शोकमा डुब्यो रोल्पाको थवाङ र सुनछहरी


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

रोल्पा – मुस्ताङमा भएको टिप्पर दुर्घटनामा परि रोल्पाका नौ मजदुरको मृत्यु भएको छ ।

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदुर बोकेको ना २ ख २२१९ नम्बरको टिप्पर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित २० जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुने रोल्पालीमा थवाङ गाउँपालिका–१ रोल्पाका २८ वर्षीय सुकमान रोका, ३६ वर्षीय मौसम घर्ती, थवाङ–५ की ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना रोका, २३ वर्षीय रास्त्रे रोका, २३ वर्षीया जीतकुमारी पुन र ११ वर्षीय महेश रोका छन् ।

मृत्यु हुनेमा रोल्पा, सुनछहरी गाउँपालिका–१का ३२ वर्षीया सुन्तु घर्ती र ३२ वर्षीय राजकुमार पुन पनि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा रोल्पाली मजदुर पोखरा, मुस्ताङलगायत क्षेत्रमा जाने गर्छन् । दुर्घटनामा परि एकै पटक यति ठूलो संख्यामा जिल्लावासीको मृत्यु भएको खबर सुन्नेबित्तिकै जिल्लामा सन्नाटा छाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com