दलित महिला वडा सदस्यः अन्यौलको एक वर्ष


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

ऋषि राई–

उदयपुरको कटारी नगरपालिका १४, नम्बर वडाकी वडा सदस्य हुन्, ओममाया विश्वकर्मा (६०) । वडा कार्यालयबाट दुईघण्टा उकालो पैदल हिँडेपछि उनको टोल रमाईलो डाँडामा पुगिन्छ । तर हिजोआज रमाइलो टोल पुग्दा उनका मन भने नरमाईलो हुन्छ ।

टोलमा रहेका ११ घर दलित परिवारले विश्वकर्माबाट सडक र खानेपानीको ठूलो अपेक्षा लिएका थिए । तर उनले छिमेकीहरूको ईच्छा एक वर्षसम्ममा पनि पुरा गर्न सकिनन् ।

ओममाया विश्वकर्मा

वडाका सबै टोलमा सडकको सामान्य ट्रयाक खुल्यो तर उनको टोलमा खुलेन । ठूलो समस्या खानेपानीको छ । तर पनि समाधानको उपाए अझै निस्केको छैन ।

वडा भेलामा कुरा राख्दा अरु पदाधिकारीहरूले विभिन्न बहानामा टार्ने गरेको उनले बताईन् । ‘अहिले ढुक्क भएर बस्नु । अहिले ठोसठोस रोडमा जान्छ । अनि मात्र छुटफुटमा जान्छ भन्नुहुन्छ’ उनले भनिन् ।

वडाले यसअघि दलित उत्थानको लागि छुट्याउँदै आएको बजेट यस पटक भने छुट्याएन । विश्कर्माले वडामा बुभ्दा निवेदन दिने समय नाघिसकेको रहेछ । ‘आफूलाई लेखपढ आउँदैन्, जान्नेले भनेनन्’ उनले भनिन्– ‘छिमेकीहरूले पाउँदै गरेको दलितको बजेट समेत नल्याएको भन्दै कामै नलाग्ने नेता भन्न थालेका छन् ।’

केही काम गर्न नसकेपछि अहिले टोलमा सबैको मन अँध्यारो छ । उनले थपिन्, ‘सबैको मन अँध्यारो छ, आफूले मात्रै उज्यालो पार्ने कुरा भएन ।’
वडाले आगामी आर्थिक वर्षका लागि कार्यक्रम बनाउँदा टोल–टोलमा भेला गरी वडा परिषदबाट कार्यक्रम पारित गर्ने गरेको छ । टोल र वडामा हुने भेलामा समेत दलित महिला सदस्यहरूको सहभागिता शून्य जस्तै रहने गरेको छ ।

वडा भेलामा महिला सदस्यहरूको सहभागिता रहे पनि धारणा राख्ने अवसर नपाउने विश्वकर्मा बताउँछिन् । उनले थपिन्, ‘टोलमा हुने भेलामा टोलका अगुवाहरू र वडाध्यक्षहरूको सहमतिमा योजना बनाइन्छन् ।’ उनका अनुसार टोलमा रहेका राजनीतिक दलका सक्रिय कार्यकर्ता र वडाध्यक्षले कार्यक्रम बनाउने गरेका छन् ।

दुखनी सदा

कटारी नगरपालिकाकै वडा नम्बर ३ का वडा सदस्य दुखनी सदा (४६)लाई पनि टोलमा केहि गर्न नसकेकोमा चिन्ता छ । टोलमा रहेका आधादर्जन दलित समुदायलाई एकीकृत दलित बस्ती निर्माणको काम थाल्ने रहर थियो, जुन अपुरै रह्यो ।  ‘वडाध्यक्षलाई माग त गरेको थिएँ, अहिले कुरै हरायो’ सदाले भनिन् ‘के के भयो केही थाहा छैन । सही गरिदिने गरेको छु ।’

कटारीकै वडा नम्बर २ का वडा सदस्य सुनामाया परियार(६२)लाई पनि वडाभेलाबाट घर फर्किन्दा चिन्ता नै हुन्छ । वडामा के के काम गर्ने निर्णय भयो थाहा नहुँदा घरमा के भन्ने होला चिन्ता थपिन्छ ।

‘बाँध र जाली लाईदिने रे भनेर ढाँट्छु’ उनले भनिन्, ‘दिनभरी पछिपछि हिन्यो । कापी हल्यायो । कापीमा केही लेख्या होईन् ।’ कसैले भेट्दा नमस्ते गर्दा नि उनलाई चिन्ता छ । ‘नमस्ते नेताज्यू भन्छन् । मरिजाउँ जस्तो हुन्छ ।’

सरकारले कानुनै बनाएर वडामा अनिवार्य दलित महिला सदस्य निर्वाचित गरेपछि विश्वकर्मा, सदा र परियार जस्ता दलित समुदायका महिलाहरू स्थानीय निकायमा पुगेका त छन् ।

तर, निरक्षर दलित महिला सदस्यहरूले निर्णायक भूमिका भने निर्वाह गर्न सकेका छैनन् । आप्नो काम कर्तव्य र अधिकार के हो भन्ने समेत थाहा नहुँदा दलित महिला वडा सदस्यहरू गणपुरक संख्या पुर्याउन मात्रै वडाको गतिविधिमा सहभागी हुने गरेका छन् ।

कार्यवाहक जिम्मेवारीमा पुरुष सदस्य

विरिसलाल दनुवार कटारी –३ का वडा सदस्य हुन् । उनलाई महिला सदस्य जस्तो घरको काम समेत सकेर जनताको काममा हिँड्ने समस्या छैन । टोलदेखि नगर सम्मका सबै भेलामा उनको सक्रिय सहभागिता छ ।

टोलका विभिन्न योजनाहरूको अनुगमनमा पुग्ने उनले अहिलेसम्म महिनामा वडाले ३ पटकको गरी ३ हजारका दरले राजश्व कट्टा गरेर भत्ता दिने गरेको बताए ।

‘काम र भत्ताको व्यवस्था बारे थप छलफल गर्नुपर्ने बेला भएको छ’ उनले भने । दनुवारले वडाध्यक्ष राम पोखरेल अनुपस्थित भएका समयमा कार्यबाहक वडाध्यक्ष समेत भएर जिम्मेवारी सम्हाल्ने गरेका छन् ।

कार्यवाहक वडाध्यक्ष रहँदा नागरिकता सिफारिस लगायतका वडाध्यक्षका जिम्मेवारीमा हुने काम समेत गर्ने भएकाले उनको जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको छ ।

दनुवार जस्तै ईन्द्र थापा मगर पनि कटारी –८, का वडा सदस्य हुन् । वडाध्यक्ष कमल श्रेष्ठको अनुपस्थितिमा कार्यवाहक वडाध्यक्ष समेत सम्हाल्ने गरेका मगरले पनि मासिक ३ वटै वैठकको भत्ता लिने गरेको बताए ।

पुरुषहरूलाई महिलालाई जस्तो टोल टोल र जनताको काममा हिँड्न अप्ठ्यारो नभएको उनले बताए । महिलाहरूलाई सदस्य निर्वाचित भएपछि पनि घरको काम समेत सम्हाल्नु पर्ने भएकाले सामाजिक काममा पुरुष जतिकै सहभागिता जनाउन समस्या रहेको छ । कटारी नगरपालिकाका १४ वटै वडाध्यक्षहरूले कार्यवाहक जिम्मेवारी पुरुष सदस्यहरूलाई नै दिने गरेका छन् ।

दलित महिलाका माग सम्बोधनमा बेवास्ता

स्थानीय तहको निर्वाचनका बेला भोट माग्दा उम्मेदवारहरूले दलित महिला उत्थानका विभिन्न कार्यक्रम ल्याउने आश्वासन दिएका थिए । तर, निर्वाचित भएपछि भने दलित महिललाई बेवास्ता गरिएको छ ।

स्थानीय तहको निर्वाचन भएको पहिलो वर्ष पुरा गर्दा कटारीमा दलित महिलाहरू सम्बन्धी कुनै पनि आयोजनाहरू सम्पन्न नभएको कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउत बताउँछिन् । उनले थपिन्, ‘आगामी वर्ष उनीहरूले जनतालाई दिएको आश्वासनका विषयमा पनि कुरा उठाउँछौं ।’

जिम्मेवारीबारे बेखबर

राष्ट्रिय दलित आयोगका सूचना अधिकारी रामबहादुर विश्वकर्माका अनुसार देशभरका ७ सय ४४ स्थानीय तहका ६ हजार ६ सय ८० वडामै दलित महिला सदस्य निर्वाचित छन् ।

आयोगले समेत दलित महिला वडासदस्यहरूलाई सामान्य अभिमुखिकरण समेत गर्न सकेको छैन । ‘बजेट अभाव र आयोगमा धेरै पद रिक्त भएका कारण केही गर्न सकेका छैनौं’ विश्वकर्माले भने, ‘योजना त छ तर कार्यक्रम गर्ने बजेट अभाव छ ।’

७ वटै प्रदेशमा निर्वाचित दलित महिला वडा सदस्यहरूलाई अभिमुखिकरण गर्ने योजना भने बनाईरहेको आयोगका सूचना अधिकारी विश्वकर्माले बताए ।

वडामा भएकै कामबारे बेखबर हुँदा दलित महिला वडा सदस्यहरूले प्राप्त पदलाई पीडाका रुपमा लिन थालेका छन् । निर्वाचनका बेला अवसर ठानेर एक्कासी सदस्य भएका निरक्षर महिला सदस्यहरूको एक वर्ष अन्यौलमै बितेको छ ।
निर्वाचनकै ऋणले थिचिए

स्थानीय तहको निर्वाचनका बेला खुबै चर्चामा आएका दलित महिला वडा सदस्यहरू त्यसपछि भने चुनाबकै ऋणले थिचिएका छन् ।

कटारी वडा नम्बर १४ का ओममाया विश्वकर्माले एक वर्षमा वैठक भत्ता बल्ल बल्ल १५ हजार पाएको बताईन् । निर्वाचनका बेला उनले ऋण गरेर ४० हजार बढी खर्च गरेकी थिईन् । ‘२१ हजार त चुनाब जितेपछि पार्टी ख्वाउने बेला नै खर्च भा’को थियो नि’ उनले भनिन्, ‘भोट माग्न टोलीमा हिँड्दा २० हजार जति सकिएको थियो ।’

वडा नम्बर ३ का दुखनी सदाको पनि समस्या उस्तै छ । ‘किस्ताबाट ऋण लिएको थिएँ, अहिले किस्ता तिर्नै धौ धौ छ ।’ उनले गाउँमै लघुबित्तबाट ऋण लिएर चुनाव लडेकी थिईन् । भनिन्, ‘अहिले त पहिला जस्तो बनिबुतो गर्नु जाँदा पनि सदस्यज्यूले नि काम गर्ने हो र भन्छन् ।’

उनका श्रीमान् सुखीलाल खसीबाख्राको व्यापार गर्छन् । तर, उनको चुनाव लड्न लिएको ऋण तिर्न श्रीमान् सुखिलालको खसिबाख्रा व्यापारले धौ–धौ छ ।

कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउत महिला सदस्यहरूलाई सेवा सुविधा नभएकाले पनि समस्या भएको बताउँछिन् । ‘सदस्य भएपछि बनिबुतो जान पनि अप्ठ्यारो अन्य आयआर्जका काम पनि नगरले दिन सकेको छैन्’ राउत भन्छिन्, ‘उनीहरूले सदस्य बनेपछी थपिएका समस्याहरू खुलेर कुरा राख्न पनि सकिरहेका छैनन् ।’

भीमकुमारी राउत

महिलाहरूलाई आयआर्जन लगायत वडाका विभिन्न गतिविधिहरूमा सक्रिय बनाउन भत्ताको व्यवस्था गराउने कार्यक्रममा जोड दिने पनि उनको भनाइ थियो ।

स्थानीय तहमा महिला सदस्यहरूलाई समेत विभिन्न विषयगत समितिहरूको संयोजक बनाउने र जिम्मेवारी दिएर भत्ताको व्यवस्था गर्नसके जनताका कामका साथै उनीहरूलाई घरपरिवार चलाउन केही सहयोग पुग्ने राहतको भनाइ छ ।

दलित महिला सदस्यहरूका परिवारका सदस्यलाई रोजगारमुलक तालिम दिएर आत्मनिर्भर बनाउन माग गरेका छन् । ‘हामीलाई तालिम दिनुपर्यो । काम सिकाउनु पर्यो । केही गरेर खाने बाटो दिनु पर्यो’ दुखनी सदाले भनिन्, ‘बनिबुतो गर्न जान पनि अप्ठ्यारो भईसक्यो ।’

त्यसैगरी आत्मनिर्भर हुनका लागि नगरले विभिन्न उत्पादनमुखी कार्यक्रम निर्माण गरी दलित समुदायको सहभागिता गराउनुपर्ने दलित महिला सदस्यहरू बताउँछन् ।

निर्वाचन जितेका दलित महिला वडा सदस्यहरू पहिलो वर्ष क्रियाशील बनाउन नसकेको बताउँछन् कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ ।

‘चुनाव जिते, नेता त भए तर क्रियाशील बनाउन सकिएन’ श्रेष्ठले भने, ‘आगामी वर्ष दलित महिला सदस्यहरूकै नेतृत्वमा सबै वडामा दलित समुदायका लागि कार्यक्रम बनाउन दिने सोच बनाएको छु ।’  त्यसका लागि सामाजिक विकास शाखा मार्पmत बजेट छुट्याएर दलित महिला सदस्यहरूको नेतृत्वका कार्यक्रम सञ्चालन गर्न दिने पनि श्रेष्ठले बताए ।

परिवारको साथ

वडामा महिला सदस्य भएपछि परिवारले भने उनीहरूलाई साथ दिईरहेका छन् । परिवारका सदस्यहरूको साथ र हौसलाले भने दलित महिला वडा सदस्यहरू सकेसम्म क्रियाशील भईरहेका छन् ।

कटारी वडा नम्बर ३ का सदस्य दुखनीको श्रीमान ४८ वर्षीय सुखीलाल मुसहर हुन् । एमालेबाट दुखनी सबैभन्दा बढी ८ सय मत ल्याएर वडा सदस्यमा निर्वाचित भईन् । दुखनी नगरपालिकाको हलमा सम्पन्न मतगणना स्थलमा थिईन् ।

श्रीमान सुखीलालकाे साथमा दुखनी

श्रीमान् सुखीलाल मुसहर घरको काममा थिए । जब श्रीमती दुखनी निर्वाचित भएको सुखीलालले सुने उनको आँखामा बल्ल खुसीको आँशु आयो । उनी दौडिएर नगरपालिका पुगे । दुखनी अबिरले रातै थिईन् ।

नामको संयोग पनि कस्तो । श्रीमानको नाम सुखिलाल, त्यसकै विपरित श्रीमतीको नाम दुखनी । दुखनीलाई चुनाव जिताउन सुखीलालले धेरै साथ दिए ।
‘चुनाव लड्न ४६ हजार ऋण गरेको थियौं तिर्न सकेका छैनौं’ सुखिलालले भने । चुनाव जिताउन किस्तामा र आफन्तसँग गरी उक्त ऋणको भारी टाउकोमा छ । तर, सुखिलाल र दुखनीको ओठमा हाँसो भने जीवित छ ।

अहिले दुखनीको दिनचर्या फेरिएको छ । घरमा खाना बनाउने जिम्मा सुखिलालमा सरेको छ । ठट्टा गर्दै सुखिलालले ‘अब खाना बनाउने मान्छे अर्कै ल्याउनु पर्यो’ भन्दा झस्किए पनि दुखनी सुखीलालले त्यसो नगर्नेमा विश्वस्त छिन् ।

१४, नम्बर वडाका वडा सदस्य ओममाया विश्वकर्मालाई पनि परिवारले राम्रो हौसला दिएका छन् । ‘छोराहरू विदेशमा छन्, आमाले जे होस् राम्रै काम गर्नुभयो भन्छन् ।’

तालिम गोष्ठीमा हिँड्दा ‘टाढा भए उतै बसे हुन्छ’ भन्ने श्रीमानको मायाले पनि उनलाई केही गरौं भन्ने हौसला बढ्छ । परिवारले खुलेरै साथ दिएपछि उनलाई सजिलो छ ।

कटारी ११ का वडा सदस्य अप्सरा विश्वकर्मालाई पनि परिवारको साथ राम्रो छ । ‘श्रीमानले कतै जान रोकतोक गर्नुहुन्न, अरुले पनि राम्रै काम हो भन्छन् । छरछिमेकीले पनि सिधै कुरा काट्न सक्दैनन् ।’ विश्वकर्मालाई अरु जे भए पनि परिवारले सदस्य भएपछि दिएको मायामा भने कमी छैन ।

Mahila Khabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com