अष्ट्रेलियाको मेलबर्नमा एक्स्पर्ट क्रिकेट क्लब स्थापना, नेपाली युवाहरुलाई खेलमा प्रोत्साहन गर्ने मूख्य उद्देश्य


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

शैक्षिक र बसाईसराई क्षेत्रमा सेवा दिंदै आएको एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले एक्स्पर्ट क्रिकेट क्लबको स्थापना गरेको छ । सोमबार एक्स्पर्ट एजुकेशनका प्रतिनिधिहरु , नेपाली समुदायका खेलाडी तथा युवाहरुको समूहले एक्स्पर्ट क्रिकेट क्लबको घोषणा गरेका हुन् ।

उक्त क्लब स्थापना घोषणाको बारेमा जानकारी दिंदै एक्स्पर्ट एजुकेशनका सरोज शर्माले नेपाली युवाहरुलाई खेलमा प्रोत्साहन गर्न र नेपाली समुदाय पार्टी आफ्नो सामाजिक दायित्व पूरा गर्नको निम्ती एक्स्पर्ट कन्सल्टेन्सीले एक्स्पर्ट क्रिकेट क्लब स्थापना गर्ने निर्णय गरेको हो । उनका अनुसार, खेलमा अभिरुची भएका युवाहरु अष्ट्रेलियाको काम तथा पढाइ, फरक परिवेशले गर्दा खुम्चिन बाध्य भएका हुन्छन् । त्यस्ता युवाहरुलाई क्लब मार्फत एउटा समूहमा संगठित गरि खेलमा प्रोत्साहन गर्नु क्लबको मूख्य कार्य हुनेछ ।

त्यस्तै, एक्स्पर्ट एजुकेशनका वसन्त पोखरेलले सिड्नीमा एक्स्पर्ट एजुकेसनले स्थापना गरेको एक्स्पर्ट क्रिकेट क्लबले नेपाली विद्यार्थीहरुको लागि राम्रो प्लाटफर्म दिइरहेको हुनाले, त्यसलाई मेलबर्नमा पनि विस्तार गर्ने र मेलबर्नका विद्यार्थीलाई पनि प्लाटफर्म प्रदान गर्ने सोंचका साथ क्लबको स्थापना गरिएको बताएका छन् ।

क्लबको क्याप्टेनमा सुनम गौतम र व्यवस्थापकमा सुनोद श्रेष्ठ चयन भएका छन् । क्लबको अन्य सदस्यमा संघर्ष काफ्ले, नविन न्यौपाने, सदिप ढुंगाना, सुवोध पौडेल, सन्दीप दुलाल, गौरव अरोरा , सुसान्त पौडेल, विमल नेपाल लगायत रहेका छन् । व्यवस्थापक सुनोदका अनुसार, आगामी आइतबार क्लबको खेल प्रशिक्षण हुनेछ। जसमा, इच्छुक सबैले भाग लिन सक्नेछन् र क्लबमा ११ जना मात्र नभएर धेरै भन्दा धेरै नेपाली युवाहरुलाई क्लबमा स्वागत गरेर हातमालो गर्दै आगाडी बढ्ने क्लबको उद्देश्य रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com