यस कारणले गर्दा राजीनामा दिए कानुनमन्त्री तामाङले !


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो एउटा सार्वजनिक मन्तव्यका कारण विवाद बढेपछि पदबाट राजीनामा दिएका छन्।

केही दिनअघि उनले चिकित्साशास्त्र अध्ययन गर्न बाङ्ग्लादेश गएका नेपाली छात्राहरूले ‘प्रमाणपत्र हात पार्न आफ्नो अस्मिता बेच्न बाध्य हुनु परेको’ भन्ने आशय व्यक्त गर्दै सार्वजनिक टिप्पणी गरेका थिए।

त्यसको व्यापक आलोचना भएपछि उनले आइतवार क्षमायाचना पनि गरेका थिए।

मङ्गलवार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूले सो विषयमा बोलेको तर त्यसलाई अतिरञ्जित पारी षड्यन्त्रमूलक समाचारहरू सम्प्रेषित गरिएको दाबी पनि गरेका छन्।

आफूविरुद्ध गरिएका आलोचनात्मक टिप्पणी र प्रकाशित समाचारहरूलाई व्यक्तिगतभन्दा पनि सरकारविरुद्धको आक्रमणको रूपमा प्रस्तुत गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिने घोषणा गरेका हुन्।

के भने तामाङले?

सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरूका अगाडि लिखित विज्ञप्ति पढ्दै उनले भने, “पछिल्लो समय मैले एउटा सामाजिक कार्यक्रममा बोल्ने क्रममा बाङ्ग्लादेशमा चिकित्साशिक्षा अध्ययनरत र अध्ययन गरी फर्केका विद्यार्थीहरूप्रति, विशेष गरी महिलाको विषयमा विवादमा तानिने कार्य भएको छ।”

“बाङ्ग्लादेशमा चिकित्साशिक्षा पढ्ने हाम्रा केही छोरीहरू हिंसामा परेको कुरा सुनेपछि म आफै स्तब्ध भई बोल्ने क्रममा त्यो कुरा मैले बोलेकै हुँ। हिंसा भएको छैन भनेर हामी कसरी समाधान गर्न सक्छौँ? प्रश्न उठेको हो। मैले बोलेको विषयलाई लिएर बोलेका पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर बीचको भागमात्रै पोस्ट गर्दै, अझ बढाइचढाई र अतिरञ्जित पार्दै मेरा बारेमा गलत र षड्यन्त्रमूलक समाचारहरू आएको पाउँदा म अतिदु:खित छु।”

“यी कुराहरू देख्दा ममाथि भन्दा पनि मैले चालेका कदमहरू – भ्रष्टाचार उन्मूलन गर्ने अभियान, न्यायक्षेत्रको पारदर्शिता, सार्वजनिक निकाय र सार्वजनिक व्यक्तिको पारदर्शिताको मुद्दा र दातृनिकायबाट नेपालमा आउने पैसा सरकारको एउटै द्वारबाट मात्र कानुनमा व्यवस्था गरेर आउनुपर्छ भन्ने कुराहरू जुन राष्ट्रका लागि अतिअपरिहार्य र आवश्यकता हो – त्यसमाथिको प्रहार हो भन्ने मलाई लागेको छ।”

“तर पनि सामाजिक रूपमा यति कुरा उठिसकेपछि, वर्तमान प्रधानमन्त्री एवम् सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारामार्फत् देश विकासको पूर्वाधार खडा गरिरहेको अवस्थामा सरकारकै असफलताका रूपमा जोडेर, अतिरञ्जित नाराहरू लगाउने कार्यहरू भइरहेकाले प्रधानमन्त्री र सरकारलाई सफल बनाउन, निहित स्वार्थ बोकेकाहरूलाई परास्त गर्न म मेरो पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकोले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भनिठानी नैतिकताको आधारमा सम्माननीय प्रधानमन्त्रीजीसमक्ष राजीनामा पेस गर्न गइरहेको छु।”

किन भयो विवाद?
चिकित्सा शिक्षामा सुधार हुनुपर्ने माग राख्दै डा. गोविन्द केसी १५ औँ चोटि अनसनमा बसिरहेका छन्।

सरकारी पक्ष र उसका समर्थकहरूले डा. केसीका मागका अव्यावहारिक भएका र ती पूरा गरिए धेरै नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र अध्ययन गर्न विदेशिनु पर्ने हुन्छ भन्ने खालका तर्क गरेका छन्।

केही समयअघि सत्तापक्षसँग नजिक मानिएका र एमबीबीएसको अध्यापन गर्न प्रस्तावित एउटा निजी मेडिकल कलेजका सञ्चालकले डा. केसीको आलोचना गर्दै बाङ्ग्लादेशमा पढ्न गएका नेपाली छात्राहरूबारे मन्त्री तामाङकै जस्तो टिप्पणी गरेका थिए।

यी दुवै प्रसङ्गलाई चिकित्साशिक्षाबारे जारी विवादसँग जोडेर हेरिएको छ।

मन्त्रीजस्तो उत्तरदायी पद धारण गरेको व्यक्तिबाट भएको त्यस्तो विनाप्रमाण गरिएको टिप्पणीले छात्राहरूको अपमान भएको भन्ने प्रतिक्रिया छात्रछात्रा, उनीहरूको परिवार, अधिकारकर्मी र अन्यबाट भएको छ।

महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूले पनि यसको भर्त्सना गर्दै विज्ञप्ति निकालेका छन्।

सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा उनको टिप्पणी अक्षम्य भएको र उनलाई पदमुक्त गरिनुपर्ने माग गरिएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com