डाक्टर उपेन्द्र देवकोटाको अन्त्येष्टि अाज


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

६५ बर्षको उमेरमा सोमबार काठमाडौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा निधन भएका देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।

उहाँको पार्थिव शरीर मंगलबार १ बजेसम्म श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राखिने र त्यसपछि महाराजगञ्ज-चावहिल-गौशाला हुँदै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी गरिएको हो ।

उहाँको काजकिरीया ७ दिनमै सक्ने तयारी गरिएको पारिवारिक श्रोतले जनाएको छ । पित्तथैलीको क्यान्सर भएका डाक्टर देवकोटाले बेलायतको किंग्स अस्पतालमा उपचार गराएपनि रोग निको नहुने भएपछि न्युरो अस्पतालकै आईसीयूमा उपचार गराइरहनुभएको थियो ।

पछिल्लो समय उहाँका दुवै मृगौलाले पनि काम गर्न छोडेका थिए । प्राण त्याग्नुअघि उहाँले आफु जन्मेहुर्केको गाउँ जाने इच्छा व्यक्त गरेपछि हेलिकोप्टरमा राखेर गोरखाको बोहोरागाउँ पुर्याइएको थियो ।

डाक्टर देवकोटाका श्रीमती र तीनजना छोरीहरु हुनुहुन्छ ।

अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी सुरु गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्कनुभएको थियो । वीर अस्पतालमा मष्तिस्कको शल्यक्रिया उहाँले नै सुरु गर्नुभएको थियो ।

पछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्नुभयो । डाक्टर देवकोटा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री पनि बन्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com