मैले नेपाललाई विश्व चिनाएँ तर मलाई सरकारले चिनेनः किर्तिमानी धाबक रोकाया
प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार
प्रशिक्षणको तयारी गर्दैगर्दा एक्कासी बिरामी परेर थला परेका विश्व किर्तीमानी धावक हरिबहादुर रोकायाले आफ्नो उपचारमा सरकारले चाँसो नदेखाएको भन्दै दुखेसो गरेका छन् । उनले आफूलाई धेरै व्यक्तिले चासो र चिन्ता व्यक्त गरेको तर सरकारले वास्ता नगरेको बताए ।
तीन हप्ताको अस्पताल बसाईपछि सामान्य हिटडुल गर्न सक्ने भएका रोकायाले आफूले नेपाललाई विश्वमा चिनाएको तर आफूलाई सरकारले चिन्न नसकेको बताए । उपचारमा आर्थिक सहयोग गर्न कोठामै पुगेका कालिकोटका युवा व्यवसायी दिलबहादुर कठायतसँग कुरा गर्दै विश्व किर्तिमानी धावक रोकायाले भने, “मैले आफ्नो जीवनको बारेमा कहिलै सोचिन् र देशलाई कसरी विश्वमा चिनाउने भन्ने मात्रै सोचेँ तर मलाई सरकारले चिनेको रहेनछ ।” उनले पार्टीका नेता–कार्यकर्ताको उपचारको नाममा करोडौं खर्च गर्न सक्ने सरकारले आफूप्रति बेखबर भएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्ले एक लाख आर्थिक सहयोग गरेको बताउँदै रोकायाले त्यसले आफूलाई कुनै सहयोग नपुग्ने बताए । “राष्ट्रिय खेलकुद परिषदबाट एक लाख सहयोग भएको छ । त्यो त लिएजस्तै भएन । त्यस्तै कर्णाली प्रदेश सरकारले पनि एक लाख दिने निर्णय गरेको छ तर कहिले पाइने हो भन्नेमा कुनै टुंगो छैन” रोकायाले भने । उनले आर्थिक सहयोग भन्दापनि खेलकुद मन्त्री नै बेखबर भएकोमा दुःख लागेको बताए । “मलाई अहिले ठूलो आर्थिक चाहिँदैन थियो । तर सरकार बेखबर भएको देख्दा दुःख लागेको छ” रोकायाले अनलाइन डबलीसँग भने । सरकारले बेवास्ता गरेको देखेर आफूले प्रशिक्षण दिएका खेलाडीहरु निरास भएको भन्दै रोकायाले भने, “मैले प्रशिक्षण दिइरहेका खेलाडीहरु हरि दाई बिरामी हुँदा त सरकारले केही गरेन, हामी बिरामी भयौं भने त मरिन्छ भन्न थालेका छन् ।”
धाबक रोकायाले खेलाडीप्रति सरकारी बेवास्ता देखेर खेलाडीको स्वास्थ्यको चिन्ता बढेको बताए । उनले आफूलाई व्यक्तिगत रुपमा गरेको सहयोगबाट अक्षयकोष स्थापना गर्ने सोँच बनाएको बताए । “मैले प्रशिक्षण दिएका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपालको इज्जत बढाएका छन् । सरकारले मलाई जस्तै उनीहरुको पनि बेवास्ता गर्ने देखेर एउटा अक्षय कोष स्थापना गर्ने की भनेर सोँच्दैछु” रोकायाले भने ।
काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा पाँच दिनसम्म अाइसियुमा राखेर उपचार गरिएका रोकायाका खुट्टा चलेपनि हातले भने काम गर्न सकेका छैनन् । अाफै हिटडुल गरेपनि खाना अरुको सहयोगमा खाइरहेका छन् । अाफू जुम्लाबाट एकै दिन रारा पुगेर फर्किने गरेको सम्झिँदै भक्कानिएको मनालाई थामेर कुरा गर्दै रोकायाले भने, ‘म एकै दिन मुगुको रारा पुगेर साँझ घर फर्किन्थे, अरुलाई एक दिन लाग्ने ठाउँमा मेरो चिया खाने ठाउँ हो तर अहले थला परेँ ।’ ४२ किलोमिटर दौडको तयारीमा रहेका रोकायाको पूरै शरीरले एक्कासी काम गर्न छोड्यो । चिकित्सकको सल्लाहअनुसार अझै १ महिना बेडरेष्ट गर्नुपर्ने र साँझ -विहान फिजियोथेरापी गराइरहेका छन् ।
रोकायाले सानैदेखि प्रशिक्षण दिएकी धाबक सुनमाया बुढाले हालै चीनमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम भइन् । त्यस्तै रोकायाले प्रशिक्षण दिएका दुर्गा बुढा, सुनमाया बुढा, मञ्जु रावल, दिपेन्द्र बमसहित ३५ जना खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर देशको इज्जत बढाइरहेका छन् ।
चीन, जापान, रुस, अमेरिका, भारत, कोरियासहित विश्वका १६ देशहरुमा पुगेर प्रतियोगितामा भाग लिइसकेका रोकायाले सन् २००४ बाट खेलबाट सन्यास लिएका थिए । उनले नसकेर भन्दापनि युवा खेलाडीको भावना बुझेर सन्यास लिएका हुन् । “म प्रतिस्पर्धामा जाँदा भाईबहिनीहरुले हरी दाई आउनु भो, उहासँग सकिँदैन भन्न थालेपछि मैले खेल छोडेको हुँ” रोकायाले भने ।
जुम्ला चन्दननाथ नगरपालिका निवासी रोकायाले दौडेरै गिनिज बुकमा नाम लेखेर नेपाललाई विश्वमा चिनाए । वि.सं. २०३९ सालबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन थालेका रोकाया ३० पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका छन् । धावक रोकायाले सन् १९८८ मा ४२ किलोमिटर ३ घण्टा ५६ मिनेट १० सेकेण्ड पूरा गरेर विश्व रेकर्ड कायम गरेका थिए । सोही रोकर्डलाई रोकाया आफैले सन् १९९२ मा ३ घण्टा ५० मिनेट २३ सेकेण्डमा पार गरेर आफ्नो तोडेका थिए ।
धावक रोकायाले धेरै अवसरलाई छोडेर जुम्लाबाट खेलाडी उत्पादन गर्ने भनेर स्पोर्ट्स क्लव संचालन गर्दै आएका छन् । ५७ वर्षीय रोकायाले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गरेका छन् ।
सहयोग हस्तान्त्रण गर्दै कठायतले खेलक्षेत्रप्रति राज्यको व्यवहार देखेर आफू पनि निरास भएको बताए । उनले राेकायले कर्णाली मात्रै नभएर देशलाई विश्वमा चिनाएकोले अाफूलाई गर्भ लाग्ने गरेको बताए । कठायतले खेल र खेलाडीको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त पनि गरे ।