राजविराज विमानस्थलमा नियमित उडान सुरु, साताको ५ दिन उडान हुने


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

राजविराज विमानस्थलवाट नियमित उडान सुरु भएको छ। श्री एयरलाइन्सको ५० सिटको जेट इन्जिनयुक्त सिआर २०० को जहाजले आइतबारबाट नियमित उडान सुरु गरेको हो।

चालक दलका ४ सदस्यसहित ५० जना यात्रु लिएर ३ बजेर २० मिनेटमा श्री एयरलाइन्स राजविराज विमानस्थलमा अवतरण गरेको थियो। यस्तै, राजविराजबाट २० यात्रु सवार विमान ३ बजेर ५ मिनेटमा काठमाडौंका लागि उडेको थियो।

विमानका पाइलट क्याप्टेन राजेश श्रेष्ठले जहाजका लागि विमानस्थल सहज भएको बताए। उनले विमानस्थलको धावनमार्गको लम्बाइ थप २/३ सय मिटर बढाउन सके अझै सहज हुने सुझाव पनि दिए।

पहिलो उडानबाट राजविराज आएका चालक दलका सदस्य र यात्रुलाई सप्तरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, विमानस्थलका लागि जग्गादाता परिवारका महामाया सिंह लगायतले फूलमाला र दोसल्लासहित स्वागत गरेका थिए।

नियमित उडान हेर्न विमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो। विमान सेवा सञ्चालनमा आएपछि सप्तरीसहित सिरहा, सुनसरी उदयपुर तथा सीमावर्ती भारतसम्मका यात्रु लाभान्वित हुने भएका छन्।

राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख ज्योतिप्रकाश साहका अनुसार, नियमित उडानका लागि श्री एयरलाइन्ससँग सम्झौता भएको र सो कम्पनीले शनिबार र मंगलबार बाहेक साताको ५ दिन उडान गर्ने बताए।

राजविराज–काठमाडौं र काठमाडौं–राजविराज रुटमा सञ्चालन हुने सेवाका लागि न्यूनतम ३ हजार ५ सय र अधिकतम ६ हजार २ सय तोकिएको छ। काठमाण्डौवाट राजविराजका लागि १ः१५ र राजविराजबाट काठमाडौंका लागि २ः१० बजेको उडान समय निर्धारण गरिएको छ।

२०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थल कच्ची धावन मार्गका कारण पटकपटक सञ्चालन तथा बन्द हुँदै आएको थियो। एक महिनाअघि विमानस्थलमा १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडाइ पक्की धावनमार्ग निर्माण गरिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com