एसईई परीक्षाको त्रुटी पत्ता लगाउन छानविन समिति गठन


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीको सत्यतथ्य पत्ता लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार छानविन समिति गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र उपसचिव दिनेश खनाल सदस्य रहेका छन् । प्रदेश नम्बर २ बाट राजधानी काठमाडौं फर्के लगत्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयमा आकस्मिक बैठक डाकेका थिए ।

सचिव र सहसचिव सम्मिलित बैठकले छानविन समिति गठन गरेर अघि बढ्ने निर्णय गरेको हो ।

समितिले ५ दिनभित्र छानविन प्रतिवेदन पेश गर्नेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले छानविन समिति गठन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो । ‘प्राविधिक कमीकमजोरीले परीक्षाको नतिजा प्रकाशनमा त्रुटी भएको बैठकले ठहर गर्‍यो,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘छानविन समिति बनिसकेको छ, सत्यतथ्य पत्ता लगाएर त्यही अनुसार अघि बढ्छौं ।’

शिक्षामन्त्री पोखरेले नतिजा प्रकाशनमा भएको त्रुटी प्रति आफू गम्भीर रहेको जनाए । ‘म संवेदनशील भएरै तुरुन्त छानविन समिति गठन गरेको हुँ,’ कान्तिपुरसँग उनले भने, ‘परीक्षा जस्तो कुरामा यस्तो त्रुटी हुनु राम्रो होइन, कुन प्रकृतिको त्रुटी हो पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढ्छ ।’ उक्त समितिले आगामी दिनमा परीक्षालाई राम्रो बनाउन सुझाव समेत दिने उनले बताए । परीक्षा नियन्त्रण कार्यालय भने सामान्य प्राविधिक कमजोरीका कारण फरक/फरक ग्रेडसिट प्रिन्ट भएको भनेर पन्छिएको छ ।

शनिबार प्रकाशित एसईई परीक्षाको ग्रेडसिट प्रिन्ट गर्दा विद्यार्थीले प्राप्त गरेको जिपिए बढेको थियो । आइतबार साँझबाट मात्र त्रुटी भएको नतिजा सुधार गरिएको कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मीले स्वीकार गरि सकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com