सुन समितिकाे म्याद एक महिना थप, ‘ठूला माछा’तर्फ अनुसन्धान


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको विशेष टोलीको म्याद असार मसान्तसम्म थप भएको छ।

मन्त्रिपरिषदको जेठ ३१ को निर्णयले टोलीको म्याद एक महिना थप भएको छ।

२०७४ चैत २० गते गठन भएको टोलीलाई सुरूमा ४५ दिनको कार्यदेश दिइएको थियो। पहिलो चरणको म्याद सकिएपछि दोस्रो पटक जेठ मसान्तसम्म थप गरेको थियो।

‘एक महिना थप अनुसन्धान समय पाएका छौं’, टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले नेपालखबरसँग भने, ‘नयाँ रणनीतिसँगै नयाँ क्षेत्रमा अनुसन्धानको तयारी भइरहेको छ।’ अनुसन्धानका क्रममा केही गम्भीर पक्ष देखिएकाले गृहले तिनलाइ पूरा गर्न एक महिना म्याद थपको प्रस्ताव गरेको थियो।

यसअघि गृहमन्त्रीले रामबहादुर थापाले सुन तस्करीमा माछा मार्ने क्रम जारी रहेकाे उल्लेख गर्दै छिटै ‘ठूला माछा’ समातिने बताएकाे सन्दर्भमा टाेलीकाे म्याद थप भएकाे हाे।

यो बीचमा समितिले साढे ३३ केजी सुन प्रकरणसँग जोडिएका प्रहरी अधिकारीसहित ३३ जना पक्राउ गरी बयान लिएको थियो। पक्राउसहित ६३ विरुद्ध अदालतमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई सिफारिश गरेको थियो। उनीहरुको मुद्दामा मोरङ जिल्ला अदालतमा कानुनी प्रक्रिया चलिरहेकाे छ।

जब अाेली र थापा झस्किए

महानगरीय अपराध महाशाखाले फागुन १९ मा सनम शाक्यको शब बिराटनगरमा बरामद गरेपछि उनको हत्या सुन तस्कर समूहबाट भएको खुलेको थियो। साढे ३३ किलो सुन हराएको विषयमा तस्कर समूहले यातना दिएर उनको हत्या गरेको सार्वजनिक भएसँगै फागुन अन्तिममा मृतक सनम शाक्यसहित पक्राउ परेकाहरुका परिवारले संर्घष समिति गठन गरी सुन काण्डका नाईके गोरे भन्ने चुडामणि उप्रेती रहेको र पक्राउहरू निर्दोष भएको भन्दै प्रदेश र संघिय सरकार समक्ष निष्पक्ष छानवीनका लागि दवाब दिएका थिए।

गृहमन्त्रालयमा समेत सर्घष समितिले ज्ञापनपत्र बुझाएको थियो। गृहको आदेशमा प्रहरी प्रधान कार्यालयले फागुनको पहिलो साता अवकाशको मुखमा रहेका डिआईजी पुष्कलराज रेग्मीको संयोजक्तवमा छानबिन समिति गठन गरी सुन तस्करीको लहरो खोतल्न थालेको थियो। समितिले अनुसन्धानको प्रारम्भमा घटनास्थल पुगेर वस्तुस्थिति, उपलब्ध सबुत प्रमाण र पक्राउ परेका आरोपीको बयानपछि फर्किएर प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई ब्रिफिङ गरेको थियो। तत्कालीन आईजिपी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई ब्रिफिङ दिएका थिए। सो ब्रिफिङपछि सुन तस्करको जगजगी देखेर प्रधानमन्त्री एवं गृहमन्त्री झस्किएका थिए।

पाैडेल नेतृत्वकाे ९ सदस्यीय टाेली

घटनामा संलग्न रहेका पात्र, प्रवृत्ति र अपराध शैलीको अनुसन्धान, पक्राउ तथा धरपकड र अभियोजनका लागि डिआईजी नेतृत्वको छानबिन पर्याप्त नहुने निष्कर्षसहित प्रधानमन्त्री ओली, गृहमन्त्री थापा र अर्थमन्त्री युवराज खतिवडाबीच सुन तस्करीका विषयमा भएका चरणवद्ध छलफलपछि सुरुवातमा सचिवको नेतृत्वमा समिति बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको थियो। पछि तस्करीमा प्रत्यक्ष संलग्नहरुलाई कारवाहीमा ल्याउन सहसचिवकै नेतृत्व काफी हुने देखिएपछि २०७४ चैत २० गतेको मन्त्रिपरिषदले गृह सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। ९ सदस्यीय समितिमा गृहबाट उपसचिव भावेश्वर पाण्डे र कानुन अधिकृत भोजराज दाहाल छन्।

महान्यायाधिवक्ताको कार्यालयबाट उपन्यायाधिबक्ता हरि रेग्मी सदस्य छन्। यसैगरी राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरीको बिशेष ब्युरोमा कार्यरत एसएसपी बसन्त लामा र डिएसपी सुदिपराज पाठक र सई सुमन कार्की, प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक भीष्म हुमागाई पनि सदस्य छन्। समितिले कारवाही र अनुसन्धानका लागि अख्तियारमा अनुसन्धान अधिकारीका रुपमा कार्यरत रहेका प्रहरी निरीक्षक सूर्यप्रकाश सुवेदीलाई समेत खटाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com