हिंसामा कलाकार महिला


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

इन्द्रसरा खड्का–

ललितपुर । रामेछापकी सन्ध्या सानुको पेशा कलाकारिता हो । उनी आफ्नो पेशामा सन्तुष्ट छिन् । अभिनयमा पोख्त पनि छिन् । धेरै गीतमा अभिनय गरिसकेकी सन्ध्याले महिला भएकै कारण भने अभिनयका क्रममा थुप्रै हिंसा भोगेकी छन् ।

‘म अभिनयमा प्रफेक्ट छु । नजानेको कुरा सिक्न तयार छु । निर्माता निर्देशकले भने हाम्रो कलालाई माया गर्दैनन् । अनेक नियतले कुरा गर्छन् । चिया, कफी खान सँगै जाउँ भन्ने । आफूसँग संगत गरे रातारात हिट बनाइदिन्छु सम्मका आश्वासन दिन्छन्’ सन्ध्याले भनिन् ।

‘राम्री छु, पढेलेखेकी छु, नाच्न आउँछ, सबै अभिनय गर्न आउँछ । तर अघि बढ्न सकिँदैन । यो क्षेत्रमा क्षमता भन्दा संगतले मात्रै अघि बढ्न सकिँदो रहेछ भन्ने लागेको छ’ सन्ध्याले भनिन् ।

५ वर्षदेखि फिल्म क्षेत्रमा काम गरिरहेकी नायिका सुरक्षा पन्तको अनुभव पनि यस्तै छ । ‘महिला कलाकारलाई स्क्रिप्टमै विभेद छ’ सुरक्षाले भनिन्, ‘महिलालाई स्क्रिप्टमै भूमिका छुट्याइने हुँदा अहलेसम्म मैले पाएका ५ वटा स्क्रिप्ट फिर्ता गरिसकेकी छु ।’

महिलालाई जहिले पनि कमजोर र समाजले नपचाउने सिनमा बढी प्रयोग गर्ने गरेको गुनासो छ उनको ।

एउटै फिल्ममा सँगै खेल्ने नायक र नायिकालाई पारिश्रमिकमा समेत निकै विभेद गर्ने गरेको उनको भनाइ छ । फिल्मी क्षेत्रमा लाग्ने कतिपय महिला कलाकारले पेशामा टिकिरहनुपर्ने रहर र बाध्यताले पनि आफूमाथि भएका हिंसा लुकाएर बस्ने गरेको सुरक्षा बताउँछिन् ।

हिंसा हुन्छ, उजुरी पर्दैनः लक्ष्मी गिरी

नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष लक्ष्मी गिरी अभिनय गरेर जीवन चलाउने कलाकार महिलाहरु विभेदमुक्त नरहेको बताउँछिन् ।
अन्य क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि विभेद र हिंसाबाट अछुतो रहन नसकेको लक्ष्मीको भनाइ छ ।

लक्ष्मी गिरी

अभिनयमा गुरु मानिने लक्ष्मी महिलाको काममाथि नै शंका गर्ने र कमजोर, रुने, कराउने भूमिकामा बढी देखाउने गरेको बताउँछिन् ।

कलाकार महिलाहरुले हिंसाको सामना गर्ने गरेका भए पनि आफूमाथी हिंसा भयो भन्दै अहिलेसम्म कुनै कलाकारले संघमा उजुरी नदिएको भन्दै लक्ष्मीले आफै आश्चर्य व्यक्त गरिन् ।

‘एउटा पनि उजुरी परेको छैन । तर हिंसा नभएको त हैन नि’ लक्ष्मीले भनिन्, ‘न्यायका लागि बोल्नु पर्छ भन्ने कुरा मनन गर्नु पर्छ । यो हिंसा सहने जमाना होइन ।’

बुझ्दैन समाजः निता ढुंगाना

नायिका निता ढुंगाना ७ वर्षको उमेरमै अभिनय गर्न थालिन् । कलाकारिता के हो भन्ने बुझ्नै नसकिने उमेरमा कलाकारितामा प्रवेश गरेकी निताले देशका अब्बल दर्जाका कलाकारमा आफ्नो नाम दर्ज गरिसकेकी छन् । तर यो क्षेत्रमा लाग्दा उनले हिजो पनि विभेद भोगिन्, आज पनि त्यो श्रृंखला रोकिएको छैन ।

निता ढुंगाना

‘फिल्म सुटिङका लागि विभिन्न ठाउँमा जानुपर्ने हुन्छ । धेरै पटक कपडा फेर्नु पर्ने हुन्छ । कपडा फेर्ने ठाउँ र शौचालय हुँदैन’ निताले भनिन्, ‘खुल्ला ठाउँमा कपडा फेर्दा वरपर दर्शक समेत हुने भएकाले ताली बजाउँछन् । सिठी बजाउँछन् । निकै समस्या हुन्छ यस्तो बेलामा ।’

हिजो भन्दा आज धेरै परिवर्तन भयो भनिन्छ । यदाकदा परिवर्तनको अनुभूति पनि हुन्छ । तर कलाकार जस्तो जतिसुकै बेला, जहाँसुकै डिँड्नु पर्ने मान्छेको बारेमा समाजले नबुझिदिँदा भने दिक्क लाग्ने गरेको निता बताउँछिन् ।

‘छोरीले दिउँसै हिँड्दा मन नपराउने समाजले एउटा कलाकार महिला सुटिङका लागि राती घरबाट हिँड्न सक्छिन् र राती बाहिरबाट घर आउन सक्छिन् भन्ने कुरा बुझ्दैन’ निताले भनिन् ।

बुझेर मात्रै चलचित्रमा आउनुस्ः राजेश हमाल

महानायक राजेश हमाल महिला र पुरुष सँगै भएको ठाउँमा कुनै न कुनै हिंसा हुने गरेको स्वीकार गर्छन् ।

नेपाली चलचित्रमा अहिलेसम्म आफ्ना आँखा अगाडि कुनै पनि नायिकालाई हिंसा भएको आफूले नदेखेको बताउँदै हमालले चलचित्र क्षेत्रमा आफूमाथि दुव्र्यवहार भएको कुरा अहिलेसम्म कुनै नायिकाले आफू समक्ष नभनेको पनि बताए ।

राजेश हमाल

कसैले आफूसँग कसरी कुरा गर्छ र कस्तो व्यवहार गर्छ यो कुरामा महिला कलाकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

हमाल भन्छन्, ‘यदि पद र पैसाको प्रलोभन वा दम्भ देखाएर कसैले आफूमाथि हिंसा वा विभेद गर्छ भने कसैले पनि सहनु हुन्न । प्रतिकार नगर्ने मान्छे सधैं हिंसामा परिरहन्छ ।’

हिंसा हुन्छ, बाहिर आउदैनन्ः डा. अर्चना थापा

सांस्कृतिक समालोचक डा. अर्चना थापा कलाकारिता क्षेत्रमा लागेका महिला माथि हिंसा भए पनि उनीहरुले खुलेर भन्न नसकेको बताउँछिन् ।

कलाकारिताप्रति रुची भएकै कारण यो पेशा अंगाल्ने महिलाहरु हिंसा र विभेदको विरोध गरे टिकिन्न कि ! भन्ने त्रासमा हिंसा सहन बाध्य हुने गरेको उनको बुझाइ छ ।

लामो समयदेखि चलचित्र र कलाकारिता क्षेत्रलाई नजिकबाट नियालिरहेकी थापा भन्छिन्, ‘महिलाहरुले पारिश्रमिकदेखि लिएर पाईला पाईलामा विभेद र हिंसा खेपेको देखेकी छु । तर प्रतिवाद गर्दैनन् ।’

अर्चना थापा

हिंसा के हो भन्ने कुरा नबुझेकै कारण यो क्षेत्रका महिलाहरु चुपचाप सहेर बस्ने गरेको उनको बुझाइ छ ।

निर्देशक प्रकाश आङदाम्बेले कलाकारिता क्षेत्रमा पनि पितृसतात्मक सोच हाबी रहेको बताए । महिलालाई हेर्ने दृष्टिकोण नै फरक रहेकाले यो क्षेत्र पनि हिंसा र विभेदबाट अछुतो नरहेको उनले बताए । ‘पुरुष जहिले बहादुरको भूमिकामा र महिला जहिले पनि कमजोर भूमिकामा प्रस्तुत गरिन्छन्, यो विभेद त हो नि’ प्रकाशले भने ।

नेपाली चलचित्रहरुमा महिलालाई सान्त्वना स्वरुप मात्रै कहिलेकाहिँ शक्तिशाली भूमिकामा प्रस्तुत गर्ने गरिएको कुरा आफूलाई पनि महसुस भएको उनले बताए ।

लिखित उजुरी आउदैनः निकिता पौडेल

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल महिला कलाकार पारिश्रमिकमा ठगिएका छन् भन्ने मौखिक रुपमा सुनेको भए पनि उजुरी नआउन्जेल ठगिए नै भन्न नसकिने बताउँछिन् ।

निकिता पाैडेल

चलचित्र विकास बोर्डले २०६७ सालमा चलचित्रकर्मी महिला सशक्तिकरण समिति बनाएको छ । सो समितिले चलचित्रकर्मी महिला सशक्तिकरण कार्यविधि २०६७ निर्माण गरिसकेको भन्दै यदि कुनै चलचित्रकर्मी महिलामाथि हिंसा वा विभेद भयो भने लिखित उजुरी आउनु पर्ने पौडेल बताउछिन् ।

चलचित्रकर्मी महिलाको हकहित स्थापित गर्न र यावत समस्याको समाधान गर्ने वातावरण तयार गर्न ८ सदस्यीय समिति बनाइएको पनि उनले बताइन् ।

समितिले महिला कलाकारमाथि हुने अत्याचार, विभेद, अन्याय विरुद्ध जनचेतना फैलाउने, महिला कलाकारको न्यूनतम पारिश्रमिक निर्धारणको लागि पहल गर्ने काम गरिरहेको निकिताले बताइन् ।

चलचित्रकर्मी महिलाले यस्ता खालका समस्या भोगेको खण्डमा चलचित्र विकास बोर्डमा उजुरी गर्न पनि उनले सुझाइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com