झलनाथ र प्रचण्डको विदेश भ्रमण माधब नेपाललाई फलिफाप


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ प्रस्थान गरेलगत्तै नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले पार्टीका तीन नेताको तस्वीर राख्दै फेसबुकमा लेखेः तीन कार्यबाहकः संसदीय दल, पार्टी र सरकार।

रिजालले भनेजस्तै, ६ दिने चीन भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेइजिङ प्रस्थान गरेपछि नेकपाका तीन नेताहरुले तीन महत्वपूर्ण निकायको कार्यबाहक बन्ने अवसर पाए।

ओलीको यो भ्रमण नेकपा केन्द्रीय सचिवालय सदस्य माधब नेपालका लागि भाग्यशाली चिठ्ठा जस्तै भएको छ। किनभने, उनले पार्टीको कार्यबाहक प्रमुखको जिम्मेवारी पाए।

सहअध्यक्षीय प्रणालीमा रहेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नेपालमा नरहेपछि नेपालले यो जिम्मेवारी पाएका हुन्।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आइतबार (३ असार) सिङ्गापुर गएका छन्। उनी सम्भवत ८ असारमा फर्कनेछन्।

त्यसैले, त्यस अवधिभरसम्मका लागि नेपालले नै पार्टीको कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। तर, प्रचण्डको सिङ्गापुर बसाईं लम्बिने सम्भावनापनि उत्तिकै छ।

यदि प्रचण्डको सिङ्गापुर बसाईं लम्बियो भने नेपाल नेपाल ओली नफर्कुन्जेलसम्मका लागि नेकपाको कार्यबाहक प्रमुख बन्ने अबसर पाउनेछन्।

प्रचण्डको सिङ्गापुर यात्राका कारण पार्टीको कार्यबाहक प्रमुख बन्ने जुन अबसर नेपालले प्राप्त गरेका छन्, खासमा यो अबसर अर्का बरिष्ठ नेता झलनाथ खनालको चीन यात्राका कारण नेपाललाई प्राप्त भएको हो।

३ जेठमा एमाले–माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा खनाल चीन भ्रमणमा थिए। चीन भ्रमणमा भएका बेला पार्टी भइदिँदा पार्टीभित्र उनको बरियता गुम्यो।

त्यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पछिको बरियतामा बरिष्ठ नेता खनाल थिए। निवर्तमान अध्यक्षको हैसियतमा बरियतामा उनी अगाडि थिए।

नेपालको बरियता खनालपछि मात्र थियो। तर, पार्टी एकताका नेपालको सक्रियताका कारण खनालको अनुपस्थितिमा नेपाललाई नेकपाको बरियतामा अगाडि पारियो।

त्यसैले, नेकपाको बरियतामा ओलीपछि अर्का अध्यक्ष प्रचण्ड रहे भने प्रचण्डपछि नेपाल। खनाललाई नेपालपछिको बरियतामा राखियो।

बरियता निर्धारणप्रति खनाल सन्तुष्ट छैनन्। आफू चीन भ्रमणमा रहेको मौका छोपेर आफूमाथि अन्याय गरिएको बताउँदै उनले नेताहरुप्रति असन्तुष्टि पोखिरहेका छन्।

उतिबेलाको चीन भ्रमणका कारण खनालले बरियतामात्र गुमाएनन्, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पार्टीको कार्यबाहक प्रमुख बन्ने अवसरपनि गुमाएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com