बेइजिङमा ओलीले भनेः हिमालयपार रेलमार्गको तीब्र विकास


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

छ दिने चीन भ्रमणको क्रममा मंगलबार साँझ बेइजिङ आइपुगेका प्रधानमन्त्री केपी ओलीले नेपाल र चीनबीच हिमालयपार रेलमार्ग सहित यातायात सञ्जालको तीब्र विकास गरिने बताएका छन्।

‘कनेक्टिभिटि नै आर्थिक विकासको मेरुदण्ड हो, पूर्वाधारको विकास त्यसमा पनि हिमालयपार रेलमार्ग र सडक निकै महत्पूर्ण छ’, ओलीले बेइजिङस्थित नेपाली दूताबासले आयोजना गरेको स्वागत समारोहलाई अंग्रेजीमा सम्बोधन गर्दै भने।

ओलीले नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि रेल र सडक मार्ग निकै महत्पूर्ण रहेको दोहोर्याए। ‘यस्तो यातायात र सिमापार ट्रान्समिसन लाइनले हाम्रो व्यापारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्नेछ’, ओलीले भने, ‘त्यसले हामीलाई विश्वको दोस्रो ठूलो अर्थतन् चीनसँग जोड्ने छ।’

नेपाल र चीनको साझेदारी रहेको हिमालय एयरलाइन्सको विमानबाट मंगलबार साँझ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको प्रधानमन्त्री ओलीको एक सय १९ सदस्यीय टोलीलाई लगत्तै दूताबासले स्वागत समारोहमा सहभागी गराएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनका नेपाल तथा दक्षिण एसिया मामिला विज्ञ, व्यवसायी, बेएजिङस्थित नेपाली सहभागी कार्यक्रममा ओलीले अंग्रेजीमा गरेको सम्बोधन चिनियाँ भाषामा उल्था गरिएको थियो।

ओलीले नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ)मा आबद्ध भइसकेको र अब हिमालयपार कनेक्टिभिटीलाई बलियो बनाउने बताए। उनले यसअघि चीनसँग गरिएका सन्धि सम्झौताको कार्यान्वयन गर्ने र थप नयाँ सम्झौता पनि हुने बताए।

ओलीले सो समारोहमा ‘लुक वी’ पत्रिकाको विमोचन गर्नुका साथै बेइजिङस्थित नेपाली दूताबासको विच्याट पनि शुभारम्भ गरे।

बेइजिङमा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने र समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्ने कार्यक्रम छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com