फिल्मी स्टाइलमा ‘गाडीवाली’ राज्यमन्त्रीको तामझाम : यसो भन्छिन् राज्यमन्त्री


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

राजपा नेपालबाट राज्यमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आफ्नो गृहजिल्ला रौतहट पुगेकी डा.डिम्पल झाको चर्चा अहिले निकै भइरहेको छ ।

गृहजिल्ला रौतहट पुग्दा उनको तामझामको बारेमा फेसबुक, ट्वीटरदेखि लिएर हरेक ठाउँमा चर्चा भइरहेको छ ।

साउन ९ गते भौतिक पूर्वाधार राज्यमन्त्रीमा शपथ लिएकी डा. झा साउन १५ गते आफ्नो गृह जिल्ला पुगेकी थिइन् । जिल्ला प्रवेश गरेसँगै चन्द्रनिगाहपुरदेखि गौरसम्म गाडीको लस्कर पुगेको थियो ।

उनलाई पार्टीका कार्यकर्ताहरुले माला लगाएर ठाउँ ठाउँमा स्वागत गरेका थिए भने चोकचोकमा  तस्विरसहितको प्रवेशद्वार पनि निर्माण गरिएको थियो ।

कुनै पनि वरिष्ठ नेता वा मन्त्री जिल्ला जाँदा गाडीको ताती लाग्नु मधेशका लागि नौलो विषय होइन । नेताको पछाडी १०–१५ वटा गाडी सामान्य हुन्छ । डिम्पल झा मन्त्री बनेपछि पनि  त्यस्तै दृश्य देखिएको कार्यकर्ताहरु तर्क गर्छन् ।

अन्य दल र नेता आउँदा कुनै चर्चा नभएपनि झाका विषयमा भने टिकाटिप्पणी भएको नेता कार्यकर्ताहरु बताउँछन् । कतिपयले त झालाई ‘गाडीवाली मन्त्री’ मन्त्री भन्दै टिप्पणी समेत गरेका छन् ।

हाल गृहजिल्ला रौतहटमा रहेकी राज्यमन्त्री डा.झालाई रातोपाटीले यही विषयमा केन्द्रीत रहेर प्रश्न गरेको छः

तपाईँको पछाडि ताँती लागेर हिँडेको गाडीको अहिले निकै चर्चा छ त्यसको बारेमा तपाईलाईँ कुनै जानकारी छ ?
–अँ मैले पनि सुनेको छु ।

फिल्मी स्टाइलमा यतिधेरै गाडीको तामझाम किन त ?
–म त्यो जिल्लाको नेतृ हुँ । म राज्यमन्त्रीमा नियुक्त भएको छु । कार्यकर्ता खुशी हुनु स्वभाविक हो । तर, यति गाडी आउँछ भने मलाई पनि विश्वास थिएन । कार्यकर्ता आफ्नो खुशीले गाडी लिएर मेरो स्वागतमा आउनु भयो । के उनीहरु गाडी लिएर आउँदा मैले अस्वीकार गर्नुपथ्र्यो ? के उनीहरुले मलाई फूलमालाले स्वागत गर्दा अस्वीकार गर्नुपथ्र्यो ? मेरा पार्टीका कार्यकर्ता, मेरा क्षेत्रका जनता, मेरा शुभचिन्तकले मलाई स्वागत गरे भने यसमा टिप्पणी गर्नु आवश्यकता नै छैन ।

एउटा राज्यमन्त्रीको पछाडी ६०–७० भन्दा बढी गाडी हिँड्नु धेरै भएन र ?
–मलाई थाह पनि थिएन कि यति गाडी आउँछन् । मसँगै आफ्नै तीनवटा गाडी थियो । मेरो आफ्नो एउटा गाडी छँदै थियो । एउटा शपथग्रहण गर्न जाँदा प्रदेश सरकारले उपलब्ध गराएको थियो । एउटा अर्को गाडी जिल्ला समन्वय समिति उपसभापतिको गाडी थियो । जनकपुरबाट आउँदा तीनवटा गाडी साथमै आएका थिए  । अरु कार्यकर्ता र मेरा शुभचिन्तकहरु मेरो स्वागतमा गाडी नै लिएर आए भने त्यो झन् खुशीको कुरा हो नि । यसमा अरुले चित्त दुखाउने कुरा हुनु हुँदैन ।

नेपालका मन्त्री तपाई अधिकाँश गाडी भारतीय नम्बर प्लेटको थियो किन त्यस्तो ?
–भारतीय गाडी थियो कि नेपाली मैले हेर्ने कुरा थिएन । र, मैले याद पनि गरेको छैन । के नेपालका मन्त्रीलाई उनको कार्यकर्ताले स्वागत पनि गर्नु हुँदैन त ? सबै भारतीय नम्बर प्लेटको गाडी थिए जस्तो मलाई लाग्दैन । नेपाली नम्बर प्लेटका गाडी पनि थिए ।  केही भारतीय नम्बर प्लेटका गाडी पनि थिए  होला । तराई मधेशमा भारतीय गाडी प्रयोग गर्नु सामान्य भइसकेको छ । भारतीय गाडी सस्तो पर्छ । कानुनी प्रकृया पुरा गरि सीमा क्षेत्रका थुप्रै नेपालीले भारतीय गाडी प्रयोग गरिरहेका छन् । नेपालमा विभिन्न कार्यक्रममा भारतीय नम्बर प्लेटको गाडीले निकै सहयोग पुर्याइरहेको छ । पार्टीका कार्यकर्ताहरुले पनि सोही गाडी प्रयोग गरेको होलान् ।

त्यहाँको स्वागतका लागि गाडीको व्यवस्था पार्टीले गरेको थियो कि व्यक्तिगत थियो ?
–सबै पार्टीका कार्यकर्ताहरु र हाम्रा शुभचिन्तक तथा आफन्त हुनुहुन्थ्यो । सबैको व्यक्तिगत गाडी थियो । कसैले पनि भाडामा ल्याएका थिएनन् ।

पहिलो पटक मन्त्री हुनुभयो र जिल्ला आउनु भयो के–के गर्ने योजना छ ?
–संविधान र कानुन अनुसार हामीलाई जति अधिकार दिइएको छ, त्यो अनुसार मैले काम गर्छु । जनताका लागि राजनीतिक गरिरहेको हुनाले जनताको आवश्यकता कसरी पूरा गर्न सकिन्छ त्यसको प्रयासमा लाग्छु ।

राज्यमन्त्री भएपछि यो–यो गर्छु भनि केही सोच्नु भएको छ कि ?
–एक नगरपालिकादेखि अर्को नागरिकपालिका, एक गाउँपालिकाबाट अर्को गाउँपालिका जान अधिकांश सडकको अवस्था राम्रो छैन । त्यसलाई सुधार गर्ने मेरो योजना छ । जहाँ पुल छैन, पुलको व्यवस्था गर्ने, जहाँ सडक छैन सडकको व्यवस्था गर्ने । अर्थात जनतालाई आवत जावतमा सहज पुर्याउने कर्तव्य राज्यको हो । र, त्यो गर्ने प्रयास म गर्छु ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com