चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुँदै


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार(आज) चिनियाँ राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ ।

भेटवार्तामा नेपाल–भारत दुई पक्षीय हितका विषयमा छलफल हुनेछ । बेइजिङस्थित नेपाली दूतावासले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटकको भ्रमण अघिल्लो प्रधानमन्त्रीकालमा चीनसँग भएका सहमति/सम्झौताहरूको कार्यान्वयन अघि बढाउनेतर्फ केन्द्रित हुने बताउनु भएको थियो ।

६ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनको राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुई र चीनस्थित नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित क्यापिटल अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

आफ्ना चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले दूतावासको कार्यक्रममा नेपाल र चीनको सबन्धबारे चर्चा गर्दै आफूहरू एक चीन नीतिमा स्पष्ट रहेको प्रस्ट पार्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सडक, रेललगायत कनेक्टिभिटीका विषयका अलावा पर्यटनको विकास, त्यसमा दुई देशले लिन सक्ने लाभ, कृषि, उद्योग, प्रविधि आदि विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताउनु भएको छ । उहाँले चिनियाँ व्यापारी, उद्योगीहरूलाई नेपालमा लगानी गर्न आमन्त्रण समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको र नेपाल चीनको बृहत् योजनाअन्तर्गतको बीआरआई परियोजनामा आबद्ध भइसकेको हालको परिस्थितिमा हिमाल वारिपारिको सञ्जाल बलियो बनाउने प्रयास गरिने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com