क्यानडा बस्ने सुदर्शन गौतम मानव तस्करीका नायिके ! पक्राउ गर्न इन्टरपोललाई पत्राचार


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके सुदर्शन गौतम रहेको नेपाल प्रहरीले दावी गरेको छ । क्यानडा बस्दै आएका गौतम अमेरिकामा समेत रेष्टुरेण्ट व्यवसायमा संलग्न रहदै आएका थिए । उनको समेत लगानीमा न्युयोर्कको सन्नीसाइडमा रेष्टुरेण्ट संचालनमा रहेको थियो ।

अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिदै आएका उनीबिरुद्ध उजुरी परेपछि नेपाल प्रहरीले अनुसन्धान थालेको थियो । २ वर्षअघि गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटी लगेको अनुसन्धानमा देखिएको छ । फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको जनाइएको छ ।

हाइटीहुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका लैजाने उनीहरुको योजना रहेको तर उनीहरु चढेको डुंगा समुद्री छालको बहावसँग बग्दै बहामास पुगेपछी त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिएका थिए । त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरु आफन्तलाई सम्पर्क गरी नेपाल फर्किएका हुन् ।

उनीहरुले गरेको उजुरीकै आधारमा प्रहरीले बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो । अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरि उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरेको छ ।

पीडितहरुले गौतमलाई पैसा दिएको प्रमाण समेत भेटिएको छ । गौतमले पीडित युवतीसँग ६० लाख रुपैयाँसम्म लिएका थिए । दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा आएका थिए । त्यसपछि उनले ‘हिम्मतवाली’ नामक फिल्ममा समेत अभिनय गरेका थिए । सो फिल्मबाट उनको थप चर्चा भएको थियो ।गौतमलाई पक्राउ गर्न भने प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको छ ।

यो समाचार विस्तृतमा मेरो फिल्म डटकममा हेर्न सक्नुहुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com