गृहमन्त्री ट्राफिक जाममा !


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

नयाँ बानेश्वरस्थित संघीय संसदभित्र सोमबार रोचक दृश्य देखियो ।

विपक्षी दलका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ खोई भनेर प्रश्न तेर्स्याए । जवाफमा सभामुख कृष्णबहादुर महराले भने- आउँदै हुनुहुन्छ, मन्त्रालयबाट हिँडिसक्नु भएको छ । त्यसपछि एक जना सांसदले भने- सायद ट्राफिक जाममा पर्नुभयो होला ।

काठमाडौंमा आम मानिसहरुको थेगोजस्तै बनिसकेको छ ट्राफिक जाम । कसैले पर्खिइरहेको छ र आउन ढीलो भयो भने एउटै जवाफ हुन्छ- बाटामा ट्राफिक जाममा परियो त्यसैले ढीलो भयो ।

तर, संसदभित्र गृहमन्त्रीसमेत ट्राफिक जाममा परेको र आउन ढीलो भएको भन्नु एउटा मजाकजस्तै विषय हो । यसले काठमाडौंको सडकको बेथितिमात्रै देखाउँदैन, सडकको थेगो संसदभित्र छिरेको पनि अनुभव गर्न सकिन्छ ।

बहालवाला गृहमन्त्रीसँग सिंगो प्रहरी प्रशासनको कमाण्ड हुन्छ । उनी यताउता जाँदा अगुवा पछुवा हुन्छन् । उनीहरुले सुरक्षा प्रदान गर्नुका साथै बाटो अवरुद्ध भए पनि त्यसलाई पन्छाउँदै अघि बढ्छन् । गृहमन्त्री आएपछि जाम भएको बाटो पनि हतार हतार खुलाइन्छ ।

तर, तिनै गृहमन्त्री ट्राफिक जाममा परेको भनियो भने हाँसोको पात्र बनिन्छ । यस्तै भयो सोमबारको संसद बैठकमा ।

सोमबारको प्रतिनिधिसभा बैठकमा गृहलगायत मन्त्रालयका लागि विनियोजित बजेटमा छलफल चलिरहेको थियो । तर गृहमन्त्री नै उपस्थित नभएको बैठकमा गृहमन्त्रालय माथि छलफलको औचित्य नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठायो । प्रश्नमात्रै उठाएन कांग्रेसका सबै सांसद आ-आफ्नो ठाउँबाट उठेपछि बैठक नै अवरुद्ध भयो ।

सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको भन्दै आसनग्रहण गर्न अनुरोध गरे तर, कांग्रेसका सांसदहरुले मानेनन् । सो क्रममा केहीबेर सभामुख र प्रतिपक्षी दलका सांसदबीच दोहोरो बहस भएको थियो । सभामुख महराले गृहमन्त्री मन्त्रालयबाट हिँडिसकेको बताए । तर कांग्रेस सांसदहरूले ठट्टाको पारामा भने ‘सायद ट्राफिक जाममा पर्नुभयो होला ।’ त्यसपछि संसद हल हाँसोले गुन्जियो ।

सिंहदरवार र नयाँबानेश्वरस्थित संघीय संसद भवन धेरै टाढा छैन । तर, सभामुखले मन्त्रालयबाट हिँडिसकेको बताए पनि गृहमन्त्री नअाएपछि प्रतिपक्षी दलका सांसदहरुले मन्त्रीविनाको मन्त्रालयगत बजेटमाथिको छलफलको औचित्य नहुने बताए । त्यसपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरे । विभागीय मन्त्रीको अनुपस्थितिमा छलफल अवरुद्ध भएको यो दोश्रो पटक हो । यसअघि पनि मन्त्रीको उनुपस्थितिमा बैठकको छलफल प्रभावित भएको थियो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफलको कार्यसूची छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com