राष्ट्र बैंकबाट नक्कली नेपाली नोटसहित सशस्त्रका जवान पक्राउ


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

नेपाली एक हजार दरको नक्कली नोटसहित सशस्त्र प्रहरीका एक जवान र दुई जना पक्राउ परेका छन्।

वीरगन्जमा रहेको नेपाल राष्ट्र बैंकको शाखामा आइतबार नक्कली नोट साट्न भनेर गएका सशस्त्र प्रहरी जवान, वीरगन्जको बेलवा घर भई हाल बाराको पथलैयामा रहेको रुद्र बाहिनी गणमा कार्यरत सन्तोष बस्याल र बेलवाकै राहुल राय थारु नेपाली एक हजार दरको २२ वटा नक्कली नोटसहित पक्राउ परेका हुन्।

पानीले नोट भिजेको र त्यो साटी दिन भन्दै आइतबार दिउँसो बैंकमा पुगेका सशस्त्र प्रहरी जवान बस्याल र उनका साथी थारुले पानीले भिजेको नेपाली एक हजार दरको २२ थान नोट साटी दिन भनी बैंकका कर्मचारीलाई दिएका थिए। बैंकका कर्मचारीले शंका लागेर चेकजाँच गर्दा नक्कली नोट भएको पुष्टि भएपछि बैंकका कर्मचारीले जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गरेका थिए।

खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक राजेश दत्तको नेतृत्वमा खटिएको प्रहरी टोलीले सशस्त्र प्रहरी जवान र उनका साथी थारुलाई बैंकबाटै नक्कली नोटसहित पक्रेको हो। नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।

दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा विदामा घर आएका सशस्त्र प्रहरी जवान बस्यालले आफूलाई साथीमात्र बनाएर नोट साट्नका लागि बैंकमा लिएर गएको र नक्कली नोटका बारेमा आफूलाई केही थाहा नभएको बयान थारुले दिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

सशस्त्र प्रहरी जवान बस्यालले बरामद नक्कली नोट कहाँबाट ल्याएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com