इन्भेष्टमेन्ट कम्पनीको नाममा करौडौं ठगी


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

शक्ति केन्द्रको आडमा गलत मनोवृत्ति भएका व्यक्तिले कतिसम्म चलखेल गर्छन् भन्ने कुराको दृष्टान्त बनेका छन्, माइ इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर ।

करोडौं ठगी गरेको आरोपमा प्रहरीका विभिन्न निकायमा आफूविरुद्ध उजुरी परे पनि उनी भने शक्ति केन्द्र धाउँदै कारबाहीबाट बच्दै आएका छन् ।

बालुवाटारस्थित कालिका टावरमा रहेको माइ इन्भेष्टमेन्ट कम्पनीका नाममा उनले ठगी धन्दा मच्चाउँदै आएका छन् । उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको पीडित बताउँछन् ।

उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरीका चाङ छन् । काठमाडौं जिल्ला अदालतमा ८ वटा मुद्दा दर्ता नै भइसकेको छ ।
तर, उनी भने उल्टै प्रहरीविरुद्ध नै उजुरी गर्दै हिँडेका छन् ।

प्रहरीविरुद्ध नै उजुरी !

मेनपावर व्यवसायी राधिका कटुवालले एक महिनाअघि गजमेरबाट ठगिएको भन्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिइन् । उनले दिएको जाहेरीमा उल्लेख भए अनुसार शेयर र मुनाफा छुट्टै दिने भन्दै उनलाई ३५ लाख रुपैयाँ लगानी गर्न लगाइएको थियो । त्यसको केही समयसम्म उनले मुनाफा त पाइन् तर, शेयर भने पाइनन् ।

‘मैले कम्पनीमा शेयर नपाएपछि रकम फिर्ता लिएँ । तर, त्यसको केही समयपछि शेयर दिने भन्दै फेरि पैसा मागियो’ जाहेरीमा भनिएको छ, ‘तर, त्यस पटक भने मैले न त मुनाफा पाए न त शेयर नै ।’

उनको उजुरीपछि प्रहरीले गजमेरलाई नियन्त्रणमा लियो । तर, त्यसअघि गजमेरले आफूलाई धरपकड गर्न खोजियो भन्दै निषेधाज्ञाको माग गर्दै उच्च अदालत, पाटनका पुनरावेदन दिएका थिए ।

अदालतले देवानी मुद्दामा व्यक्ति पक्राउ नगर्न भनी आदेश दियो ।

परिसरले उनलाई देवानी मुद्दामा नभइ, ठगी मुद्दामा पक्राउ गरेको थियो । तर, उनले भने अदालतमा मुद्दा हुँदा हुँदै पक्राउ गरिएको भन्दै गृहमन्त्रालयमा उल्टै प्रहरीविरुद्ध उजुरी हालेका छन् ।

उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताको सहयोगमा गृहमन्त्रीसम्म पुगेको स्रोतको दाबी छ । कटुवाललाई भने उनले एक वर्षपछिको मिति राखेर लगानी बराबरको रकमको चेक दिएका छन् ।

काठमाडौं अदालतमा ८ मुद्दा, साढे २ करोड बिगो दाबी

प्रहरीका अनुसार गजमेरको ठगी गर्ने शैली एउटै छ । कम्पनीको ब्याज र शेयर दिन भन्दै पैसा लिन्छन्, रकम हात लागेपछि दिँदैनन् ।

०७४ पुसदेखि ०७५ बैशाखको अवधिमा गजमेरबाट पीडित ८ जनाले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका छन् । उनीहरुले साढे २ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।

२८ पुस ०७४ मा सिन्धुलीको गोलन्जोर-२ का लोकहरि पौडेलले ४५ लाख ५१ हजार ६ सय ६७ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेका छन् ।

त्यस्तै २ वैशाख ०७५ मा काठमाडौं-१३ कि सुनिता बज्राचार्यले २ लाख ८७ हजार, काठमाडौं-१६ की अञ्जना बज्राजार्यले ३ लाख, २३ वैशाखमा कास्कीको पोखरा लेखनाथ-८ का इन्द्रबहादुर गुरुङले १५ लाख ६२ हजार ७ सय ७८ र वडा नं. १० का रामबहादुर गुरुङले ३६ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेका छन् ।

त्यस्तै, पोखराकै भुपालजंग कुँवरले ७० लाख ३२ हजार ५ सय, लक्ष्मीप्रसाद गुरुङले ३० लाख २५ हजार ५ सय ५५ र वीरबहादुर गुरुङले ३९ लाख ६ हजार ९ सय ४४ रुपैयाँ विगो दाबी गरेका छन् ।

राष्ट्र बैंकको इजाजतविनै कारोबार !

स्रोतका अनुसार उनले कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता भएपछि हालसम्म लेखा परिक्षण प्रतिवदेन लगायतका कुनै पनि विवरण रजिष्ट्रारको कार्यालयमा पठाएका छैनन् । यो कम्पनीको ०६७ सालदेखि कम्पनी ऐन र प्रचलित कानुन बमोजित गर्नु पर्ने साधारणसभा समेत भएको छैन ।

कम्पनीमार्फत उनले उनले ४ सय जना व्यक्तिहरुलाई ठगी गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार राष्ट्र बैंकको इजाजत समेत नलिइ गजमेरले विभिन्न व्यक्तिसँग निक्षेप र कर्जा लिने काम गरेको भेटिएको छ, जुन राष्ट्र बैंक ऐन, २०५८ विपरीत हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com