फेरि भक्तपुर डुब्यो, मौसम विभागले दियो यस्तो चेतावनी


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो ।

आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी सोमबार राति मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ । भारी वर्षा हुने भएकाले ठुला नदीमा बाढी आउने र सतर्क रहन विभागले चेतावनी दिएको छ ।

मंगलबार भने पूर्वी स्थानमा मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ । गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो ।

हनुमन्तेको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायत क्षेत्र डुबानमा परेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com