मेक्सिको र जर्मनीको खेल कस्तो ? मेक्सिकोले ३३ वर्षदेखि जर्मनीलाई जितेको छैन


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

विश्व विजेता जर्मनीले आइतबार मेक्सिकोविरुद्ध खेल्दै उपाधि रक्षाको यात्रा थाल्दैछ । नेपाली समय अनुसार राति पौने ९ बजे हुने खेल समूह ‘एफ’ को पहिलो खेल हो ।

जर्मनीका मेसट ओजिल घुँडाको सामान्य चोटबाट मुक्त भएर मैदान फर्किएका छन् । चोटका कारण उनी अन्तिम अभ्यास खेलमा साउदी अरेबियाविरुद्ध मैदानमा थिएनन् ।

जर्मनी टिमबारे कुरा गर्दा कोही एक खेलाडीको बारेमा कुरा गर्न कठीन हुन्छ । यसपटक रसियामा गोलकिपर म्यानुअल नेउरमा भने आफूलाई प्रमाणित गर्ने ठूलो चुनौती रहनेछ ।

घाइते रहेका कारण लामो समय मैदानबाहिर रहेका उनलाई प्रशिक्षक योआखिम लोले जोखिम मोलेर नै पहिलो रोजाइँमा मैदान लैजाने निर्णय गरेका छन् । क्लब फुटबलमा गत सिजन उत्कृष्ट रहेका टेर स्टेगेनलाई बेञ्चमा राखेर नेउरलाई खेलाउनु सानो निर्णय होइन ।

मेक्सिकोको डिफेन्स लाइनका राम्रा खेलाडी चोटग्रस्त छन् । डिएगो रायस बुधबारदेखि चोटका कारण बाहिर छन् । यसअघि जर्मनीसँग कमजोर देखिएको मेक्सिकोलाई यसैले आइतबार सहज हुने छैन ।

जर्मनीले रुस विश्वकपसम्म आउँदा युरोपियन क्षेत्रको छनोटमा १० खेलमा १० मै जित निकालेको थियो । यसक्रममा जर्मनीले कीर्तिमानी ४३ गोल गरेको थियो । त्यसपछि विश्वकप तयारीका लागि भएको ६ मैत्रीपूर्ण खेलमा भने जर्मनीले एकमा मात्रै जित निकाल्यो । साउदी अरेबियालाई २-१ ले हराएको थियो ।

फर्केर हेर्दा

सन् १९३० मा पहिलो विश्वकप खेलेको मेक्सिकोको यो १६ औँ विश्वकप हो । जसमा सन् १९९४ देखि २०१४ सम्म मेक्सिको लगातार अन्तिम १६ बाट बाहिरियो । मेक्सिको सन् १९७० र १९८६ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

गएको ब्राजिल विश्वकपमा पनि मेक्सिकोको खेल उत्कृष्ट थियो । त्यो बेला मेक्सिको अन्तिम १६ को खेलमा नेदरल्याण्ड्ससँग २-१ ले पराजित भएको थियो ।

जर्मनीले सन् १९९० यताका सबै विश्वकपमा आफ्नो समूहको शीर्ष स्थानमा रहेर अघिल्लो चरणको यात्रा तय गरेको छ । यस्तै पछिल्ला चार विश्वकपमा जर्मनी कम्तिमा सेमिफाइनलसम्म पुगेको छ ।

जर्मनीले पछिल्लो पटक विश्वकपमा आफ्नो पहिलो खेलमा गोल गर्न नसकेको सन् १९७८ मा हो । त्यो बेला उसले पोल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

जर्मनीले विश्वकपको समूह चरणको पहिलो खेल हारेको ३६ वर्ष भयो । त्यसबेला अल्जेरियासँग पराजित भएको जर्मनीले त्यसपछि विश्वकपको पहिलो खेलमा समग्रमा ३ भन्दा बढी गोल गरेको छ ।

छनौट चरणमा सबै खेल जितेको जर्मनीले त्यसपछि भएका ६ मैत्रीपूर्ण खेल मध्ये एक खेलमा मात्रै जित निकालेको छ । दुईमा पराजित भएको छ । तीन खेल बराबरीमा सकिएका छन् ।

१४ पटक भन्दा बढी विश्वकपमा छानिएका टिम मध्ये मेक्सिको मात्रै एउटा त्यस्तो टिम हो, जसले विश्वकप जितेको छैन । १६ औँ पटक विश्वकप खेल्न लागेको मेक्सिको भन्दा धेरै पटक विश्वकप खेल्ने टिम ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिना मात्रै हुन् ।

मेक्सिकाले सन् १९९४ यता विश्वकपमा आˆनो पहिलो खेलमा हारेको छैन । मेक्सिको सन् १९९४ मा नर्वेसँग १-० ले पराजित भएको थियो । मेक्सिकोले विश्वकपमा समूह चरणका पछिल्ला १७ खेलमा दुई खेल मात्रै हारेको । ८ खेल जितेको छ । सात खेलमा बराबरी भएको छ ।

यसअघि

जर्मनी र मेक्सिकोले अहिलेसम्म ११ पटक खेलेका छन् । यसमा मेक्सिको एकपटक मात्रै विजयी भएको छ । जर्मनी पाँच खेलमा विजयी भएको छ । पाँच खेल बराबरीमा सकिएको छ । मेक्सिकोले जर्मनीलाई हराएको ३३ वर्ष भइसक्यो । उसले सन् १९८५ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनीमाथि २-० को जित निकालेको थियो ।

दुई टोलीबिच विश्वकपमा यसअघि तीनपटक भेट भएको छ । जसमा तीनै खेल जर्मनीले जितेको छ ।

विश्वकपमा जर्मनीले मेक्सिकोमाथि पहिलो पटक सन् १९७८ मा समूह चरणमा ६-० को जित निकाल्यो । त्यसपछि सन् १९९८ को विश्वकपमा अन्तिम १६ मा मेक्सिको जर्मनीसँग २-१ ले पराजित भयो । यस्तै सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा मेक्सिकोले गोलरहित बराबरी खेल्यो । तर पेनाल्टीमा जर्मनी ४-१ को जित निकाल्दै अघिल्लो चरण पुग्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com