चीनसँग ट्रान्जिट एन्ड ट्रान्सपोट एग्रिमेन्टको प्रोटोकल सम्झौता हुने


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

चीनसँग एक महिनाभित्रै ट्रान्जिट एन्ड ट्रान्सपोट एग्रिमेन्टको प्रोटोकल सम्झौता हुने भएको छ । नेपाल उद्योग परिसंघको १५ औं वार्षिक साधारणसभामा शुक्रबार बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुलाईभित्रै चीन र नेपालको बीचमा ट्रान्जिट एन्ड ट्रान्सपोट एग्रिमेन्टको प्रोटोकल सम्झौता हुने बताए ।

“यो सम्झौता गर्ने भनेर चीनिया प्रधानमन्त्री र मेरो सहमती भएको छ, उनले भने, नेपाल ऋणको दलदलमा फस्छ भनेर हल्ला चलाइएको छ ।”
अलि–अलि ऋण पनि लिने भन्दै उनले ऋण जरुरी भएको तर आवश्यकता र प्राथमिकताका आधारमा लिने बताए । “ऋण सोखको विषय होइन । हामी सहयोग पनि लिन्छौं, ऋण पनि लिन्छौं,” उनले थपे । पूर्वाधार, सूचना प्रविधि, उद्योग, पर्यटन कृषि, सेवा जस्ता क्षेत्रको सामूहिक उन्नति र प्रगति नै विकास हो भन्दै उनले यही विकासको बाटोमार्फत समृद्धि हासिल गर्ने पनि बताए ।

व्यवसायीलाई सुझाव दिन आग्रह
व्यवसायीलाई सुभाव दिन आग्रह गर्दै उनले सरकारले व्यवसायीको हितअनुकूल के गर्न सक्छ, मस्यौदा बनाएर ल्याउन पनि अहाए । सरकार लचिलो भएको तथा उदारबाद र निजी क्षेत्र पनि आवश्यक रहेको भन्दै आफ्नो सरकारको पालमा चाकरीका लागि धाउनु नपर्ने बताए । “थैली बोकेर पनि धाउन पर्दैन,” उनले भने, “कानुनी चुनौती वा प्रशासनिक झमेला छन् भने सरकारलाई बताउनुस् ।”

सरकारले औद्योगिक क्षेत्रका लागि आवश्यक जमिन उपलब्ध गराउने र लुम्बिनी भन्दा उत्तरतर्फ मोर्डन सिटी बनाउने सोच सरकारमा रहेको तथा यसका लागि राप्ती, तिनाउँ नदिलाई डाइभर्सन गर्ने र त्यहाँ उद्योग र सहर विकास गने योजना पनि ओलीले व्यवसायीलाई सुनाए ।
उद्यमी व्यवसायी समेटेर सरकारले सल्लाहकार समिति गठन गर्ने जानकारी दिँदै उनले इनोभेटिभ तवरमा जानको लागि रिसर्च र भिजन चाहिने र यसका लागि व्यवसायीले आफूलाई तयार गर्नुपर्ने बताए ।

सरकारले इमानदार भएर व्यवसायीलाई मद्दत गर्ने र व्यवसायीले पनि इमानदार भएर कारोबार गर्नुपर्ने उनले भनाइ थियो ।

नेपालको क्रेडिट रेटिङ गर्ने
अर्थमन्त्री डा. युवराज खतिवडाले देशको क्रेडिट रेटिङ गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल उद्योग परिसंघको साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले नेपालको क्रेडिट रेटिङ गर्ने र यसले विश्वका लगानीकर्तालाई विश्वासको वातावरण बनाउने बताएका हुन् । बैंकहरू विदेशबाट लगानी ल्याउने क्रम सुरु गरिसकेको बताउँदै क्रेडिट रेटिङ लगानीकर्तालाई वास्तविक अवस्थाको समेत जानकारी हुने उनको भनाई थियो ।

व्यवसायीहरूmले कार्यक्रममा कर्जाको बढ्दो ब्याजदरले समस्या परेको भन्दै हस्तक्षेप गर्न माग गरेका थिए । तर, उनले सरकारले ब्याजदरमा हस्तक्षेप नगर्ने बताए । ब्याजदर बजारले तोक्ने हो, उनले भने, “सरकारले त्यसमा हस्तक्षेप गर्दैन ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com