सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै : व्यापार र पर्यटन वृद्धि हुने आशा


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर गाँउ उत्तरीलाई नेपालको सीमानामा रहेको चिवा भन्ज्याङ्गसँग जोड्ने सडक निर्माण गरिरहेको छ ।

नेपाल सिक्किमबीच प्रवेश बिन्दु चिवा भन्ज्याङ्ग समुद्र सतहदेखि १०,५०० फिटको उचाईमा रहेको छ ।

निर्माण सम्पन्न भइसकेपछि सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउने विश्वास गरिएको छ । साथै यो सडक सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुनेछ । १०० किमी सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन ।

उत्तरी–चिवा भन्ज्याङ्ग मार्ग १८ किलोमिटर लामो हुनेछ । यस सडकलाई सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु लागतमा निर्माण गरिरहेको छ । यो सडक यो वर्षको माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ ।

सहरी विकास र आवास विभाग मन्त्री एन.के. सुब्बाले यो सडक धेरै पहिले निर्माण भइसक्नुपर्ने तर वातावरणीय अनुमतीमा भएको ढिलाईले निर्माण कार्य ढिलो भएको बताए । सुब्बा मानेबोङ–देन्टम निर्वाचन क्षेत्रका सांसद पनि हुन् । उत्तरी त्यही निर्वाचन क्षेत्रमा पर्छ ।

“हाल निर्माण कार्य तीब्र गतिमा अघि बढिरहेको छ । पुषको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ ।” उनले भने ।

सुब्बाले नेपालसँग सडक सम्पर्क स्थापित भए पछि सिक्किमको पर्यटन र व्यापारमा बृद्धी हुने बताए । “पछिल्लो छ/सात वर्षमा यो स्थानमा पर्यटकहरुको आगमनमा स्थीर बृद्धी देखिएको छ । यो सडकले पर्यटकहरुलाई थप एउटा प्रवेश बिन्दु प्रदान गर्नेछ । सिक्किम र पूर्वी नेपालबीचको व्यापारमा पनि बृद्धी हुनेछ,” उनले भने ।

स्थानीय मानिसहरुका अनुसार खुल्ला सीमानाको कारण दुवै तर्फका जनताहरुले वर्षौदेखि सानो स्तरमा यहाँबाट व्यापार गरिरहेका थिए ।

“नुन, चिनी तथा मट्टीतेलजस्ता सामाग्रीहरु पहिलेदेखि सीमा क्षेत्रमा व्यापार हुन्थ्यो । सडक सम्पर्कले व्यापारको स्तरमा निश्चित रुपमा बृद्धी गराउनेछ । व्यापार हुने सामाग्रीमा पनि बढोत्तरी हुनेछ,” उत्तरीका एक स्थानीय लज सञ्चालक अर्जुन सुब्बाले भने ।

६७४० फिट उचाईमा रहेको उत्तरी सिक्किमको लोकप्रिय पर्यटकीय स्थल पेलिङ्गबाट २० किमीको दुरीमा मात्र छ । साथै यो गाँउ धेरैवटा उच्च ट्रेकिङ्ग रुटको प्रस्थान विन्दु पनि हो । यसमा उत्तरी–चिवा भन्ज्याङ्ग–सिङ्लिला, उत्तरी–चिवा भन्ज्याङ्ग–फोक्तेदारा र उत्तरी–चिवा भन्ज्याङ्ग–जोङ्ग्री–युक्सोमहरु प्रमुख छन् ।

ट्रेकिङ् टुर सञ्चालन गर्ने स्थानीय पर्यटन व्याबसायी शिव बहादुर लिम्बुले सन् २०१० मा खुलाएदेखि यो ट्रकिङ्ग रुट निक्कै चर्चित भएको बताए ।

“उत्तरी–चिवा भन्ज्याङ्ग सबैभन्दा छोटो ट्रेक हो । यो दुई घण्टाको मात्र छ । उत्तरीमा आवश्यक परे भरियाहरु पनि पाइन्छ । माथिका स्थानहरु निक्कै स्वच्छ छन् । जब लालिगुराँसजस्ता फुलहरु फुल्छन्, दृश्य निक्कै मनमोहक हुन्छ,” लिम्बुले भने ।

राज्य सरकारले पर्यटकहरुलाई मध्यनजर राख्दै टेन्जिङ्ग–हिलारी पार्क र एक सुकेको ताल ब्युँताउने प्रक्रियामा छ ।

एशियाको दोस्रो अग्लो मानिने सिङ्शोर झोलुङ्गे पुल पनि यहि स्थानमा रहेको छ । यो पुलले उत्तरीलाई देन्तमसँग जोड्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com