पोखरामा बाबुको किरिया बस्न छोरीलाई सकस


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

संविधानमा महिला र पुरुष समान रहे पनि नेपाली समाजको परम्परागत सोचका कारण पोखरामा बाबुको किरिया बस्न छोरीलाई सकस परेको छ ।पोखरा महानगरपालिका कास्कीकोट घर भई पोखरा ६ बैदाम बस्दै आएका पर्यटन व्यवसायी मधु सुवेदीको शुक्रबार राति कार दुर्घटनामा परी निधन भयो । ६ र १६ वर्षका दुई छोरीका बाबु मधुले मृत्युअघि परिवार र साथीभाइसँग कुरा गर्दा छोराछोरी बराबर भएकोले आफ्नो मृत्युपछि छोरीले नै किरिया बस्ने भएकोले छोराको चाहना नभएको बताउँदै आएको मधुका साथी लेखनाथ अधिकारीले सुनाए ।

१६ वर्षीया छोरी ममताले बाबाको मृत्यु भएपछि शनिबार पोखराको रामघाटमा दाहासंस्कार गर्दा काकासँगै दागबत्ती दिइन् । दागबत्ती दिएर छोरी ममता आमा लक्ष्मीसँगै किरियामा बसिन् र भाइ हरि छुट्टै कोठामा दाइको किरियामा बसेका छन् ।

आइतबार बिहान १३ दिनसम्म गरिने किरियाकर्म गर्न पँधेरा जाने क्रममा छोरी ममता पनि छोरासरह किरिया कर्म गर्न अघि सरेपछि आफन्त र पण्डितले छोरीलाई रोकेका छन् । पँधेरोमा गएर स्नान गरी नजिकै पूजा गर्ने थलोमा काकासँगै बसेर डिकुरोमा पूजा गर्ने चाहना राखेपछि पण्डित र आफन्तले काका किरिया बसेपछि छोरा, छोरीले गर्ने विधि काकाले गर्ने भएकोले छोरीले काकासँगै बसेर डिकुरोमा पूजा गर्न नहुने भन्दै ममतालाई रोकेका हुन् ।

काका किरिया बसेर डिकुरोमा पूजा गर्ने भएपछि काकासँगै बसेर डिकुरोमा पूजा गर्न नहुने परम्परादेखि कै मान्यता भएकोले ममतालाई शास्त्रअनुसार सम्झाएको पण्डित नन्दराम अधिकारीले पत्रकारसँग बताए । पहिले नै छोरी मात्र बसेको भए यो समस्या नआउने उनले सुनाए । ममताका काका खेमराजले पण्डितको भनाइअनुसार शास्त्र र चलनभन्दा बाहिर गएर काम गर्न नमिल्ने बताए ।

मधुकी पत्नी लक्ष्मीले परम्परादेखि नै चल्दै आएको चलनका कारण छोरासरह छोरीले बुवाको किरियामा सहभागी हुनबाट वञ्चित भएको सुनाइन् । छोरीलाई आफ्नो बुवाको किरिया बस्ने र छोरासरह विधि पूरा गर्ने चाहना हुँदाहुँदै रोक्नु अन्याय भएको पोखरा महानगरपालिका–६ की वडासदस्य पुष्पापहारी घलेले बताइन् । पितृसतात्मक सोचका कारण छोरीको चाहनालाई कुण्ठित पारिएको उनले सुनाइन् । गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशकी प्रमुख बीना सिलवालले छोरीलाई किरिया बस्न नदिएर महिला र मानवअधिकारविपरीत काम भएको बताइन् ।

शास्त्रमा किरिया जसको जो बसे पनि हुने गरी व्याख्या गरेको पण्डित एकप्रसाद लम्सालले बताए । मृत्युपछि किरिया लोप गर्न नहुने मात्र भनिएको छ । त्यसै भएर क्रिया जसको जो बसे पनि हुन्छ । छोरा नै वा छोरीले नै गर्नुपर्छ भनेर शास्त्रमा व्याख्या नभएको उनले सुनाए । काका किरिया बसेपछि छोरीले पनि डिकुरोमा काकासँगै पिण्ड दिन भने नमिल्ने पण्डित लम्सालले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com