लाउडाका मुख्य आरोपी नै मन्त्रीका ‘विज्ञ’


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सुशासनका सवालमा शून्य सहनशीलता अपनाउने घोषणा गरेको सरकारका प्रभावशाली मन्त्रीले नै बहुचर्चित घोटाला प्रकरणका मुख्य आरोपीलाई नै विज्ञ नियुक्त गरेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई नागरिक उड्डयन विज्ञका रुपमा नियुक्त गरेका हुन् ।

श्रेष्ठले विशेष अदालतबाट सफाइ पाएको भए पनि उनीविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ । सरकारवादी मुद्दाका रुपमा हेर्दा सरकारले श्रेष्ठमाथिको भ्रष्टाचारको पुरानो आरोपमा कुनै दृष्टिकोण परिवर्तन गरेको छैन । कान्तिपुरका अनुसार मन्त्रीले उनलाई एटीएम तथा हवाइ विज्ञका रुपमा श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

कान्तिपुर लेख्छ– एकातिर उनीमाथिको सरकारवादी मुद्दा सर्वोच्चमा विचाराधीन छ भने अर्कोतर्फ श्रेष्ठले दिएको सल्लाह, सुझाव र राय पर्यटनमन्त्री र मन्त्रालयले ग्रहण गर्नुपर्ने अवस्था बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com