सुन समितिलाई अाेलीकाे निर्देशनः संलग्नता देखिए नेकपाका नेता पनि नछाेड्नाेस्


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

गृह सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको सुन तस्करी तथा सनम शाक्य हत्या छानवीन टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही र रणनीतिबारे एक घन्टा लामाे ब्रिफिङ गरेको छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव प्रेमकुमार राईको उपस्थतिमा टोलीले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको हो।

टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले प्रधानमन्त्रीलाई टोलीको काम कारवाही र अगामी रणनीतिका विषयमा ब्रिफिङ गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ब्रिफिङपछि ओलीले हालसम्मको काम कारवाहीले सरकारको सुशासन र समृद्धिको अभियानमा सकारात्मक सन्देश गएको बताउँदै अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी आधार प्रमाणले नेकपाका नेता संलग्न देखाए तिनलार्इ पनि कारवाही अघि बढाउन निर्देशन दिएको स्रोतले बतायो।

स्रोतकाअनुसार पछिल्लो समय पक्राउ परेको बिमल पोद्दार र उनका व्यवसायिक साझेदार दीपक मल्होत्रा र पवन सरियाका विषयमा टोलीले प्रधानमन्त्रीलाई जानकारी गराएको छ। प्रधानमन्त्री ओलीलाई हुन्डी कारोबारी भारतीय नागरिक पोद्दारले मल्होत्रा र सरियासँगको संयुक्त लगानीमा सिल्भर सिटी अर्पाटमेन्ट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कम्पलेक्सको काम गरिरहेको समेत जानकारी गराएको छ।

पोद्दारले बयानमा सुन तस्करी गरेको स्वीकारेको समेत टोलीले प्रधानमन्त्रीलाई जानकारी दिएको छ। ‘मान्छे पक्राउ गरेर अदालतले छोड्ने वातावरण नहोस्, प्रमाणमा ध्यान दिनुहोस्। प्रमाण पुग्छ भने कसैलाई सहुलियतमा राख्नुपर्ने आवश्यकता छैन भन्नुभएको छ,’ टोलीका एक सदस्यले बुधबार नेपालखबरसँग भने।

उनका अनुसार प्रधानमन्त्री ओलीले टोलीलाई आवश्यक सहयोग गर्न राज्यका सबै संयन्त्र तयार रहेकाले अनुसन्धानलाई प्रमाणमुखी बनाउन समेत निर्देशन दिएका छन्। टोलीले कम्प्युटरमा रहेका विवरण देखाएर प्रधानमन्त्री ओलीलाई करिब एक घण्टा बिफ्रिङ गरेको हो। टोली संयोजक पौडेलसहित अन्य चार सदस्य बिफ्रिङमा सहभागी थिए।

ओलीले टोलीको समय सीमाबारे समेत जिज्ञासा राखेका थिए। ‘हामी असार मसान्तसम्म छ भनेपछि उहाँले अझै १९ दिन बाँकी रहेछ भन्नुभयो’, ती सदस्यले भने।

सरकारले २० चैत २०७४ को मन्त्रिपरिषद् बैठकबाट सहसचिव पौडेलको नेतृत्वमा अनुसन्धान तथा कारवाहीका लागि टोली बनाएको हो। टोलीले हालसम्म ४३ जना आरोपीलाई पक्राउ गरी कारवाही अघि बढाएको छ।

पछिल्लो समय बिमल पोद्दार पक्राउ गरेर टोलीले सुन तस्करीको माथिल्लो तह भत्काउने प्रयास गरिरहेको छ। योसँगै सुन तस्करीमा जोडिन आएका प्रहरीका अवकाशप्राप्त उच्च तहका अधिकारी र विमानस्थल कर्मचारीलाई निगरानी बढाएको स्रोतले जनायो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com