चीन र भारतबाट आउने रेलमा मिनिरल वाटर भरेर पठाऔं: प्रधानमन्त्री


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकबाट आउने रेलमा मिनिरल वाटर भरेर पठाउने योजना सुनाएका छन् । बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा सम्वोधन गर्दै उनले रेल र नदीको बाटो भएर पानी जहाज ल्याएरै छाड्ने बताए ।

रक्सौल-काठमाडौं रेलको अध्ययन भइरहेको उनले बताए । पूर्व-पश्चिम रेल पनि चलाउन धेरै सजिलो रहेको भन्दै उनले भने, ‘अरु देशले रेल चलाएका छन् । हामीले रेल ल्याउँछौं भन्न पनि नहुने ? नेपालमा रेल आउँछ-आउँछ ।’

छिमेकी देशबाट आउने रेलमा के भरेर पठाउने भनेर प्रश्न उठेको भन्दै प्रधानमन्त्री ओलीले पानी मात्रै पठाउन सके धेरै फाइदा हुने बताए । ‘हिमालको हिँउ पग्लेर पहराबाट छिर्दै निस्केको यहाँको जस्तो पानी कतै पनि छैन । यत्तिकै छानेर मिनिरल वाटर पिउन सकिन्छ’ ओलीले भने, ‘रेल आउँछ अनि यहाँको पानी पठाउनुस् ।’

उनले पहराबाट मिनिरलसहित पानी आउने बताउँदै संसारमा कतै पनि यस्तो पानी नपाइने दाबी गरे ।

तुइनको शत्रु हुँ

प्रधानमन्त्री ओलीले आफूलाई तुइनको शत्रुका रुपमा चित्रित गरे । पहिले नै देशलाई तुइनमुक्त गर्नेेजना भए पनि केही अझै बाँकी रहेको उनको भनाइ थियो । ४७ वटा तुइन बिस्तापित हुने क्रममा रहेको उनले जानकारी दिए ।

प्राविधिक हिसाबले एक सय जति तुइन हटाएर अरु संरचना बनाउन नमिल्ने खालका देखिएको बताउँदै ओलीले बरु केबल राख्ने तुइन चाहिँ हटाएरै छोड्ने प्रतिवद्धता जनाए । ‘तुइनको डोरी टाँग्न मिल्ने अरु नमिल्ने भन्ने त नहोला । त्यस्तो ठाउँमा बरु केबलकार चलाइन्छ, तुइन हटाइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा तुइन पनि थियो रे, मान्छेहरु डोरीमा झन्डिएर नदी तर्थे रे भन्ने दिन आउन अब टाडा छैन ।’

प्रधानमन्त्री ओलीले नेपालमै स्तरीय चिकित्सा शिक्षा नहुँदा बर्सेनी ४ सय विद्यार्थी नेपालमा नाम निकालेर बाहिरी देशमा जाने गरेको बताए । ‘५० लाखका दरले ४ सय जनाले बाहिर खर्च गर्दा कति पैसा गयो बिचार गर्नुस्’ नेपालमा गुणस्तरीय स्वास्थ्य शिक्षाको आवश्यकता रहेको भन्दै उनले भनेका छन् ।

सानातिना कुरामा अल्झिने बेला छैन

सरकारले समृद्धि ल्याएरै छोड्ने बताउँदै प्रधानमन्त्री ओलीले सानातिना कुरामा अल्भिmएर बस्ने बेला नभएको बताए । ‘हामी विकास गर्न सक्छौं र गरेरै छोड्छौं,’ ओलीले भने, ‘हामीलाई सानातिना कुरामा अल्भिmने बेला छैन ।’

नेपालले तीव्र रुपमा आर्थिक वृद्धि गर्ने उनको भनाइ थियो । सन् २०२१ जुलाईसम्म टेस्ट ˆलाइट गर्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम भइरहेको र यो विमानस्थल बनेसँगै गण्डकी प्रदेशले आर्थिक फड्को मार्ने बताए ।

गण्डकी क्षेत्रलाई फिल्म सिटीका रुपमा विकास गर्न सकिने उनले बताए । ‘फिल्म सिटीका रुपमा विकास गर्न भारतदेखि एउटा टोली आउँदैछ । फिल्म सिटीका लागि सबैभन्दा उपयुक्त भनेकै गण्डकी हो’ प्रधानमन्त्रीले ओलीले भने ।

प्राकृतिक रुपमा भरिपूर्ण गण्डकी प्रदेशमा असाधारण पर्यटन विकासको सम्भावना रहेको ओलीले बताए । यहाँका हरेक बोट र हरेक ढुंगामा जडिबुटी रहेको भन्दै उनले त्यसको प्रशोधन र ब्यापारमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकार नयाँ अभ्यास भएका कारण कसरी प्रयोग गर्ने भन्ने केही अन्यौल देखिएको बताए । ‘पहिले स्थानीय निकाय अहिले तहजस्तोजस्तै थियो, केन्द्रीय सरकार त थिँदै थियो । संघीयतामा प्रदेश नयाँ अभ्यास हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसको तालमेल मिलाउन केही समय लाग्छ ।’

प्रधानमन्त्रीको सम्बोधन लगतै अवरोध

प्रमखु विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनमा कुनै अवरोध गरेन । तर, लगतै बसेको दोस्रो बैठक अवरुद्ध गरेको छ । डा. गोविन्द केसीको माग, सरकारले बढाएको कर, सभामुख, उपसभामुख एउटै दलबाट राखिएको लगायत विषय उठाउँदै कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

जनताको आवाजहरु लिएर १५ औं पटक अनसन बसेका डा. केसीको माग सुनुवाइ गर्नुको साटो अपहरणको शैलीमा काठमाडौं ल्याइएको भन्दै तत्काल वार्ता टोली गठन गरेर केसीको माग पूरा गर्नुपर्ने गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

‘डा. गोविन्द केसीले उठाएको माग आम जनताको हो, स्वास्थ्य शिक्षामा सबैको समान पहुँ हुनुपर्छ भन्नेहरुको हो’ नेपालीले भने, ‘जनताको हितका लागि सत्याग्रहमा बसेरका केसीको माग तत्काल सुनुवाई होस् ।’

अघिल्लो सरकारले ल्याएको अध्यादेश लत्याएर चिकित्सा शिक्षाको प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै आपत्ति जनाए ।

संसदमा बोल्दै संसदीय दलका नेता नेपालीले सरकारले लगाएको कर जनताको डाढ सेक्ने गरी बताएको बताए । इन्टरनेट, बजार भाउ बढाएर सरकारले जनता मार्ने काम गरेको नेपालीको भनाइ थियो ।

संविधानले नै सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने उल्लेख गरेको अवस्थामा अहिले दुई पार्टी मिलेर एक हुँदा पनि दुवै पद नहडप्न नेपालीले आग्रह गरे । ‘संविधानले नै सभामुख, उपसभामुख फरक पार्टीको हुनुपर्ने उल्लेख गरेको छ । पार्टी एक भइसकेको अवस्थामा पनि संसद भने संसदमा दुई पार्टीकै भूमिका देखि यो कस्तो अचम्म हो’ नेपालीले भने ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com