मुख्यमन्त्री राख्ने बेड नभएपछि उपचारका लागि घरमै गए चिकित्सक


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

हरेक चुनावमा स्तोन्नती गरिने भन्दै चर्चा पाउने प्रदेश नम्बर ७ को चर्चित मध्ये एक सेती अञ्चल अस्पतालमा क्याविन (सुविधा सम्पन्न बेड) नहुँदा मुख्यमन्त्रीको उपचार घरमै गरिएको छ। प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट अचानक बिरामी भएपछि उनको उपचार घरमै सुरु भएको हो।

बुधबार बिहान ८ बजे उपचारका लागि सेती अञ्चल अस्पताल पुगेका मुख्यमन्त्री भट्टलाई डाक्टर किरण खनालले उपचार गरिरहेका छन्। मुख्यमन्त्रीलाई ९९ डिग्रीको ज्वरो आएको छ भने उनको रगतमा सामान्य समस्या देखिएको डाक्टर खनालको भनाइ छ।

मुख्यमन्त्री भट्टलाई डाक्टर खनालले तीनदिनको औषधि दिएका छन्। केही बेर मुख्यमन्त्री भट्टलाई सेती अञ्चल अस्पतालको आकस्मिक वार्डमा राखिए पनि उनलाई घरमै ल्याएर स्लाइन चढाइएको आकस्मिक कक्षका इञ्चार्ज कृष्ण बोहराले बताए। अस्पतालदेखि झण्डै दुई किलोमिटर टाढा रहेको मुख्यमन्त्रीको निवासमा बोहराले नै स्लाइन पानी चढाएका छन्।

सेती अञ्चल अस्पतालमा क्याविन छैन। आजभन्दा चार दशक अघिको दरबन्दी र शैयाका कारण सेतीअञ्चल अस्पतालमा उपचारका लागि जनशक्तिको अभाव हुने गरेको छ। गएको चुनावमा पनि यस क्षेत्रका उमेदवारहरुको चुनावी एजेन्डामा ७५ शैयाको सेती अञ्चल अस्पताललाई स्तरोन्नती गरी ३ सय शैयाको बनाउने घोषणा गरेका थिए। तर, त्यो काम भने हुन सकेको छैन।

मुख्यमन्त्री भट्टले समेत पद तथा गोपनीयताको शपथ लिए लगत्तै अस्पतालको निरीक्षण गरेका थिए।

प्रदेशको राजधानी तोकिएसँगै धनगढीमा ‘भीआईपीको उपचार गर्ने स्थानको अभाव छ। निजी अस्पतालमा एसीसहितका क्याविनको व्यवस्था भए पनि मुख्यमन्त्री भट्टले सरकारी अस्पतालमा उपचार गराउने इच्छा राखेपछि उनलाई सेती अञ्चाल अस्पताल पुर्याइएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com