माइतीघर मण्डलामा सरकारको धरपकड, निर्णय लागु नहुँदै गरियो पक्राउ


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

सरकारले निषेधित क्षेत्र तोकेको विरोधमा प्रर्दशन गर्न गएकाहरु विवेकशील साझा पार्टीका सहअध्यक्ष उज्जवल थापासहित एक दर्जन पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर सिंहदवार लगिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

माइतघर मण्डलालगायतका क्षेत्रमा प्रर्दशन तथा धर्ना गर्न नपाउने सरकारको निर्णयपछि यसको आलोचना भएको थियो ।

यहीक्रममा आज सरकारी निर्णयको विरोधमा प्रर्दशन गर्न माइतीघर मण्डला गएकाहरु पक्राउ परेका हुन् । उनीहरुले नागरिकको हक खोस्न नपाइने माग गरेको थिए ।

काठमाडौंको शान्ति बाटिका र माइतीघर मण्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन् र विरोध प्रदर्शन गर्न समेत रोक लगाएको थियो ।

बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माईतिघर र शान्तिबाटिका लगायत उपत्यकामा यसअघि नारा–जुलुस हुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका थिए ।

गृहमन्त्री थापाले साउन १ गतेबाट सरकारको निर्णय लागु हुने बताएका भएपनि त्यसभन्दा पहिला नै पक्राउ गरिएको छ ।

गृहमन्त्रालयले काठमाडौंको खुल्लामञ्च, तिनकुनेस्थित खाली चउर, स्वयम्भुको भगवानपाउस्थित खुल्ला जमिन, पेप्सिकोला खेल मैदान, सानो गौचरण, लैनचौरस्थित खाली जमिन र गौशालाको सिफल चउरमा मात्र विरोध प्रदर्शन गर्न पाउने जनाएको छ ।

यसैगरी ललितपुरको च्यासल खेल मैदान, गोदावरी बसपार्कसँगै रहेको खुल्ला जमिन, भैंसेपाटीको छ्यासिकोट, बज्रबाराही मन्दिर नजिकैको खाली जमिन, लुभुको ससमु चौर र घोविघाट नजिकै रहेको खुल्ला जमिनमा मात्र अब प्रदर्शन गर्न पाइनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com