दुई महारथी फ्रान्स र अर्जेन्टिना भिड्दै आज राति पौने ८ बजे


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

रुस विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

अर्जेन्टिना र लियोनेल मेसीले विश्वकपमा यात्रा लम्बाउन स्वभाविक क्षमताअनुसारको प्रदर्शनबाट अझै टाढा देखिएको फ्रान्ससँग रुसको काजानमा शनिबार साँझ भेट हुँदा आफू चाँही फर्ममा फर्केको प्रमाण दिनुपर्नेछ।

अन्तिम १६अन्तर्गतको पहिलो खेलमा भेट हुने फ्रान्स र अर्जेन्टिना दुवैले अहिलेसम्म प्रतियोगितामा आफ्नो छविअनुसार प्रदर्शन गर्न सकेका छैनन्।

यी दुवै टिम विश्व फुटवल जगतमा निकै प्रख्याती कमाएका टिम र मुलुक हुन्। साँझको खेलमा पल पोग्वा, एन्टोनी ग्रिजम्यान,लियोनल मेसी, एन्जेल डी मारिया लगायतका खेलाडीको कस्तो जादु चल्ने हो, सबै प्रतिक्षारत छन् ।

समूह चरणअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा ३–० ले पराजित हुँदा अर्जेन्टिनी टोलीमा खेलाडीको ढल्कँदो उमेर र असन्तुलन प्रष्ट देखिएको थियो। तर डिएगो म्याराडोनाबाट निर्देशित मेसीले अन्तत प्रतियोगितामा गोलको खाता खोलेको खेलमा मार्कोस रोहोले सनसनीपूर्ण भलीमा गोल गरेपछि २०१४ को उपविजेता टोली नाइजेरियालाई हराउँदै नकआउट चरणको टिकट काट्न सफल भयो ।

डिडियर डेशच्याम्पसको फ्रान्स पनि प्रतियोगिता सुरु हुनुपूर्व उपाधिको कागजी दाबेदार थियो । अपराजित रहँदै समूह चरण पार गरे पनि फ्रान्सको प्रदर्शनमा भने सन्तुष्ट हुने ठाउँ अत्यन्तै कम थियो । पहिलो रोजाईका स्ट्राइकर एन्टोनी ग्रिजम्यान उच्च फर्म समाउन असफल हुँदा फ्रान्सको मिडफिल्ड पनि रचनात्मक तरिकाले खेल बनाउने पक्षमा सफल भएन । तर डेशच्याम्पस शनिबार नकआउट चरण सुरु हुँदासम्म आफ्नो टोली पूर्ण रुपमा ठिक ठाउँमा आइपुग्नेमा विश्वस्त छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com