने संशोधन हुन लागेको ऐनमा विदेशी नागरिकता त्यागेको जानकारी गराउनुपर्नेछ। त्यसो गरिएन भने नेपालको नागरिकता खारेज हुनेछ।

त्यसैगरी, विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी नेपाली महिलाले पनि नेपालको नागरिकता प्राप्त गर्ने भएकी छन्। यसअघि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाले नागरिकताका लागि निवेदनसम्म दिन नपाउने व्यवस्थालाई उल्ट्याएर विदेशीसँग विवाह गरेकी महिलाले विदेशी नागरिकता नलिएको वा विदेशी नागरिकता परित्याग गरेको अवस्थामा नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाली नागरिक महिलाले नेपालको नागरिकता प्राप्त गर्नुभन्दा पहिले विदेशीसँग विवाह गरेकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित गर्न उचित नभएकाले यस्तो व्यवस्था गर्न लागिएको हो। यसरी विदेशीसँग विवाह गरेकी नेपाली नागरिकले नेपालको नागरिकता लिएको र उक्त पुरुषले पनि नेपाली नागरिकता लिएको खण्डमा उनीहरूका सन्तानले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान पनि राखिएको छ।

त्यसैगरी, अब नेपाली नागरिकता पहिचानका आधारमा प्राप्त हुने भएको छ। नेपालको संविधानमा गरिएको व्यवस्था अनुरुप भन्दै सरकारले नेपाली नागरिकताको लिंगको महलमा महिला वा पुरुष वा अन्यु उल्लेख गरी लैंगिक पहिचान खुलाउनुपर्ने छ। पहिचानकै सन्दर्भमा अब नेपाली नागरिकता प्रमाणपत्रमा नागरिकता लिने व्यक्तिको स्थायी ठेगाना रहेको प्रदेशको नाम पनि उल्लेख गरिने भएको छ। त्यस्तै अब नेपालको नागरिकता आमा वा बाबुको नाम र ठेगानाबाट नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। झूठो विवरणका आधारमा नागरिकता लिँदा वा दिँदारदिलाउँदा हुने सजायमा घटबढ कुनै विदेशीलाई झूठो विवरणका आधारमा दिलाउने कार्यमा संलग्न रहेको पाइएमा हुने सजाय कम गरिएको छ।

यसअघि गलत विवरणका आधारमा विदेशीलाई नागरिकता दिलाउने कार्यको सनाखत वा सिफारिसकर्ता बन्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था थियो। त्यसमा सरकारले घटाएर ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ। झूठो विवरण दिई नागरिकता लिने अवस्थालाई निरुत्साहित गर्नका लागि गरिएको व्यवस्थामा एकभन्दा बढी नागरिकता लिने व्यक्तिलाई १ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। त्यस्तो अवस्थामा सुरुको नागरिकता वा सही विवरण भएको नागरिकता मात्रै कायम गरी अन्य नागरिकता खारेज हुनेछ।

बसाइँ सर्नेले नयाँ ठाउँबाट नागरिकता लिन पाउने नेपालकै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेपनि पुरानै ठाउँको नागरिकता छ भने त्यो परिवर्तन गर्न पाइने भएको छ। सरकारले नागरिकता सम्बन्धि गर्न लागेको नयाँ व्यवस्था अनुसार बसाइँ सर्ने व्यक्तिले नयाँ ठाउँको पहिचानमा नागरिकता लिन पाउने छ। यस्तो अवस्थामा पहिले पुरानो ठाउँबाट लिएको नागरिकता भने सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ।

विधयेकको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com