अमेरिकाको चुनावमा अमेरिकन नेपाली : अभियानदेखि मतदानसम्म


प्रकाशित मिति : मंसिर २, २०७३ बिहीबार

-किशोर पन्थी

‘यसपटकको राष्ट्रपतीय चुनावमा मतदान गर्न म पहिलेदेखि नै उत्साहित थिएँ । किनभने मैले जीवनमा नै पहिलोपटक राष्ट्रीय चुनावमा मतदान गर्दै थिएँ ।’ न्युयोर्कको उडसाइड निवासी नेपाली अमेरिकन युवा लेखक राजन थपलियाले अमेरिकी राष्ट्रपतिको चुनावमा मतदानको अनुभव बताउँदै भने । चुनावी अभियान सुरु हुँदा देखि नै अत्यत्नै उत्साहित भएका उनले हरेक चुनावी परिघटनालाई अत्यन्तै नजिकबाट नियालिरहेका थिए ।

नेपालमा छँदा उनले कहिलेपनि मतदान गर्ने अवशर पाएनन् । नेपालमा चुनाव हुँदा उनी बालिग भइसकेका थिएनन्, जब उनी बालिग भए तब अमेरिका आए । जीवनमै पहिलोपटक विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति चुन्नमा आफ्नो मताधिकार प्रयोग गर्न पाएकोमा खुशी व्यक्त गर्छन् उनी । उनी भन्छन्– ‘मैले अमेरिकी नागरिकको हैसियतले अमेरिकामा प्राइमरी पछि राष्ट्रपतिकै चुनावमा भोट हाल्ने सौभाग्य प्राप्त गरे । ज्याक्सन हाइट्सको ७८ स्ट्रीटको एउटा स्कुलमा रहेको बुथमा गएर मतदान गर्दा अन्य अमेरिकी नागरिकले जस्तै मैले पनि नगारिकको हक र अधिकारको सदुपयोग गरेको अनुभव भयो ।’

14947544_363664833982098_7333483512415512261_n
राजन थपलिया

राजनमात्र होइन, अमेरिकामा रहेका अन्य नेपाली अमेरिकनहरुले पनि यसपटकको राष्ट्रपतीय चुनावमा उत्साहजनक रुपमा सहभागी भएर मतदान गरेका थिए । राजनीतिक अभियानदेखि मतदानसम्ममा नेपाली अमेरिकनहरुको सहभागिता पनि ऐतिहासिक रह्यो । अमेरिकामा बस्ने नेपालीहरुका सामाजिक सञ्जालहरुमा चुनावको प्रचारवाजीदेखि घम्साघम्सी पनि निकै चर्को थियो । अमेरिकामा रहेका अधिकांश नेपालीहरु डेमोक्रेटिक पार्टीका समर्थक भएपनि रिपब्लिकन समर्थक नेपालीहरुको पनि कमी थिएन । उम्मेदवारहरुले एकले अर्कालाई आलोचना गर्न कुनै कसर बाँकी नराखेजस्तै नेपालीहरुले पनि एकले अर्को उम्मेदवारका समर्थकको सामाजिक सञ्जालहरुमा प्रसस्तै आलोचना गरे ।

न्ययोर्क निवासी अर्का नेपाली अमेरिकन मिलन शाही पनि राष्ट्पतिको चुनावमा मतदान गर्न निकै उत्साहित थिए । नेपालमा हुँदा पनि मतदानमा सहभागी भइसकेका शाही अमेरिकी चुनावमा मतदानमा सहभागी हुँदाको अनुभव शेयर गर्दै भन्छन््– ‘अमेरिकाको चुनाव हेर्दा निकै गजब लाग्यो । अमेरिकामा निर्वाचन हुनुभन्दा अघि न बाटोमा पम्फ्लेट नै देखियो न बाटोमा जुलुस । न कुनै कार्यकर्ताले यसमा भोट हाल भनेर जबर्जस्ती नै गरे । बरु निर्वाचन आयोगबाट हरेक मत दातालाई निर्वाचन गर्ने स्थानका बारेमा जानकारी पठाएर सुसुचित गरिएको देखियो । त्यही अनुशार हामीपनि आफ्नो मतदानकेन्द्रमा पुगेर मतदान गर्यौं ।’

न्युयोर्कमा युवा सामाजिक व्यक्तित्वका रुपमा परिचय बनाएका शाहीले अगाडि भने – ‘चुनावको दिनमा पनि कुनै कार्यकर्ताको हल्ला, न फलानो उम्मेदवारलाई भोट दिनु भन्ने दवाब, न मैदानमा कागजी फोहोर, न भोज, न भतेर, न ठेलम ठेल्ला, एकछिन लाइनमा उभियो । भोट हाल्यो सकियो । यसरी नै नेपालमा पनि नेपाली जनताको अधिकार प्रयोग गरी कसैको बलजफ्ती र धनको रवाफमा नपरी देशको कार्यकारी प्रमुख चुन्ने दिन कहिले आउला ?’

मिलन शाही
मिलन शाही

त्यस्तै न्युयोर्क निवासी नेपाली अमेरिकन उपेन भट्टले भने अमेरिकी चुनावमा पहिलोपटक मतदान गर्दाजति उत्साहित यसपटक भने हुन नसकेको बताए । नेपालमा कहिले पनि मतदान नगरेका उपेनले अमेरिकामा मतदानमा भाग लिंदाको अनुभव बताउँदै भने – ‘नेपालमा हुँदा त मतदान गरेको अनुभव थिएन । तर अमेरिकामा मतदानको प्रकृया अत्यन्तै सरल थियो । उडसाइडमा रहेको मतदान केन्द्रमा गएँ । स्वयम्सेवकहरुले छिटो छरितो काम गरिरहेका थिए । ठेगाना सोधेपछि नाम हेरेर हस्ताक्षर गराएपछि भित्र पठाए । अनि आफूले मनपरेको उम्मेदवारलाई मतदान गरें । व्यवस्थीत भएको कारणले गर्दा मतदानका लागिभन्दै लामो समय लाइन पनि बस्नु परेन ।’

उपेनले राष्ट्रपतीय चुनावमा यसअगाडि पनि सन् २०१२ मा मतदान गरेका थिए । त्यतीबेला उनी निकै उत्साहित थिए । त्यतीबेलाको अनुभव बताउँदै उनी भन्छन् – ‘पहिलोपटक राष्ट्रिय चुनावमा मतदान गरेकाले पनि त्यतीबेला निकै उत्साहित थिएँ । त्यतीबेला मैले ओबामालाई मतदान गरेको थिएँ । तर यसपटक मैले समर्थन गरेका डेमोक्रेटिक उम्मेदवार बर्नी स्याण्डर्स प्राइमरीबाटै बाहिरिएकाले त्यती उत्साहित थिइन । तर पनि हिलारीलाई मतदान गरें । मजस्तै अरु मान्छेहरु पनि मन नलागी नलागी भोट हाल्न गएको देखेको थिएँ । तर म मतदान गर्न गएको ठाउँमा मैले केही महिलाहरुलाई भने निकै उत्साहित देखेको थिएँ ।’

14947926_10211734333500480_8908470042324176370_n

विगतका बर्षहरुको तुलनामा यसपटक नेपाली अमेरिकनहरु राष्ट्रपतीय चुनावमा बढ्दै सकृय र सहभागी भएको उपेनको अनुभव छ । उनी भन्छन् – ‘पहिलेको चुनावमा नेपाली अमेरिकनले त्यती चासो दिएको पाइएको थिएन । तर अहिले धेरै नेपालीहरु अमेरिकन नागरिक भइसकेकाले आफ्नो अधिकार प्रयोग गरेका थिए । यसपटक धेरै नेपालीले अमेरिकी नागरिकता लिएकाले नेपाली अमेरिकनमाझ पनि राष्ट्रपति चुनावको धेरै चर्चा भयो ।’

त्यस्तै राजन थपलियाको पनि अमेरिकी चुनावमा नेपाली अमेरिकनहरुको चासोयसपटक ऐतिहासिक नै रहेको अनुभव छ । उनी भन्छन् – ‘अरु बेला भन्दा यस पटक अमेरिकाको निर्वाचनमा नेपाली अमेरिकनहरुको उल्लेख्य चासो र सहभागिता देखियो । अमेरिकामा नेपाली आप्रबासीहरु दिनदिनै बढ्दै जाँदा चुनावमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्नु र अमेरिका मा आएर लामो समय सम्म बसोबास गरी अमेरिकन नगरिकको हैसियत मा भोट हाल्ने हैसियत राख्नु आफैमा गर्बको कुरा हो ।’

न्युयोर्कको क्वीन्सका धेरै मतदान केन्द्रहरुमा बाक्लै नेपालीहरु भेटिएको राजनको अनभव छ । उनी थप्छन् – ‘धेरै मतदान केन्द्रहरुमा नेपाली बोलिरहेका मतदाताहरु बाक्लै भेट्न सकिन्थ्यो । धेरै जसो डेमोक्रेटिक उम्मेदवार हिलारीको पक्षमा रहेपनि भने केहि रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षमा पनि थिए । जसले जसलाई समर्थन गरेपनि मुलकुरा अब नेपाली अमेरिकनहरु अमेरिकी राजनीतिमा आउनुपर्छ ।’

मतदानपछि न्युयोर्क निवासी अभिनव अधिकारी र सुस्मिता कँडेल ।
मतदानपछि न्युयोर्क निवासी अभिनव अधिकारी र सुस्मिता कँडेल ।

अमेरिकामा रहेका नेपाली अमेरिकनहरु अमेरिकी राजनीतिप्रति चासो राख्दै अमेरिकी राजनीतिमा अगाडि बढ्नुपर्नेमा मिलन शाहीको पनि समर्थन छ । त्यसैले अमेरिकी नागरिकता लिएपछि नै उनी रजिस्टर्ड डेमोक्रेट रहेका थिए । सन् २०१२ को चुनावमा ओबामालाई भोट हालेका उनले यसपटक भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई मतदान गरे । दुईवटा चुनावको अनुभव बताउँदै उनी भन्छन् – ‘ म र मेरी श्रीमती अमेरिकी नागरिक भैसकेपछि रजिस्टर्ड डेमोक्र्याट बन्यौं । ओबामाको दोस्रो कार्यकालका भोट पनि उनैलाई हाल्यौं । तर उनले आशागरे अनुरुप काम गरेनन् । त्यसैले यसपटक रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई भोट हाल्दै आफ्नो हक र स्वतन्त्रताको प्रयोग गरियो । साथीभाइहरुबाट आलोचना खेप्दै र नकारात्मक टिप्पणीको बोझ झेलेर पनि ट्रम्पलाई भोट हालियो । आशा छ उनले देश र जनताका पक्षमा कार्य गर्दै देशको आर्थिक र सामाजिक बिकाशका साथ साथै देश र जनताको सुरक्षाको लागि पनि काम गर्नेछन । अनि हामी जस्ता अप्रवासीहरुको हितका लागि सुधार ल्याउने छन् ।’

मतदानपछि न्युजर्सी निवासी खगेन्द्र जीसी र रेखा हमाल ।
मतदानपछि न्युजर्सी निवासी खगेन्द्र जीसी र रेखा हमाल ।

मतदान नगर्ने नेपालीको पनि चासो

अमेरिकी संचारमाध्यमहरु लगायत विश्वलाई नै चकित पार्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा ब्यापारिक जगतका टाइकुन डोनाल्ड ट्रम्प विजयी भए । अमेरिकी इतिहासमा नै कर्पोरेट अफिसबाट ओभल अफिसमा सिधा जाने एकमात्र ब्यापारी बन्ने इतिहास रच्दै ट्रम्पले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पछार्दै अप्रत्याशित विजय हासिल गरे । अमेरिकी राजनीतिमा आफ्नो डेढदशक भन्दा लामो समय बिताएकी र अहिलेसम्मकै अमेरिकी इतिहासमा सबैभन्दा धेरै तयारी गरेर राष्ट्रपतिमा उठेकी हिलारीलाई बिना राजनीति सिधा ब्यापारबाट आएका ट्रम्पले पछारेका छन् ।

चुनावमा भाग लिने नेपाली अमेरिकनहरुमात्र होइन, चुनावमा भाग नलिने नेपालीहरुले पनि राष्ट्रपतिको चुनावलाई विशेष चासो र महत्वका साथ हेरेका थिए । उम्मेदवारहरुका एजेण्डाका कारण उनीहरुले आफ्नो मन परेको उम्मेदवारका पक्षमा प्रचारबाजी गर्न र सामाजिक संजालहरुमा वकालत गर्न भने बाँकी राखेनन् । रोचक कुरा त के भने अमेरिकाको नागरिकता प्राप्त नगरेका तर अमेरिकामा नै बसोबास गर्ने आप्रवासी नेपालीहरुमध्ये कतिपय ट्रम्पका समर्थक थिए । अमेरिकामा रहेका नेपालीहरुमात्र होइन, नेपालमै रहेका नेपालहरुले पनि अत्यन्तै चासोका साथ चुनावलाई हेरेका थिए ।’

अमेरिकी राष्ट्रपतिको चुनावमा विश्वको नै नजर रहेको थियो । चुनावको दिनमा विश्वभरकै मान्छेहरुले यसलाई रोचकताका साथ हेरे । अमेरिकाको राजनीति र परराष्ट्रनीतिले विश्वमा नै असर पार्ने भएकाले पनि विश्वभरबाट चुनावलाई विशेष चासोका साथ हेरिएको हो । वल्र्डकप हेरेजस्तै रातरातभर बसेर पनि अमेरिकी चुनावको अपडेट लिइरहेका थिए विश्वभरका नेपालीहरुले । काठमाडौं निवासी नेपालका चर्चित पत्रकार शुभशंकर कँडेल भन्छन् – ‘राती अबेरसम्म बसेर चुनावी अपडेट हेरिरहेको थिएँ । चुनावी परिणाम आउन समय लाग्ने देखिएपछि केहीबेर सुतेर विहानै उठेर चुनावी अपडेट हेरें ।’

मेडिकल साइन्सका विद्यार्थी काठमाडौं निवासी डाक्टर सुधन पन्थीले पनि राती अबेरसम्म चुनावी अपडेट हेरेको र केहीबेर सुतेपछि उठेर अन्तिम परिणाम नआउँदासम्म सञ्चारमाध्यमहरुमा नजर राखेको अनुभव सुनाए । उनी भन्छन् –‘दुईवटा ल्यापलप र मोबाइल खोलेर फरक फरक संचारमाध्यमबाट चुनावी अपडेटहरु लिइरहेको थिएँ । फरक फरक संचारमाध्यमको चुनावको समाचार कभर गर्ने शैली पनि फरक थियो । यसपटकको अमेरिकी चुनाव वल्र्डकपजस्तै रोचक लाग्यो ।’

अमेरिकी चुनावबारे नेपालका एक पत्रकार कुसुम भट्टराई भने फेसबुकमा लेख्छन् –‘भैंसीले पाडो पाएपनि बेउती । पाडीपाएपनि बेउती ।’

मतदानमा सहभागी हुँद्र खसोखास सम्पादक भुपेन्द्र थापा ।
मतदानमा सहभागी हुँद्र खसोखास सम्पादक भुपेन्द्र थापा ।

चुनावी अभियानमा सहभागिता

अमेरिकाको राष्ट्रपतिको चुनावी प्रचास र अभियानमा पनि नेपाली अमेरिकनहरुको यसपटक उल्लेख्य सहभागिता रहेको थियो । न्युयोर्कदेखि क्यालिफोर्नियासम्मका नेपालीहरु आफूलाई मन परेका उम्मेदवारका चुनावी कार्यक्रमहरुमा सहभागी भएका थिए ।
डेमोक्र्याट र रिपब्लिकन दुवै दलका चुनावी गतिविधिमा नेपालीहरुको सहभागिता थियो ।

अमेरिकाको पूर्वी तटीय शहर फिलाडेल्फियामा राष्ट्रपति पदका लागि डेमोक्र्याट दलकी उम्मेदवार हिलरी क्लिन्टनको पक्षमा चुनावी मत जुटाउन एसियन प्यासिफिक अमेरिकीहरुले आयोजना गरेको भेलामा कैयन नेपालीहरु सहभागी भए । भर्जिनिया, डिसी, र मेरिल्याण्डबाट उक्त भेलामा सहभागी हुन पुगेका नेपालीहरुको संख्या त्यो भेलाका अन्य सहभागीहरुको तुलनामा उल्लेख्य थियो ।

यसपटकको चुनावी अभियान अमेरिकाको १६ राज्यका नेपाली समुदाय सक्रिय रहेको ‘नेपाली फर हिलरी’ अभियानका संयोजन गरिरहेका मेरिल्याण्डको स्थानीय राजनीतिमा डेमोक्र्याट दलबाट सक्रिय एच बी भण्डारीले बताए । डेमोक्र्याट समर्थकहरु जस्तै रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा पनि नेपालीहरु सक्रिय थिए तर संख्या र गतिविधिका हिसाबले अलि कम ।

चुनावी अभियानमा सकृय ह्यारी भण्डारी ।
चुनावी अभियानमा सकृय ह्यारी भण्डारी ।

मतदानका लागि योग्य नेपालीहरु

अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको ९कतिपय राज्यमा १७ बर्ष ० अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग २६ हजारको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरु २६ हजारको हाराहारीमा रहेका छन्, जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन । चुनाव भन्नासाथ अत्याधिक चासोका साथ हेर्ने नेपालीहरु अमेरिकी राष्ट्रपतीय चुनावमा पनि सकृय रुपमा सहभागी हुँदैछन् ।

सुरुदेखि सन् २०१४ सम्मको तथ्यांक हेर्दा अमेरिकी चुनावमा मताधिकारसहित २१ हजार १ सय ७४ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । २६ हजारको हाराहारीमा रहेका नेपालीहरु र अमेरिकामा जन्मेर १८ बर्ष पुरा गरिसकेका नेपालीहरुको संख्यालाई समेत जोड्ने हो भने अमेरिकी चुनावमा मतदाताका रुपमा भाग लिन योग्य नेपाली मुलका अमेरिकनहरुको संख्या यो भन्दा पनि धेरै हुन आउँछ ।

न्युयोर्कमा मतदानमा सहभागी एक नेपाली ।
न्युयोर्कमा मतदानमा सहभागी एक नेपाली ।

पहिलेका चुनावमा रहरले भोटहालेपनि यसपटक एजेण्डाका कारण भोट हाल्यौं

श्री पराजुली

shree

यसपटकको अमेरिकी राष्ट्रपतिको चुनावमा नेपालीहरुको सहभागिता कस्तो रह्यो ?

यसपटक हरेक राज्यमा बस्ने नेपालीहरुले अमेरिकाको राष्ट्रपतिको चुनावमा निकै चासो देखाए । सकृयतापूर्वक प्रचारप्रसार अभियानमा लागे । मतदानमा पनि नेपाली अमेरिकनको धेरै राम्रो सहभागिता रह्यो । अगाडिका चुनावमा भन्दा यसपटक नेपाली अमेरिकनहरुको सहभागिता र सकृयता निकै प्रभावकारी थियो ।

यसअगाडिका चुनावमा भन्दा यसपटकको राष्ट्रपतिको चुनावमा नेपाली अमेरिकनको सकृयता बढ्नुको कारण के होला ?

अहिले नेपाली अमेरिकनहरुको संख्या धेरै बढेको छ । त्यो नै पहिलो कारण हो । सामाजिक सञ्जालको ब्यापकताले पनि यसपटक चुनावी सकृयता धेरै देखियो । सामाजिक सञ्जाल र संचारमाध्यमका कारणले पनि नेपालीको सहभागिता चर्चामा आयो । राष्ट्रपति पदका दुबै उम्मेदवार यसपटक गज्जब खालका रहेकाले नेपालीमात्र नभई विश्वभरका व्यक्ति र अमेरिकाभित्र रहेकाहरुले पनि चासोका साथ हेरे । आफ्ना पक्षमा उम्मेदवारलाई जिताउनै पर्ने र विपक्षका लागि हराउनैपर्ने हिसाबले मान्छेहरु अगाडि आए । श्वेत साम्राज्य चाहने स्थानीय अमेरिकनहरु विगतका चुनावमा उदासिन रहेपनि यसपटक ट्रम्पलाई जिताउन अत्यन्तै सकृय भए । श्वेत साम्राज्यका पक्षधरहरु ट्रम्पलाई जिताउन र हिलारीलाई हराउन ज्यान फालेर लागेभने आप्रवासीहरु पनि त्यसरी नै हिलारीलाई जिताउने र ट्रम्पलाई हराउने तरिकाले लागे ।

यसपटक नेपाली अमेरिकनहरुको सहभागिता मुलधारको राजनीतिमा प्रभाव पार्ने गरी वा मुख्य दललाई नोटिस हुनेगरी नै भएको हो ?

मेरिल्याण्डका ह्यारी भण्डारी लगायतका केही नेपालीहरु अमेरिकनहरु विशेष रुपमा लाग्नुभयो । यस्ता कैयन अभियानहरु भए । चुनावमा हरेक भोटको महत्व हुनेभएकाले नेपाली भोटको पनि महत्व त हुन्छ नै । तर नेपालीहरुको संख्या न्यून भएकाले नेपालीको महत्व र सहभागिता अमेरिकी मुलधारको राजनीतिमा खास छैन । सामाजिक सञ्जालमा अमेरिकन नेपालीहरु उफ्रन पर्ने कुरामा पनि उफ्रेका छौं, उफ्रन नपर्ने कुरामा पनि उफ्रेका छौं । तर त्यसको प्रभाव मुलधारको राजनीतिमा छँदैछैन भन्दा पनि हुन्छ । डेमोक्रेटिक वा रिपब्लिकन दुबै पार्टीमा त्यसको प्रभाव शुन्यप्राय छ । नेपाली अमेरिकनहरु चुनावमा अत्याधिक चुनावमा लागे । हिलारीको पक्षमा पनि अत्याधिक लागे । तर हिलारीको हेडक्याटरमा पनि नेपालीको उफरपाफरको खास महत्व देखिन्न ।

अमेरिकी चुनावमा सहभागी हुँदाको तपाईको व्यक्तिगत अनुभव कस्तो छ ?

अमेरिकी राष्ट्रपतिको चुनावमा मैले अहिलेसम्म तीनपटक मतदान गरें । २००८, २०१२ र अहिले गरी तीनपटक मतदान गरें । दुईपटक मैले ओबामालाई हालें, उनले जिते । तर यसपटक मैले मतदान गरेकी हिलारीले भने चुनाव जितिनन् । पहिले अमेरिकन नागरिक भएको हिसाबले रहरले मतदान गरेको थिएँ, तर यसपटक एजेण्डाका कारणले भोट हाल्नैपर्छ भनेर मतदानका लागि गएँ । एउटा मतको पनि महत्व रहन्छ भन्ने हिसाबले भोट हालियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com