भारतमा गयो भूईचालो : नेपालले ‘शक्ति राष्ट्र’ का सेनासँग संयुक्त सैनिक अभ्यास बढायो


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

विश्व शक्तिराष्ट्र भारत र अमेरिकापछि नेपाली सेनाले चीनसँग संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिएको छ । नेपालमा ३–१२ बैशाख (२०७४) मा भएको संयुक्त सैन्य तालिमले आगामी १–१२ असोजमा चीनमा निरन्तरता पाउँदैछ। तालिमका लागि नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ सैनिक अधिकारी र जवान चीन जानेछन्। चीनको छेन्दुमा आयोजना हुने तालिमको सुपरिवेक्षकका रुपमा उपरथीको नेतृत्वमा टोली पनि चीन जानेछ।

‘फ्रेन्डसिप सगरमाथा’ नाम दिइएको तालिम प्रतिआतंकबाद, प्रतिरक्षा, युद्वकार्य र विपत् व्यवस्थापनमा केन्द्रित हुनेछ। सैनिक सहप्रवक्ता महासेनानी विजय थापाले चीनसँगको संयुक्त सैन्य तालिमको मिति, स्थान र संख्या यकिन भएपनि सहभागी अधिकारीको नाम आईनसकेको बताए। ‘संयुक्त सैन्य तालिम भनेपनि एकप्रकारको सैन्य अभ्यास नै हो’ उनले भने, ‘हामी तालिममा हुने सहभागीहरुको छनोटको चरणमा नै छौँ।’

भारत र अमेरिकापछि चीन
सैनिक शक्तिका हिसाबले विश्वमा अमेरिका पहिलो, चीन तेस्रो र भारत चौँथो नम्बरमा छ। ग्लोबल फायर आर्मको सूचीमा एकसय १ औँ नम्बर सूचीमा रहेपनि नेपालले यी तीनै शक्तिराष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। नेपालको परम्परागत सम्बन्ध र भू(राजनीतिका कारण नेपाललाई विश्व शक्तिराष्ट्रले महत्व दिँदै आएका छन्। भूराजनीतिले सिर्जना गरेको यही अनुकूल अवस्थालाई सैनिक कुटनीतिको माध्यमबाट नेपाली सेनाले थप बलियो बनाउँदैछ।

ब्यालेन्स नेल सैनिक अभ्यास

नेपालले अमेरिकासँग ‘ब्यालेन्स नेल’ र ‘ब्यालेन्स टेल’ नाममा संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। छिमेकी भारतसँग चाहिँ ‘अभ्यास सूर्यकिरण’ प्रत्येक ६ महिनामा हुँदै आएको छ, जुन पालैपालो नेपाल र भारतमा हुने गर्छ।

चीनसँग रोक्न खोजियो
नेपाल र भारतका ६ सय सैन्य अधिकारी र जवान गत १६-२९ जेठमा भएको संयुक्त सैन्य अभ्यासमा सहभागी भए। नेपालबाट प्रमुख सेनानीको कमाण्डमा भारत गएको टोलीमा महिला सैनिकको एउटा सेक्सन समेत सहभागी थियो। भारतको पिथौरागढमा भएको यो संयुक्त सैन्य अभ्यास सूर्य किरणको १३ औँ संस्करण थियो। नेपाल-भारतबीच बिगत ८ बर्षदेखि नियमित रुपमा भइरहेको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा वर्षेनी सहभागी सैनिकहरुको संख्यामा बढोत्तरी समेत हुँदै गएको छ। अभ्यास समेत फरक-फरक स्थानमा हुने गरेको छ। दुबै देशका सञ्चारमाध्यम र बिज्ञहरुले यो अभ्यासको प्रशंसा गर्दै आएकापनि छन्।

आन्तरिक द्वन्द्व र आतंकबाद बिरुद्ध लडिरहेको भारतसँग नेपालले उसको उत्तर-पूर्वी राज्य मिजोरममा २०६७ मा पहिलो सैन्य अभ्यास गरेको थियो। मिजोरम भारतको बिद्रोह प्रभावित राज्यपनि हो। त्यसयता यस्तो अभ्यास आलोपालो रुपमा दुबै देशमा हुँदै आएको छ। र, यो अभ्यासलाई नेपाल(भारत सैनिक सम्बन्धको महत्वपूर्ण कडीका रुपमा लिइँदै आएको छ।

भारतसँगको अभ्यास सूर्यकिरण

भारतसँग भन्दा अघि नै नेपाली सेनाले संयुक्त राज्य अमेरिकाको सेनासँग संयुक्त सैनिक अभ्यास गर्दै आएको थियो, जसलाई ‘ब्यालेन्स नेल’ र ‘ब्यालेन्स टेल’ नाम दिइएको थियो। यो अभ्यास अन्तर्गत अमेरिकी सेनाले अत्याधुनिक उपकरण नेपालमा ल्याएर नेपाली सेनालाई त्यस बिषयमा जानकारी गराउने गर्छ। रेञ्जर गणसँग हुने यी अभ्यास विश्व आतंकबादसँग कसरी लड्ने र कसरी सामना गर्ने बिषयमा केन्द्रित हुने गरेका छन्।

तर, भारत र अमेरिकासँग जस्तै संयुक्त सैन्य अभ्यास गर्न जति सहज छ, त्यति सहज चीनसँग गर्दा छैन। चीनसँग गर्दा भूराजनीतिक चासो जोडिने स्थिति छ। र, यही कारण चीनसँग हुने सैन्य अभ्यासलाई रोक्न अनेक चलखेल हुने गरेको छ। सैन्य मामिलाका जानकारसमेत रहेका प्रतिनिधि सभाका सदस्य दीपकप्रकाश भट्टका भनाईमा, भारत र अमेरिकासँग नेपालको सम्बन्ध थियो, उनीहरुसँग सैन्य सहयोगको इतिहासपनि पुरानै हो, यही कारण उनी ९अमेरिका र भारत० सँग हुने संयुक्त अभ्यासलाई सामान्य रुपमा लिने स्थिति बन्यो। दक्षिण एसियामा पहिलो पटक खुलेर नेपालसँग सैन्य अभ्यासका लागि अघि सरेका कारण चीनको यो प्रयासलाई कतिपयले असामान्य रुपमा लिएका हुन्।

चीन सेनाको माध्यमबाट विपत व्यवस्थापन र मानवीय सहयोगको झण्डा अघि सारेर आएकाले केही आशंका जन्मिएको हुनसक्ने बताउँदै सांसद भट्टले भने, ‘अहिले सानो स्तरमा भएपनि सुरुवात र निरन्तरता महत्वपूर्ण हुन्छ। साथै, हाम्रो सेनाको तयारी कस्तो छ र उसले कसरी तयारी गर्छ भन्ने बिषयपनि उत्तिकै महत्वपूर्ण छ।’ उनले चीनसँग सुरु भएको सैनिक अभ्यासको मात्रा बिस्तारै बढ्दै जाने विश्लेषणपनि गरे।

भारतीय दबाब
नेपाल-चीनबीच गतवर्ष संयुक्त सैन्य अभ्यासकै तयारी गरिएपनि अन्तिममा त्यसलाई ‘संयुक्त सैनिक तालिम’ मा रुपान्तरण गरिएको थियो। ‘सैन्य अभ्यास’ लाई सैनिक तालिमको स्तरमा झारिनुमा भारतीय दबाबले भूमिका खेलेको थियो। नत्र दुबै देशका सेनाले आ-आफ्नो तर्फबाट एउटा सैनिक गण (झण्डै १ हजार सैनिक) को सहभागितामा करिब एक महिना लामो अभ्यासको तयारी गरेका थिए। तर, त्यसलाई संयुक्त सैनिक तालिममा झारिएपछि तालिमको अवधिपनि छोट्ट्याइयो र १० दिने तालिममा परिणत गरियो।

९ चैत्र २०७३ मा नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री चाङ वान क्वानकै भ्रमण अवधिमा नेपाली तथा चिनिया सेनाबीच संयुक्त सैन्य अभ्यासको मिति तय भएको थियो। उच्च सैन्य अधिकारीका अनुसार महाभूकम्पमा मानवीय उद्दार र सहयोगमा आएको चिनियाँ सैनिक टोलीले नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासका लागि औपचारिक चासो राखेको थियो।

तर यो निर्णयसँगै भारतले तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास रद्द गर्न बारम्बार दवाब दिन थाल्यो। र, परिणाम, संयुक्त सैनिक अभ्यास ‘सैनिक तालिम’ मा परिणत भयो। सहभागी सैनिकहरुको संख्यामा भारी मात्रामा कटौति गरियो। त्यतिबेला चिनिया सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’ ले खुलेरै लेखेको थियो, ‘भारतीय दबाबमा गण स्तरीय संयुक्त सैन्य अभ्यास सानो तालिममा परिणत भएको हो।’ नेपाल खबरमा दिपक खरेलले लेखेको लेख साभार गरिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com