प्रहरी हेल्पलाइन नं १०० मा आएको फोन रिसिभ गर्न नपाउँदै उताबाट युवती बोलिन ‘आइलब यु डार्लिङ


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

जयनेपाल, जिप्रका कन्ट्रोल बझाङ’ शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालयको पैसा नलाग्ने हेल्पलाइन नं १०० मा आएको फोन सञ्चार शाखाका प्रहरी जवान कल्याण गिरीले रिसिभ गर्न नपाउँदै उताबाट युवती बोलिन ‘आइलब यु डार्लिङ । भेटौं न यार । आज शनिबार हो ।’

गिरीले हप्काउँदै फोन राखिदिए । उही मोबाइल नंबाट फेरि लगतै फोन आयो । यस पटक ती युवतीले सोझै यौन प्रस्ताव नै राखिन् । यो प्रहरीको नम्बर भएको र फोनमा नचाहिने कुरा गरे कारबाही हुन्छ भन्दै गिरी रिसाएपछि युवतीले अश्लिल गाली गर्दै फोन काटिदिइन् ।

बझाङ प्रहरीको हटलाइनमा ९० प्रतिशत भन्दा बढी यस्तै खालका फोन आउने गरेका छन् । समाजमा हुने चोरी, डकैती, झैभगडा जस्ता अपराधजन्य घटनामा प्रहरीलाई गुहार्नका लागि जिल्ला प्रहरी कार्यालय बझाङले हेल्पलाइन राखेको हो । पैसा नलाग्ने यो नम्बरमा यौनजन्य कुराले प्रहरी कर्मचारीलाई हैरानी र सेवा समेत प्रभावित हुने गरेको छ । ‘९० प्रतिशत भन्दा बढी यस्ता खालका फोन आउने गरेका छन्,’ प्रहरी जवान गिरीले भने, ‘बिदाको दिन र राति ६ देखि १२ बजेसम्म यस्ता फोन बढी आउँछन् । कतिपयले त फोन उठाउन नपाउँदै सोझै गाली गर्छन् । कस्ताकस्ता फोन आउँछन्, भनेर साध्य छैन?’

किशोरावस्थाका युवतीले यस्ता कल गरेर यौन सम्बन्धी कुरा बढी गर्ने र कतिपय अवस्थामा विवाहित महिलाले सुरुमा बच्चालाई कुरा गर्न लगाउने र पछि आफू नै जिस्किने गरेको प्रहरीहरू बताउँछन् । केटाहरूले पनि बेलाबेला फोन गरेर गालीगलौज गर्ने, जिस्काउने गरेकाले नियमित काममा नै बाधा हुने गरेको जिप्रका सञ्चार शाखाका प्रहरीहरूको भनाइ छ । बझाङमा रहेको पैसा नलाग्ने नम्बरमा एक पटकमा एक जनाले मात्र फोन गर्न मिल्छ । त्यही नम्बरमा अनावश्यक फोन बढी आउने भएकाले लाइन व्यस्त देखिने र वास्तविक पीडितले सेवा पाउनबाट वञ्चित हुनुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले अनावश्यक फोन गरेर गालिगलौज गर्ने र अनावश्यक कुरा गर्नेलाई पक्राउ गर्ने काम पनि नगरेको हैन । पक्राउ पर्नेहरू अधिकांश १६ वर्ष भन्दा कम उमेरका भएका कारण कारबाही गर्न नमिल्ने भएकाले सम्झाइबुझाई अभिभावकको जिम्मा लगाउने गरिएको डीएसपी क्रषिराम कँडेलले बताए ।

आधिकारिक कागजात नलिइकन वितरण गरिएका सिमका कारण यसरी फोन गर्नेको पहिचान नेपाल टेलिकमले पनि खुलाउन नसकेका कारण कारबाही गर्न गाह्रो हुने गरेको एक प्रहरीले बताए । उनले भने, ‘चकलेट बिक्री गरे जसरी सिम बिक्री गरिएका छन् । अनावश्यक फोन गर्नेको नम्बर दिएर विवरण माग्दा टेलिकमले विवरण नखुलेको भनेर लेखिदिन्छ । कतिपयलाई त समाउनै पनि गाह्रो छ’।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com