मुस्ताङमा टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २०


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

मुस्ताङ जिल्लाको स्याङ्बोचेमा शुक्रवार दिउँसो टिपर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको र १२ जना घाइते भएका नेपाल प्रहरीले बताएको छ।

घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाण्डू र पोखरा पठाइएको छ।

दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट उत्तरतर्फ ५० किलोमिटरको दूरीमा रहेको छ।

तर सडकबाट त्यहाँ पुग्न पाँच घण्टा लाग्ने भएकाले घाइतेहरूको उद्धारका गर्न काठमाण्डूबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको थियो।

घाइतेमध्ये नौ जनालाई काठमाण्डू र तीन जनालाई पोखरा पठाइएको बताइएको छ ।

पाँच जनाको शव जोमसोम ल्याइएको र १५ जनाको शव घटनास्थलमै राखिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा को परे?
दुर्घटनामा पर्नेहरूमा बेनी-जोमसोम हुँदै कोरला नाका जोड्ने सडक निर्माणमा खटिएका कामदारहरू भएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी महेन्द्र खड्काले बताए।

काम गर्नका लागि टिपर चढेर गएका थिए।

दुर्घटनाको कारण स्पष्ट थाहा नभए पनि अनियन्त्रित भए टिपर सडकबाट झन्डै ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।

उनीहरू दिउँसो खाना खाएर तामाखोलामा चैत्यखण्डको काम गर्नका लागि टिपर चढेर गएका थिए।

डीएसपी खड्काका अनुसार टिपरको चालकको पनि मृत्यु भएकाले दुर्घटना कसरी भयो भनेर थप अनुसन्धान गर्नुपर्ने भएको छ।

“बत्तीस जना टिपरमा चढेको देखियो। दुर्घटना ओभरलोड भएर हो वा अरू के कारणले भएको यो यसै भन्न सकिने स्थिति छैन,” खड्काले भने।

चीनको सीमासम्म जोड्ने उक्त सडकको विभिन्न खण्डमा हाल निर्माणको काम भइरहेको कालीगण्डकी करिडोरका आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए।

मृतकहरू रोल्पा, दाङ, कपिलवस्तु, सिन्धुली, धादिङ र कैलालीबाट काम गर्न आएका मजदुर भएको पुष्टि भएको छ।

दुर्घटनाग्रस्त टिपरलाई घटनास्थलमा नै राखिएको छ भने अन्य सवारीसाधनहरू आवतजावतमा अवरोध नभएको बताइएको छ ।

सडक निर्माणका लागि बाहिरी जिल्लाबाट कामदार ल्याएर खटाइएकाले यस घटनाले सडक निर्माणमा पनि असर गर्ने देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com