ओलीले भने: कांग्रेसले कामै गर्न दिएन


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दलले काम गर्न नदिएको गुनासो गरेका छन् ।

तुल्सीलाल अमात्यको २१औं स्मृति दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले दुईतिहाइ बहुमतको सरकार प्रतिपक्षीले भनेअनुसार चल्नुपर्ने अवस्था रहेको जिकिर गरे ।

प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिमा निर्णय गर्न पनि नदिने, अल्झाएर राख्ने र उल्टै सरकारमाथि आरोप लगाउने गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

आफ्नो सरकारले राम्रो काम गर्दैजाँदा अरु कुनैपनि पार्टीहरु बाँकी नरहने हो कि भन्ने त्रासले प्रतिपक्षीले अफवाह फैलाएको दाबी पनि उनले गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आगामी भदौ ५ गतेभित्र ७ ओटै प्रदेशमा पार्टी एकता गरिसक्ने बताए ।

दुई पार्टीबीचको एकतालाई कुनैपनि हालतमा सुदृढ गर्ने र जनतासँग गरेका संकल्प पूरा गर्ने उनले प्रतिबद्धता जनाए ।

सो अवसरमा तुल्सीलाल अमात्य प्रतिष्ठानले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदानसमेत गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com