महिलालाई सवारी चलाउन अनुमति दिने विश्वको अन्तिम देश साउदी


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

लामाे समयदेखिकाे प्रतिबन्ध फुकुवा गर्दै साउदी अरेबिया सरकारले महिलाहरूलाई पनि सवारी साधन चलाउन अनुमति दिएकाे छ। यससँगै महिलाहरूलार्इ सवारी साधन चलाउने अनुमति दिनेमा साउदी विश्वको अन्तिम देश बनेको छ।

शनिबार स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको बताइएकाे छ।

यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरिरहेको देशलाई आधुनिकीकरणतर्फ डोर्‍याउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। पछिल्लो परिवर्तनको घोषणा अघिल्लो सेप्टेम्बर महिनामै गरिएको थियो।

साउदी अरेबियाले यसै महिनाको शुरूमा पहिलोपटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरेको थियो। यसअघि विश्वमा महिलाहरूलाई सवारी साधन चलाउन नदिने साउदी अरेबिया एक मात्रै देश थियो।

परिवारहरूले महिला नातेदारका लागि निजी गाडी भाडामा लिने अभ्यास त्यहाँ रहेको थियो। तर अब झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ। यसलार्इ एक एेतिहासिक स्वतन्त्रताका रूपमा हेरिएकाे छ ।

याे स्वतन्त्रताका लागि त्यहाँका महिला लामाे समयदेखि लड्दै अाएका थिए । अधिकारको पक्षमा वकालत गर्ने धेरै महिला अधिकारकर्मीहरूलाई अघिल्लो महिना थुनामा राखिएकाले सवारी साधन चलाउन पाउने अधिकारको कार्यान्वयन शुरूमै छायामा परे जस्तो देखिन्छ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेश्नलका अनुसार कम्तीमा आठजना महिलाहरू थुनामा छन् र उनीहरूलाई प्रतिआतंकवादसम्बन्धी अदालतमा अभियोग दायर गरिन सक्छ।

सवारी चलाएकोमा सन् १९९० मा रियादबाट दर्जनौँ महिलाहरूलाई पक्राउ गरिएको थियो। केही महिलाहरूले आफूले सवारी चलाएका भिडिओहरू सन् २००८ र सन् २०११ देखि सन् २०१४ को बीचमा पोष्ट गरेका थिए।

एमनेस्टीले हाल पनि पुरूष अभिभावकत्वको प्रथा कायम रहेको साउदी अरेबीयामा अरू बृहत् सुधारका कदमहरू चाल्न पनि भनेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com