आफन्तकै योजनामा ९ बर्षिय अंकीत गुप्ताको अपहरण र हत्या


प्रकाशित मिति : श्रावण २१, २०७५ सोमबार

गोकुल घोरसाइने, बारा ।
बारा जिल्लाको जीतपुरस्थित व्यापारी ललनप्रसाद कलवारका ९ बर्षिय छोरा अंकीत गुप्ताको अपहरण र हत्या आफन्तकै योजनामा भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय सिमरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा घटनामा संलग्न चारजना अभियुक्त सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले अंकीतको अपहरण र हत्याको मुख्य योजनाकार नातामा भिनाजु पर्ने प्रदिप कुमार कलवार रहेको जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका १३ रानीघाट बस्ने घटनाका मूख्य योजनाकार कलवार सहित अंकीतको अपहरण र हत्यामा संलग्न पर्सा जिल्ला पोखरिया नगरपालिका ७ घर भइ हाल वीरगञ्ज बस्ने सिपाही भनिने रामप्रवेश साह, पर्सा गोविन्दपुर घर भई वीरगञ्ज महानगरपालिका २४ बस्ने पार्वती देबी र भारत विहार पश्चिम चम्पारण जोगापट्टी थाना बस्ने सुरज गीरीलाई प्रहरीले आइतबार सार्वजनीक गरेको हो ।

कलवारकै योजना अनुसार गत जेठ २२ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारबाट अंकीतको अपहरण भएको र फिरौती रकम समेत लिएर गत साउन १ गते हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक राठौरले जानकारी दिए ।

अभियुक्त वीरगञ्जबाट पक्राउ परेको दाबी पत्रकार सम्मेलनमा गरेपनि प्रहरी स्रोतका अनुसार घटनाका मुख्य योजनाकार भनिएका कलवारलाई १८ साउनमा प्रहरीले भारत विहारको पश्चिम चम्पारण स्थित जोगापट्टी डुमरीयाबाट पक्राउ गरेको हो । घटनामा संलग्न तीनजना पक्राउ परिसकेपछि उनी विहार छिरेका थिए । प्रहरीले गत साउन ७ गते घटनामा संलग्नमध्ये रामप्रवेशलाई पक्राउ गरेको थियो । उनकै वयानका आधारमा पार्वतीदेवी र सुरज गीरीलाई ८ गते पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी राठौरले बताए ।

यसरी भएको थियो घटना

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार प्रदिपको रामप्रवेसंग पहिलेदेखिकै चिनजान थियो । पेशाले सवारीचालक रहेका रामप्रवेशलाई प्रदिपले बच्चाको अपहरण गरि फिरौती असुल्ने योजना सुनाए ।

आर्थिक प्रलोभनमा परेपछि रामप्रवेशले प्रदिपको योजना अनुसार जीतपुर बजारमा आएर बच्चाको गतिविधि निगरानी गर्ने कार्यमा प्रदिपलाई सहयोग गरे । केहि समयदेखी बच्चाको गतिविधि नियालीरहेका उनीहरुले जेठ २२ गते साँझ अंकीतलाई जीतपुर बजारबाट अपहरण गरी मोटरसाइकलमा राखेर लगेको प्रहरीको भनाई छ ।

नातामा भिनाजु पर्ने प्रदिपले बोलाएपछि अंकीत मोटरसाइकलमा बसेको र उनीहरुले जीतपुर पछाडीबाट पर्सा जिल्लाको बाटो हुँदै वीरगञ्ज पु¥याएका थिए । ‘भिनाजुलेनै लगेकाले बच्चा लैजान उनिहरुलाई सहज भएको देखिन्छ’ प्रहरी प्रवक्ता राठौरले भने ।

अपहरणपछि पार्वती देबी र सुरज गीरिले बच्चा लुकाउने र फिरौती बुझ्ने कार्यमा भूमिका खेलेको प्रहरीले जानकारी दियो । अपहरणकारी रामप्रवेशकी भाउजु पार्वतीदेवीले बच्चाको रेखदेख गर्ने र वालकको परिवारसंग फिरौती बुझ्ने कार्यमा सहयोग गरेको प्रहरीको भनाई छ ।

पारिवारिक श्रोतलाई उद्दृत गर्दै बारा प्रहरीले जनाए अनुसार उनिहरुले दुई पटक गरेर कुल ६४ लाख भारतीय रुपैयाँ फिरौती लिएका थिए । भारतमा फिरौती बुझेका उनीहरुले सुरज मार्फत पटक पटक परिवारलाई धम्काउने र फिरौती माग्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अपहरणको मुख्य योजनाकार प्रदिपलाई बच्चाले राम्ररी चिन्ने भएकाले उनीहरुले फिरौती बुझेपछि वालकको हत्या गरेको प्रहरीको भनाई छ । ‘भिनाजु नै भएकाले अप्ठ्यारोमा पर्न सक्ने भन्दै प्रदिपकै योजनामा बालकको हत्या भएको देखिन्छ’ प्रहरी प्रवक्ता राठौरले भने ।

बारा प्रहरीले अपहरणमा प्रयोग भएको विआर २२ जे ४७५७ नम्बरको भारतिय मोटरसाइकल, ८ एमएमको २ थान गोली र ७ लाख १५ हजार रुपैयाँ पनि रामप्रवेशको घरबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय पर्सा, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआइबी र २ नम्बर प्रदेश प्रहरी कार्यालय र भारतिय प्रहरीको संयुक्त पहलमा घटनाको अनुसन्धान गरि चारजनालाई पक्राउ गरिएको र घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

शवको पहिचान हुन बाँकी

प्रहरीले हत्याका अभियुक्तहरु सार्वजनीक गरेको भएपनि अंकीतको शवको पहिचान भने अझै हुन सकेको छैन । गत साउन १ गते वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुर स्थित गण्डक नहरमा एक बालकको वेवारीसे शव भेटिएपछि प्रहरीले सो शव अकीतको नै भएको दावी गर्दैै डिएनए परिक्षणका लागि पठाएको छ ।

बालकका परिवार र प्रहरी समेतले शवको प्रकृति र घाँटीमा लगाएको मालाका आधारमा शव अंकीतकै भएको बताएका छन् तर उक्त शव अंकीतको नै हो भन्ने आधिकारीक पुष्टि हुन भने बाँकी छ । ‘अपहरित वालकको हत्या गरेको र शव गाडेको अभियुक्तहरुले समेत स्विकार गरेका छन्, यद्दपि डिएनए रिपोर्ट आइनसकेकाले यकिन भैसकेको छैन ।’ प्रहरी प्रवक्ता राठौरले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com